कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राष्ट्रपतिको कदमलाई लक्षित गर्दै दाहालले भने- 'जानीबुझी संविधान मिच्नु उपलब्धि खोस्ने षड्यन्त्र हो'

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाटै संविधान मिचिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रपतिको कदमलाई लक्षित गर्दै दाहालले भने- 'जानीबुझी संविधान मिच्नु उपलब्धि खोस्ने षड्यन्त्र हो'

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरू खोस्ने षड्यन्त्र भएको पनि उनले बताए ।

उनले गत वर्षदेखि नै देशमा प्रतिगमनको षड्यन्त्र सुरु भएको र त्यो अहिलेसम्म नरोकिएको बताए । साथै आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको दाहालले औंल्याएका थिए । ‘म भन्न चाहन्छु कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो सतर्कता गुमायौं भने, हामीले हामीभित्रको एकतालाई कमजोर हुन दियौं भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौं भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रुपमा भन्दैछु । अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानीबुझी संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन । यो हजारौंको बलिदानबाट, लाखौँलाख किसानहरूको, मजदुरहरू, उत्पीडितहरूको आन्दोलनबाट प्राप्त भएका उपलब्धी खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ,' अध्यक्ष दाहालले भनेका छन् ।

राष्ट्रपति भण्डारीको कदमलाई लक्षित गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरूले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरू भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरू अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडि बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

प्रकाशित : आश्विन ७, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?