कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई भूराजनीतिक संकटले बर्बादीतिर लैजाँदैछ : बाबुराम भट्टराई

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको दाबी गरेका छन् । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाललाई भूराजनीतिक संकटले बर्बादीतिर लैजाँदैछ : बाबुराम भट्टराई

अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए ।

भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको उनले बताए । अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको पनि बताए ।

अध्यक्ष भट्टराईले भने, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकि पुराना शक्तिहरूले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाएर हामी अघि बढौं । केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’

नेता भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सवलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको पनि आरोप लगाए । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको उनको भनाइ थियो । जसले गर्दा राज्यका सबै अंगहरूमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको उनले बताएका थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधानसभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरूको रक्षा गर्नुको सट्टा सबलीकरण गर्नुको सट्टा धमिराले झैँ भित्रभित्रै ती संस्थाहरूलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले

पनि रोकिएको छैन । अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरू, राज्यका सबै अंगहरू बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिंगो

पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ । त्यसैबिरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौं । हामी अत्यन्त गम्भीर अवस्थामा छौं,’नेता भट्टराईले भने ।

प्रकाशित : आश्विन ८, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?