१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देउवामाथि दबाब बढाउँदै कोइराला समूह, शनिबार खबरदारीसभा 

काठमाडौँ — नेपाली कांग्रेसमा टिकट वितरणमा एकलौटी गर्ने प्रयास भइरहेको भन्दै नेता नेता शेखर कोइराला पक्षले दबाब बढाएको छ । कोइराला समूहका नेताहरुले दिनहुँजसो समानान्तर बैठक, भेला र छलफल कार्यक्रम राखेर सभापति देउवाविरुद्ध दबाब बढाएका हुन् । सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने नेताहरुको भनाइ छ ।

देउवामाथि दबाब बढाउँदै कोइराला समूह, शनिबार खबरदारीसभा 

समानुपातिक सूचीमा देउवाले एकलौटी गरेको कोइराला समूहका नेताहरुको आरोप छ । कोइराला समूहले त्यसैको विरोधमा काठमाडौंमा खबरदारीसभा आयोजना गरेको छ । शनिबार बानेश्वर ब्याक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला आयोजना गरेको नेता जगदीश्वरनरसिंह केसीले बताए ।

'समानुपातिक सूचीमा सभापतिजीले एकलौटी गर्नुभएको छ । हाम्रो समूहका साथीहरूको नाम अँटेको छैन भने कतिपयको नाम काटिएको छ,' उनले भने, 'पार्टीभित्र मनपरित्रतन्त्र हाबी भयो । सभापतिले एकलौटी गरेपछि हामीले खबरदारीसभाको आयोजना गरेका हौं ।' उनले समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्षतर्फको टिकटमा पनि एकपक्षीय हुन सक्ने देखिएकाले खबरदारीसभाको आयोजना गरिएको बताए ।

'अरू दललाई ८०–८५ सिट दिने अनि पार्टीभित्रै अर्को समूहलाई चाहिँ समान हैसियत दिनुपर्छ कि पर्दैन ? जिम्मेवार नेताहरूलाई पाखा लगाउन मिल्छ ?,' केसीले प्रश्न गर्दै भने, 'अरु दलसँग १८ घण्टा मिटिङ गर्ने । एकै दलमा रहेर फरक समूहको नेतृत्व गर्ने समूहका नेतालाई १८ मिनेट पनि नभेट्ने ? त्यसकारण हामीले खबरदारीसभा गर्न बाध्य भएका हौं ।'

कोइराला समूहका सबै भेला र बैठकमा नेता कोइरालासहित महामन्त्री गगन थापालगायत नेता भने सहभागी छैनन् । कोइराला समूहका केही केन्द्रीय सदस्य र दोस्रो तहका नेताहरुले भने निरन्तर विरोध र खबरदारी गर्दै आएका छन् । संस्थापन पक्षले सम्मानजनक ढ‌ंगले टिकट वितरण नगरे पार्टीभित्रै विद्रोहको अवस्थासमेत हुन सक्ने उनीहरुको चुनाैती छ ।

कोइराला समूहका नेताहरुले सभापतिलाई भेटेर आफ्नो गुनासो्समेत राख्ने मौका नपाएको गुनासो गर्दै आएका छन् । नेता केसीका अनुसार सभामा इतर समूहबाट प्रतिनिधित्व गर्ने भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु सभामा उपस्थित हुनेछन् । खबरदारीपश्चात् पनि निरन्तर आफूहरूलाई पाखा लगाई सभालाई सशक्त बनाउँदै लगिने उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?