प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन

काठमाडौँ — भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना बन्दैछ । उक्त प्रतिष्ठानको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काभ्रेमा शुक्रबार संयुक्त रुपमा भूमि पूजन गरे ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए ।

भारत सरकारको एक हजार करोड रुपैयाँ अनुदानमा उक्त प्रतिष्ठान निर्माण हुन लागेको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरूमध्येकै एक रहेको दूतावासले जनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट–७५’ आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ । साथै १० अर्ब नेपाली रुपैयाँ बराबरको बजेटमा उक्त परियोजना निर्माण गर्न लागिएको भारतीय दूतावासले जनाएको छ ।

उक्त परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुने बताइएको छ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने दूतावासले जनाएको छ । भूमि पूजन कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उक्त परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको भन्दै भारत सरकारलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?