राजनीति केन्द्रबाट सञ्चालित हुँदासम्म संघीयताको चाहना पूरा हुँदैन : रिजाल

विराटनगर — नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीति केन्द्रबाट सञ्चालित हुँदासम्म संघीयताको चाहना पूरा नहुने बताएका छन् । उनले प्रदेशले आफ्नै खुट्टामा उभिन सक्ने अवस्था सिर्जना नभएसम्म प्रदेश सरकारको सन्दर्भमा समस्याहरू उत्पन्न भइरहने बताएका छन् ।

राजनीति केन्द्रबाट सञ्चालित हुँदासम्म संघीयताको चाहना पूरा हुँदैन : रिजाल

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको पहिलो सत्र ‘प्रदेशको परीक्षा’ मा बोल्दै नेता रिजालले प्रदेश १ को पहिचान अन्य प्रदेशहरूभन्दा भिन्न भए पनि त्यसलाई प्रदेश सरकारले अवलम्बन गर्न नसकिरहेको बताए ।

‘हामीले यो पाँच वर्षसम्म जे गर्‍यौँ, केन्द्रको सरकार अलिकति हल्लिनेबित्तिकै प्रदेशका सरकारहरू पनि हल्लिए । केन्द्रको सरकार फेरिँदा प्रदेश सरकार पनि फेरिए । त्यसरी फेरिने अवस्था रहँदासम्म केन्द्रसँग छुट्टिएर आफूलाई पुष्टि गरेर कुन प्रदेशले आफ्नो अलग्गै पहिचान बनाउन सक्ला र ?,’ रिजालले प्रश्न गर्दै अघि भने, ‘यहीकारण हो अहिले प्रदेश १ ले नामसमेत राख्न नसकेको । हामी एउटा गाउँको वडाध्यक्ष कसलाई बनाउने भनेर माथिबाट निर्णय गरिरहेका छौँ । त्यसैले जबसम्म राजनीति केन्द्रबाट सञ्चालित हुन्छ, तबसम्म न संघीयताको चाहना पूरा हुन्छ, न विकास र समृद्धिको चाहना नै पूरा हुन्छ ।’

उनले राजनीतिक दलले माथिबाट चलाउने कुरालाई अन्त्य गर्नुपर्ने बताए । ‘हाम्रो प्रदेश माथि ताप्लेजुङदेखि, सोलुखुम्बुदेखि तल केचनाकवलसम्म छ, यो प्रदेशले बेग्लै चरित्र समातेर रहेको छ । एउटा जातलाई मात्रै समातेर प्रदेशको पहिचान हुन सक्दैन,’ उनले भने, ‘यसको पहिचान अरु प्रदेशहरूभन्दा निकै फराकिलो छ । हामीले यसलाई हामीले बुझ्न जरुरी छ ।’

उनले संघीयता बलियो बनाउन प्रदेश सरकारहरू आर्थिक रुपमा सबल हुनुपर्ने बताए ।

‘जुन देशको राजस्वको ४० प्रतिशत रकम भन्सार विन्दुमा जम्मा हुन्छ भने त्यो देशका प्रदेशले के गर्ने ? प्रदेशले मेरो नाकामा आएको भन्सार जति सबै मेरो भन्नु पर्‍यो, होइन भने कसरी आर्थिकरुपमा सबल बन्न सम्भव छ ?,’ रिजालले भने, ‘त्यसैले सबैभन्दा पहिले त हामीले प्रदेशले आफ्नो खट्टामा आफैँ उभिन सक्ने अवस्था सिर्जना गर्नैपर्छ ।’

प्रकाशित : आश्विन ८, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?