राज्यको विभेदकारी नीतिका कारण वर्षौंदेखि खुलेका उद्योग धरशायी हुने अवस्था छ : गगन थापा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
उज्यालो पूर्व

राज्यको विभेदकारी नीतिका कारण वर्षौंदेखि खुलेका उद्योग धरशायी हुने अवस्था छ : गगन थापा

कान्तिपुर संवाददाता

विराटनगर — नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगनकुमार थापाले राज्यको गलत र विभेदकारी नीतिका कारण वर्षौंदेखि खुलेका उद्योग धरशायी हुने अवस्था आएको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'उज्यालो पूर्व' कार्यक्रममा विद्वत प्रवचन दिँदै नेता थापाले गलत विभेदकारी नीतिका कारण वर्षौं पुराना उद्योग धरशायी भएर बन्द हुने अवस्थामा आउनुमा सरकारमा पुगेको सबैले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले प्रदेश १ मा उत्पादनको सम्भावना भएपनि केही सीमित उद्योग पोस्ने नीति राज्यले लिँदा पुराना उद्योगहरु धरशायी हुने अवस्था आएको बताएका हुन् । 'एउटा ठाउँमा म्यानुफ्याक्चरिङ उद्योगहरू स्टेगनेन्ट भएर बसेको छ । स‌ंघ सरकारले बनाउने एउटा गलत विभेदकारी नीतिका कारण वर्षौंदेखि खुलेका उद्योग धरशायी भएर बन्द भएर सडकमा आउनुपर्ने बाध्यता भएको छ,' उनले भने ।

नेता थापाले एकदुई जनालाई पोस्न खोज्दा वर्षौंअघि खुलेको उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए । 'नीजी फाइदाका लागि बनाइने नीतिका कारण उद्योग फैलनुको सट्टा रोकिने र धरशायी हुने अवस्था छ,' उनले भने ।

प्रकाशित : आश्विन ८, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

भोटखोलाको यात्रा

केही समयअघिसम्म भरिया र खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ओसार्नुपर्थ्यो, अहिले हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन्, दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुँदा सस्तो पर्छ
दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिका–१ का नुर्बु भोटे केही वर्षअघिसम्म तिब्बतको चाँगा बजारको भर पर्थे । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा उतैबाट ल्याउनुपर्थ्यो । सदरमुकाम आउन पनि वर्षमा एक पटकजसो मौका जुर्थ्यो । 

‘किमाथांकाबाट सदरमुकाम खाँदबारी आउन कम्तीमा ७ दिन हिँड्नुपर्ने भएपछि भोटखोलावासीको आउजाउ धेरै कम थियो,’ उनले भने, ‘केही वर्षयता खाँदबारीबाट ८२ किलोमिटरसम्म कच्ची सडकमा साना सवारी गुड्न थालेपछि धेरै सहज छ ।’

भोटखोलावासीलाई यातायातको सुविधाले केही राहत दिएको छ । यहाँको हटिया गोलाबाट सदरमुकामसम्म हिउँदका बेला सवारीसाधन गुड्छन् । स्थानीय ८ घण्टामा गोलाबाट सदरमुकाम आइपुग्छन् । गोलाबाट भने हटिया, चेपुवा र किमाथांका हिँड्नैपर्छ । नुर्बुका अनुसार यातायातका साधन नचल्दा चाँगा बजारको भरमा किमाथांका, चेपुवा र हटियाका बासिन्दाले जीवन गुजारा गर्न परिरहेको थियो । सदरमुकामबाट १० दिन भारी बोकाएर नुन, तेल र चामल लगेको अझै उनको सम्झनामा छ ।

तीन वर्षअघि मात्रै हटिया गोलासम्म सडक सञ्जाल जोडिएको हो । खाँदबारी–किमाथांका सडकको लम्बाइ १ सय ६२ किमि हो । उनका अनुसार सडकले किमाथांका–खाँदबारी जोडिन १३ किमि मात्रै बाँकी छ । यो खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । भीर र चट्टान भएका कारण सडकको डोब खनिसके पनि यातायात चल्ने अवस्था छैन । ‘८२ किमि मात्रै सडकमा गाडी गुड्दा पनि स्थानीयलाई धेरै सजिलो भएको छ,’ उनले भने, ‘हाम्रो भोटखोला पनि समृद्धिको बाटोमा लम्कँदै छ ।’

उत्तरी नाका तीन वर्षदेखि बन्द भएपछि यतिबेला भोटखोलावासी खाद्यान लगायतका सामग्री सदरमुकामबाटै लैजान्छन् । हटियाका थुदोक भोटेको पनि हिजोआज दिनचर्या फेरिएको छ । पहिले हटियाबाट सदरमुकाम खाँदबारी आउनुपर्दा उनलाई तीन दिन मज्जाले हिँड्नुपर्थ्यो । कच्ची सडकको ट्र्याक खुलेपछि थुदोक मोटरसाइकलबाटै आउजाउ गर्छन् ।

हेदांनाका देउमान राई पनि कच्ची सडक घरसम्म पुगेपछि सदरमुकाम खाँदबारीसम्म आवागमन गर्न सहज भएको बताउँछन् । उत्तरी गाउँमा कच्ची सडक जोडिएपछि गाडी चल्न थालेका छन् । यो सडक खण्ड विराटनगरको रानीबाट सीमावर्ती किमाथांकासम्म जोड्ने कोसी राजमार्ग हो ।

ट्र्याक्टर, साना जिप र मोटरसाइकलले भोटखोलावासीको दिनचर्या बदलिएको छ । कच्ची सडक भए पनि हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन् । दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुन्छ । ‘केहीअघिसम्म खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो,’ थुदोकले भने, ‘ढुवानी भाडा एकदमै महँगो हुन्थ्यो, गाउँमा किनेर खाइसक्नु थिएन, गाडीबाट ढुवानी हुन थालेपछि सस्तो भएको छ ।’

गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म हिँउद र वर्षामा पनि साना जिपबाट सेवा दिएका छन् । खाँदबारी नुम हटिया सडकमा दैनिक ठूला–साना गरी दुई दर्जनभन्दा बढी सवारी गुड्ने पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा अधिकांश गाउँमा पुग्ने गरी सडक निर्माण गरेको छ ।

सदरमुकाम खाँदबारीबाट करिब १ सय ३३ किलोमिटर र किमाथांकाबाट १२ किलोमिटर कच्ची सडक निर्माण भइसकेको उत्तर दक्षिण कोसी योजनाले जनाएको छ । बाँकी सडक निर्माण भए किमाथांका जोडिनेछ ।

त्रिदेशीय लिंकका रूपमा रहेको यो सडकलाई सरकारले समेत विशेष महत्त्वका साथ हेरिरहेको प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले बताए । जसरी पनि किमाथांकासम्म सडक खोल्ने उनको भनाइ छ । यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक पनि हो । स्थानीय तहको पुनःसंरचनापछि यस क्षेत्रमा जनसंख्या बाक्लिँदो छ । शान्ति प्रक्रियापछि घर निर्माण क्रम वृद्धि भए पनि व्यवस्थित बसोबासको योजना भने छैन ।

भोटखोलाबाट बग्दै आएको अरुणको पानीबाट विद्युत् उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणले काम अघि बढाएपछि त्यहाँका बासिन्दामा धेरै खुसी छाएको छ । भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे पुस्तौंदेखि कष्टकर जीवन बिताइरहेका स्थानीयमा जलविद्युत् आयोजना निर्माणले थप आशा जगाएको बताए । भोटखोला क्षेत्रमा भएको माथिल्लो अरुण १ हजार ६१, तल्लो अरुण करिब ५ सय र किमाथांका अरुणबाट ४ सय मेगावाटभन्दा बढीको विद्युत् उत्पादन हुन्छ ।

संखुवासभाको उत्तरी भेगका जनता र चीनको सीमावर्ती गाउँवासीबीच व्यापारिक सम्बन्ध पनि दिनानुदिन विकसित हुँदै आएको छ । पहिलेपहिले हिमाली क्षेत्रका बासिन्दा आवश्यकताका वस्तु विनिमयका लागि आउनेजाने गरेको खाँदबारीका जीवनाथ खनाल बताउँछन् ।

‘अहिलेसम्म किमाथांका नाकाबाट जनस्तरमा सीमित परिमाणमा नुन, तेल, लत्ताकपडा आयात हुन्छ,’ उनले भने, ‘समयसँगै समाज र व्यक्तिका आवश्यकताअनुसार भोटखोला व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।’

प्रकाशित : आश्विन ८, २०७९ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×