पत्रकारलाई अनेरास्ववियुकी अध्यक्ष बरालले धम्क्याएकोप्रति महासंघको आपत्ति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकारलाई अनेरास्ववियुकी अध्यक्ष बरालले धम्क्याएकोप्रति महासंघको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ । महासंघले जिम्मेवार पदमा बसेको व्यक्तिबाटै अभिव्यक्ति स्वतन्त्रत्राको नाममा पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय भएको जनाएको छ । 

अनलाइन खबर डटकममा कार्यरत पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘बिनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्,’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियुकी अध्यक्ष बरालले कमेन्ट गर्दै 'जरुरत पर्लाजस्तो छ' भनेर धम्की दिएकी थिइन् ।

'समाचारको विषयलाई लिएर अनलाइन खबर डटकममा कार्यरत पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,' महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, 'सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टीकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।'

अध्यक्ष बरालले सामाजिक सन्जालमार्फत गरेको टिप्पणीलाई महासंघले कडा शब्दमा भर्त्सना गरेको छ भने प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न ध्यानाकर्षण गराएको छ ।


प्रकाशित : आश्विन ७, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्रमन्त्री खड्का र यूरोपेली सांसदको टोलीबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेको छ । यूरोपेली संसदका उपाध्यक्ष इभलिन रेगनरको नेतृत्वमा रहेको उक्त टोलीले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेट गरेको हो ।


यस क्रममा वातावरण, जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका विषयमा कुराकानी भएको थियो ।

साथै, नेपालले कम विकसित मुलुकको अवस्थाबाट उत्तीर्ण हुने र त्यसको तयारीका सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, पर्यटन उद्योगको पुनरुत्थान र नागरिक उड्डयनलगायत नेपाल र यूरोपेली यूनियन बीचको साझेदारीका विभिन्न महत्त्वपूर्ण क्षेत्रमा छलफल केन्द्रित रहेको उल्लेख छ ।

प्रकाशित : आश्विन ७, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×