कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

शैक्षिक केन्द्र

मुलुकको शैक्षिक सूचकांकमा दोस्रो स्थानमा रहेको प्रदेश १ ले नयाँ पुस्ताले खोज्ने विषय पढ्न बाहिरिनु नपर्ने आधार तयार पार्दै
सुदीप कैनी

काठमाडौँ — राष्ट्रियस्तरको शैक्षिक सूचकहरूमा प्रदेश १ अग्रस्थानमा छ । देशभरमध्ये साढे १९ प्रतिशत विद्यालय प्रदेश १ मा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक छ । सामुदायिक, निजी र धार्मिक गरी करिब साढे ६ हजार विद्यालय सञ्चालित छन् । यो वाग्मती प्रदेश हाराहारीकै संख्या हो ।

शैक्षिक केन्द्र

विद्यार्थी भर्ना, टिकाउ, उत्तीर्णलगायत शैक्षिक सूचकहरूमा पनि प्रदेश १ वाग्मतीभन्दा थोरै मात्र पछाडि छ । एसईई र कक्षा १२ को परीक्षामा पनि वाग्मतीपछि धेरै विद्यार्थी सहभागी हुनेमध्येको प्रदेशमा पर्छ । गतवर्ष प्रदेश १ बाट ८४ हजार ४ सय ९१ जनाले एसईई दिएका थिए । त्यो मुलुकभरको कुल संख्याको १७ प्रतिशत हो । लुम्बिनी साढे १७ प्रतिशत र वाग्मतीबाट सहभागी विद्यार्थी संख्या २२ प्रतिशत छ । जसमा १२ प्रतिशत विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याए । ११ सय ८७ जनाले उक्त जीपीए प्राप्त गरेका थिए । एसर्ईई र कक्षा १२ को नतिजामा प्रदेश १ वाग्मतीसहित लुम्बिनी र गण्डकीसँगको प्रतिस्पर्धामा सधैं देखिन्छ ।

चिकित्सा शिक्षाका लागि दक्षिण एसियाकै पूर्वाधारयुक्तमा अग्रणी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ । यसले पूर्वमा चिकित्सा शिक्षा सँगसँगै स्वास्थ्य सेवा पनि दिएको छ । प्रतिष्ठानमा अध्ययन गर्न नेपालसहित भारतका विद्यार्थीको पनि आकर्षण रहने गरेको चिकित्सा शिक्षा आयोगका पदाधिकारी बताउँछन् । २९ वर्षअघि काठमाडौं बाहिर सरकारीस्तरबाट स्थापित र अहिलेसम्म पनि ठूलो स्वास्थ्य शैक्षिक संस्था हो बीपी प्रतिष्ठान । प्रदेश १, मधेस प्रदेशसहित बिहार, पश्चिम बंगाललगायत भारतका सीमावर्ती क्षेत्रका बासिन्दाको पनि स्वास्थ्य र मेडिकल शिक्षाको भरोसा बनेको छ । चिकित्सा शिक्षाका विभिन्न विधामा स्नातक र स्नातकोत्तर, विशिष्टीकृत तहको पढाइ हुँदै आएको छ ।

उच्च शिक्षामा पूर्वाञ्चल विश्वविद्यालयले सन् १९९४ देखि नै ज्ञानको ज्योति फैलाउँदै आएको थियो । त्रिभुवन, संस्कृत, काठमाडौं विश्वविद्यालयपछि विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालय स्थापना भएको हो । आर्थिक वर्ष ०७७/७८ मा उच्चशिक्षामा साढे ५ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविपछि सबैभन्दा धेरै विद्यार्थीको आकर्षण पूर्वाञ्चल विश्वविद्यालयमा रहेको पाइन्छ । पूर्वाञ्चलमा ४८ हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । पूर्वाञ्चलले १ सय १७ निजी र आंगिक कलेजमा इन्जिनियरिङ, व्यवस्थापन, फाइन आर्टस्, शिक्षा, विज्ञान र कानुन संकायमा पठनपाठन गराउँदै आएको छ । उसले काठमाडौंसहित देशका विभिन्न सहरमा पनि क्याम्पसहरू सञ्जाल फैलाइसकेको छ । संकायभित्र विभिन्न विषय छनोट गरेर अध्ययन गर्न सकिने व्यवस्था छ । त्रिविका महेन्द्र मोरङ, इलाम क्याम्पसलगायतले त्यस भेगको उच्चशिक्षाको साख जोगाएको छ । राणाकालदेखि नै शिक्षाको क्षेत्रमा पूर्व क्षेत्र उर्बर रहँदै आएको शिक्षासेवीहरूको भनाइ छ ।

पछिल्लो समय मनमोहन प्राविधिक प्रादेशिक विश्वविद्यालयले पनि उच्चशिक्षामा पाइला अघि बढाएको छ । मुलुकको उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा चिनिएको मोरङको हात्तीमुडास्थित मनमोहन प्राविधिक शिक्षालयलाई विश्वविद्यालयमा विस्तार गरिएको हो । प्राविधिक शिक्षातर्फ सीटीईभीटीले आंगिक र निजी कलेजहरू सबै जिल्लामा विस्तार गरेको छ । इन्जिनियरिङ, स्वास्थ्य, कृषिका प्राविधिक विषयमा डिप्लोमा तहको पठनपाठन गराइन्छ । निजी मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र प्रविधि, कृषि सम्बन्धित कलेजले पनि उच्चशिक्षासम्म प्राविधिक धारको शिक्षा प्रदान गर्दै आएका छन् । प्रदेश १ साक्षर प्रदेश हो । त्यहाँका १४ जिल्लालाई साक्षर घोषणा गर्दै प्रदेश पनि साक्षरता घोषणा भएको हो । उक्त प्रदेशको सोलुखुम्बु जिल्ला सबैभन्दा पछि साक्षर घोषणा गरिएको थियो । सात प्रदेशमध्ये अहिलेसम्म प्रदेश १ सहित वाग्मती र गण्डकी मात्रै साक्षर घोषणा भएका छन् ।

विराटनगरका निजी विद्यालय सञ्चालक तथा प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरी प्रदेश १ वाग्मतीपछि शैक्षिक गुणस्तरमा अग्रस्थानमा रहेको बताउँछन् । ‘वाग्मतीपछि शिक्षाका धेरै पक्षमा दोस्रो स्थानमा देखिन्छ, विद्यालयदेखि विश्वविद्यालयसम्मको पहुँच बढ्दो छ,’ उनले भने, ‘निजी सँगसँगै सामुदायिक विद्यालयले पनि गुणस्तरमा फड्को मारेका छन् ।’ मोरङ, सुनसरी र झापामा नाम चलेका सामुदायिक र निजी विद्यालय सञ्चालनमा छन् । प्रदेश राजधानी विराटनगर शैक्षिक हबका रूपमा विकास हुँदै गएको पुरीले चर्चा गरे । ‘प्रदेशमा राष्ट्रियस्तरका प्रतिष्ठित विद्यालय छन्, पहाडी जिल्लाहरूमा पनि शैक्षिक पूर्वाधार थपिँदै गएको छ, पहाडी क्षेत्र पनि अन्य प्रदेशभन्दा सुगम छन्,’ उनले भने । शैक्षिक पूर्वाधार थपिँदै गए पनि कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थी विदेश जाने प्रवृत्ति बढेकाले समस्या पैदा हुन थालेको उनले जनाए ।

प्राध्यापक खगेन्द्र प्रसाईं शैक्षिक क्षेत्रमा अन्य प्रदेशभन्दा अगाडि नै रहे पनि मुलुककै शैक्षिक अवस्थामा गुणस्तरीय र भरपर्दो नभएकाले त्यसको असर प्रदेश १ मा पनि परेको बताउँछन् । ‘अरू प्रदेशसँग तुलनात्मक रूपमा राम्रै देखिन्छ, पहुँच पनि बढ्दै गएको छ,’ उनले भने, ‘मुलुककै शैक्षिक प्रणाली सन्तोषजनक नरहेको बेला त्यहाँको मात्रै उत्कृष्ट छ भन्ने अवस्था चाहिँ छैन ।’ सरकार (संघ, प्रदेश र स्थानीय तह) को प्राथमिकतामा शिक्षा पर्न नसकेको उनले टिप्पणी गरे । ‘विश्वविद्यालयमा राज्यको ठूलो लगानी देखिँदैन, शिक्षक व्यवस्थापन र विद्यालयमा पनि दायित्व देखिँदैन,’ उनले भने । त्यसले गर्दा गुणस्तर अझै वृद्धि हुन नसकेको उनले जनाए । शिक्षाको मुख्य अधिकार स्थानीय र प्रदेश सरकारमा पुगेको छ । तर देशभरकै पालिकाले जस्तै प्रदेश १ का स्थानीय तहले पनि लगानी बढाउन नसकेको उनको भनाइ छ । ‘पालिकाहरूले प्राथमिकता निर्धारण जानेनन्, शिक्षाभन्दा मठ, मन्दिरमा बजेट प्राथमिकतासाथ छुट्याउनुले यसको पुष्टि गर्छ ।’ सार्वजनिक शिक्षण संस्था कमजोर हुँदा निजीकरण झनै बढ्दै गएको उनले औंल्याए ।

पूर्वका विद्यार्थी पढ्नका लागि भारतको दाजिर्लिङलगायत स्थानमा जाने चलन थियो । सरकारी, निजी शिक्षण संस्था र शैक्षिक पूर्वाधार बढ्दै जाँदा त्यसमा कमी आएको मनमोहन विश्वविद्यालयका रजिस्ट्रार दिलनाथ फुयालले जनाए । ‘उच्चस्तरीय शिक्षण संस्था थपिँदो छ, पढ्न भारत जानुपर्ने अवस्था हट्दै गएको छ,’ उनले भने । स्थानीयलाई काठमाडौं जानभन्दा सीमा जोडिएका भारतीय सहरका शिक्षण संस्थामा अध्ययनका लागि जान सहज थियो । अहिले काठमाडौंका जत्तिकै स्तरीय शिक्षण संस्था विकास भएकाले पनि त्यसमा कमी आएको उनले औंल्याए । पोखरा विश्वविद्यालयले समेत प्रदेश १ मा आफ्ना कलेजहरू विस्तार गरेको छ । विराटनगरमा २०११ सालमा महेन्द्र मोरङ क्याम्पस स्थापना भएको थियो । त्यसले २०२६ सालमा बीएस्सी पढाइ सुरु गर्‍यो । त्यसका कारण पनि विज्ञानतर्फ पूर्वमा धेरै जनशक्ति रहेको इलाम क्याम्पसमा पूर्वप्रमुख समेत रहेका फुयालले जनाए । उनका अनुसार त्रिविले स्थापनाकालदेखि नै विराटनगर र पूर्वी क्षेत्रलाई महत्त्व र प्राथमिकता दिएकाले पनि शैक्षिक क्षेत्रमा गति प्राप्त भएको हो । प्रदेश १ मा पनि प्राविधिक धारतर्फ विद्यार्थी, अभिभावकको चासो बढ्दै जाँदा साधारण धारमा ध्यान पुग्न सकेको छैन । डिप्लोमा स्तरको प्राविधिक धारमा शिक्षालयहरूले अन्यत्र जस्तै विद्यार्थी अभाव खेप्नुपरेको सीटीईभीटीले जनाएको छ । फुयालले प्राविधिक शिक्षासँगै विद्यार्थीलाई इतिहास, भूगोल, राजनीतिक शास्त्र, संस्कृति, सामाजिकशास्त्र विषयको महत्त्व बुझाएर अध्यापनमा जोड दिनुपर्ने बताए । कुनै समय विज्ञान/व्यवस्थापन पढ्न विराटनगर र शिक्षा पढ्न धरान कहलिएका ठाउँ थिए । तर पछिल्लो समय शिक्षालगायत सामान्य धारमा विद्यार्थीको रुचि घट्दै छ ।

शिक्षाको अधिकार स्थानीय तह र प्रदेशसम्म पुगेपछि प्रदेश १ ले मुलुककै पहिलो प्रादेशिक विश्वविद्यालय स्थापना गर्न सफल भएको हो । अधिकार तल आएपछि शिक्षा क्षेत्रमा अपनत्व बढेको रजिस्ट्रार फुयालको अनुभव छ । ‘बालबालिकाले विद्यालयमा मातृभाषामा आधारभूत तह पढ्न पाएका छन्, छात्रवृत्तिमा जेहेन्दार, विपन्नको पहुँच बढेको छ,’ उनले थपे, ‘प्रदेशले महत्त्व बुझेर विश्वविद्यालयले नै स्थापना गरेको छ ।’ पालिका र विद्यालय, प्रदेश र विश्वविद्यालय/ उच्च शिक्षालयबीच समन्वय र सहकार्य वृद्धि भए गुणस्तरीय शिक्षामा फड्को मार्ने शिक्षाकर्मीहरूको विश्वास छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?