कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राष्ट्रसंघ महासभामा किन गएनन् परराष्ट्रमन्त्री ?

विभिन्न राष्ट्र प्रमुख र सरकार प्रमुखसँग भेटवार्ता गर्ने र कूटनीतिक सम्बन्ध थप बलियो बनाउने महत्त्वपूर्ण थलोमा परराष्ट्र सचिवको नेतृत्वमा टोली
जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) को ७७ औं महासभा चलिरहेको छ । संसारभरका अधिकांश मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्रीहरू न्युयोर्कमा भेटवार्ता, संवाद र छलफलमा व्यस्त छन् । उनीहरूले आ–आफ्नो देशका तर्फबाट महासभाको उच्चस्तरीय सत्रमा गएर सम्बोधन पनि गरिरहेका छन् ।

राष्ट्रसंघ महासभामा किन गएनन् परराष्ट्रमन्त्री ?

महासभामा नेपालबाट भने यस पटक प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी छैनन् । परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा महासभामा प्रतिनिधिमण्डल पठाइएको छ । गत वर्षको ७६ औं महासभामा भने परराष्ट्रमन्त्री नारायण खड्का सहभागी थिए ।

७७ औं महासभा भदौ २८ मा न्युयोर्कमा सुरु भएको हो । महासभाको उच्चस्तरीय सत्र असोज ४ देखि १० सम्म चल्नेछ । महासभाको दौरान यूएनको एउटै भवनमा राष्ट्र प्रमुख, सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा कूटनीतिज्ञहरूबीच भेटवार्ता र छलफल गर्न सकिन्छ । महासभा नेपालजस्ता देशका लागि ठूला र बलिया मुलुकसँग भेटवार्ता गरेर आफ्नो धारणा राख्ने र कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने यो सुनौलो मौका हुन्छ । यस्तो महत्त्वपूर्ण थलोमा सरकारले कम्तीमा परराष्ट्रमन्त्रीस्तरको सहभागिता गराउन सक्थ्यो तर परराष्ट्र सचिवको नेतृत्वमा टोली पठाइएको छ ।

परराष्ट्र स्रोतका अनुसार मन्त्री खड्का न्युयोर्क जान चाहन्थे तर प्रधानमन्त्रीकै निर्देशनपछि रोकिएका हुन् । ‘आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने भएका कारण मन्त्रीजीलाई प्रधानमन्त्रीजीले यस पटक नजान भन्नुभयो,’ परराष्ट्रका एक अधिकारीले भने । मन्त्री सहभागी नभएका कारण यस पटक न्युयोर्कमा द्विपक्षीय उच्चस्तरीय शिष्टाचार भेटवार्ता हुन सकेको छैन । मन्त्री खड्का गत मंगलबार मात्र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारमा सहभागी भएर नेपाल फर्केका थिए ।

जर्मनीका लागि नेपालका पूर्वराजदूत तथा कूटनीतिज्ञ रमेश खनाल संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिवस्तरको हुनु अस्वाभाविक नभए पनि मुलुकको अहिलेको परिस्थितिमा उच्चस्तरीय सहभागिता भएको भए राम्रो हुने मान्छन् । ‘राजनीतिक रूपमा जुन स्तरको सम्पर्क, पहुँच र संवाद हुन्छ, त्यो कर्मचारीस्तरमा हुँदैन, नेपालबाट यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्रीस्तरीय सहभागिता हुने गरेको थियो,’ उनले भने, ‘अहिले जुन तहमा हाम्रो सहभागिता हुनुपथ्र्यो, त्यो भएन ।’ विश्वस्तरमा पहुँच बढाउनुपर्नेमा यस्ता गतिविधिले झन् खुम्च्याउने हो कि भन्ने डर रहने उनले बताए । नेपालले १ सय ७७ मुलुकसँग द्विपक्षीय सम्बन्ध स्थापित गरिसकेको छ ।

कूटनीतिज्ञ दिनेश भट्टराई राजनीतिकस्तरमै प्रतिनिधित्व भएको भए राम्रो हुने मान्छन् । ‘महासभामा अधिकांश मुलुकबाट राजनीतिकस्तरको प्रतिनिधित्व हुन्छ, हाम्रोबाट पनि गएको भए आफ्ना कुरा राख्न सहज हुन्थ्यो, परराष्ट्रमन्त्रीजी लन्डनमै पुगिसकेपछि केही दिन न्युयोर्क पुगेर फर्किएको भए राम्रो हुने थियो,’ उनले भने । भट्टराईका अनुसार महासभाकै अवसरमा नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षको हैसियतमा सार्कमन्त्रीस्तरीय साइडलाइन बैठक गर्नुपथ्र्यो । ‘हामी त सार्कको अध्यक्ष पनि हो, हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ, नत्र सार्क शिथिल भइरहन्छ,’ उनले भने, ‘परराष्ट्र सचिव र राजनीतिक तहबाट भन्ने कुरा एउटै हुन्छन् तर कसले भन्यो भन्नेले मान्यता राख्छ ।’

परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल अहिले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयका विभिन्न कार्यक्रम र भेटवार्तामा सहभागी भइरहेको छ । न्युयोर्कमा बिहीबार पौड्यालले कम विकसित मुलुकबाट स्तरोन्नतिको सुनिश्चितताका लागि नेपालले राष्ट्रिय प्रयास गरिरहेको बताए । उनले कम विकसित मुलुकको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै स्तरोन्नति हुने नेपालको लामो समयदेखिको आकांक्षा रहेको प्रस्ट पारे । नेपाल सन् २०२६ डिसेम्बरपछि कम विकसित मुलुकबाट मध्य आय भएको मुलुकमा स्तरोन्नति हुने यसअघि नै घोषणा भइसकेको छ ।

पौड्यालले बिहीबारै साइडलाइन वार्ताअन्तर्गत माल्दिभ्सका परराष्ट्रमन्त्री तथा ७६ औं महासभाका अध्यक्ष साहिद अब्दुल्लाहसँग शिष्टाचार भेटवार्ता गरे । उक्त अवसरमा दुवै पक्षले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धन गर्ने विषयमा कुराकानी भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । यस्तै भूपरिवेष्टित कम विकसित मुलुकको मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले भूपरिवेष्टित कम विकसित मुलुकले ट्रान्जिट देशसँग विकासको साझेदार सहयोग प्राप्त गर्नुपर्ने बताए । यस्तै, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख अमृतकुमार राईले ७७ औं महासभाको उपाध्यक्षको हैसियतमा बुधबार कार्यक्रम पनि सञ्चालन गरे । हंगेरीकी कूटनीतिज्ञ साबा कोरोसीले ७७ औं महासभाको अध्यक्षता गरिरहेकी छन् ।

प्रकाशित : आश्विन ७, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?