कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाकालमा मानव बेचबिखन बढ्यो, २ वर्षमा २७० उजुरी

सीमाबाट हजाराैँको उद्धार

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको जनाएको छ । कोरोनाका कारण मुलुकभित्र बेरोजगारीको समस्या वृद्धि भएको र त्यही कारण मानव बेचबिखनसमेत बढेको आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन, २०७९ को निष्कर्ष छ ।

कोरोनाकालमा मानव बेचबिखन बढ्यो, २ वर्षमा २७० उजुरी

प्रतिवेदनअनुसार कोरोना महामारी व्याप्त आर्थिक २०७६/७७ र २०७७/७८ को दुई वर्षको अवधिमा २७० वटा मानव बेचबिखनका उजुरी परेका छन् । शहरी क्षेत्रमा दोहरी साँझ, डान्सवार, मसाज सेन्टर, खाजा घर पार्लरजस्ता मनोरञ्जन तथा सत्कार सेवाका क्षेत्रहरुमा विशेषगरी महिला तथा किशोरीहरुप्रति श्रम शोषण, यौन दुर्व्यवहार एवं शोषण, मानसिक उत्पीडनजस्ता कार्यहरु भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै देशभित्र नै बालबालिकाहरु बाध्यकारी श्रम, यौन दुर्व्यवहार तथा शोषणबाट पीडित/तथा प्रभावित भई मानव बेचविखनको उच्च जोखिम अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ ।

आन्तरिक बेचबिखनको अलावा भारतमा यौन व्यवसाय, श्रमिकको रुपमा, बालबिवाह तथा र चीनमा विवाह, सांस्कृतिक कार्यक्रमको नाममा, सञ्जाल व्यवसायको नाममा, आर्केष्ट्रामा नाच्नका लागी, घुमफिरका नाममा, मनोरञ्जन क्षेत्रमा रोजगार दिलाउने बहानामा समेत बेचबिखन तथा ओसारपसार भइरहेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारको नाममा अनियमित बाटो भई कानुनीरुपमा अभिलेखीकरण नगरी गएका व्यक्तिहरु मानव बेचविखनको सिकार भएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोकाअनुसार आ.ब. २०७६/७७ र २०७७/२०७८ गरी दुई आर्थिक वर्षमा देशभर २७० वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएका छन् । ती घटनामा परी ३९२ जना व्यक्तिहरु पीडित छन् । बेचबिखनमा परेकामध्ये महिला ९५ प्रतिशत छन् भने बालिकाको संख्या ३८.२ प्रतिशत छ ।

बेचबेखनमा पर्नेमध्ये सबैभन्दा धेरै जनजाति महिला ४४.७ प्रतिशत छन् भने दलित र मधेशी महिला समान ६.१ प्रतिशत छन् । ब्राह्मण महिला ७.३, क्षेत्री महिला १८.२ प्रतिशत छन् । दुई आर्थिक बर्षमा सर्वोच्च अदालतमा ४०२ मुद्दामा बहस पैरवी भएको छ भने ९६ वटा मुद्दामात्रै फर्छौट भएका छन् ।

आयोगको प्रतिवेदनअनुसार यो अवधिमा मानव बेचबिखनको क्षेत्रमा क्रियाशील संस्था माइती नेपालले मात्रै सीमा नाकाबाट १० हजार जनालाई उद्धार र निगरानी सेवा प्रदान गरेको छ । त्यही अवधिमा माइती नेपालले आठ हजार जनालाई पुनर्स्थापना गृहसम्बन्धी सेवा प्रदान गरेको छ ।

त्यस्तै, छोरी संस्थामार्फत जोखिममा रहेका ४ हजार महिला र बालबालिकालाई सहयोग पुगेको छ भने ओरेक नेपालले जोखिममा रहेका २५ सय महिला तथा बालिकाहरूलाई प्रत्यक्ष सहयोग प्रदान भएको छ । आफन्त नेपालले नौ हजार जोखिममा रहेका पीडितहरूलाई सेवा दिएको छ भने शक्ति समूहले १० हजार जोखिममा परेकाहरूको उद्धार गरेको छ । साथी संस्थाले करिब ६ हजारलाई सहयोग गरेको छ भने प्रवासी नेपाली समन्वय समितिले सन् २०१९/२०२० मा ६०० जोखीममा रहेका तथा पुरुषहरुका लाािग पुर्नस्थापना गृह मार्फत प्रत्यक्ष सेवा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : आश्विन ७, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?