गठबन्धनको त्यान्द्रो छुट्यो भने एमालेको भेलले बगाउँछ : केपी ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनको त्यान्द्रो छुट्यो भने एमालेको भेलले बगाउँछ : केपी ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै नेता ओलीले प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको बताए ।

‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर, त्यसरी कामेका छन् । त्यसैकारण उनीहरूले यो गठबन्धन बनाउनु परेको छ र । यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरूले गठबन्धन नामको त्यान्द्रो छोड्दैनन् । किनकि एमालेको भेल यस्तो आइराखेको छ । बगाउँछ,’ अध्यक्ष ओलीले भने ।


ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दाबी गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना बन्दैछ । उक्त प्रतिष्ठानको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काभ्रेमा शुक्रबार संयुक्त रुपमा भूमि पूजन गरे ।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए ।

भारत सरकारको एक हजार करोड रुपैयाँ अनुदानमा उक्त प्रतिष्ठान निर्माण हुन लागेको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरूमध्येकै एक रहेको दूतावासले जनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट–७५’ आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ । साथै १० अर्ब नेपाली रुपैयाँ बराबरको बजेटमा उक्त परियोजना निर्माण गर्न लागिएको भारतीय दूतावासले जनाएको छ ।

उक्त परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुने बताइएको छ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने दूतावासले जनाएको छ । भूमि पूजन कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उक्त परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको भन्दै भारत सरकारलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×