निगमले ९ महिनापछि इन्जिन फेर्न जहाज इजरायल पठायो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमले ९ महिनापछि इन्जिन फेर्न जहाज इजरायल पठायो 

सुरज कुँवर

काठमाडौँ — नेपाल वायु सेवा निगमले इन्जिन फेर्नका बिहीबार न्यारोबडी जहाज इजरायल पठाएको छ । ९ महिनाअघि मर्मतका लागि इन्जिन इजरायल पठाइएको थियो ।  बिहीबार त्यही इन्जिन फेर्नका लागि 'सगरमाथा' नाम दिइएको न्यारोबडी जहाज पठाइएको हो । 

‘फेरि फ्लाइट’ गर्दै इजरायल पठाइएको जहाजको मध्य साउनमा बारोस्कोप इन्स्पेक्सन (जाँच) गर्दा दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौंमा ग्राउन्डेड गरिएको थियो । उक्त जाचँले ५ पटक मात्रै उडान गर्न मिल्ने देखिएपछि ग्राउन्डेड गरिएको जहाजको इन्जिन फेर्न निगम व्यवस्थापन लाई झन्डै दुई महिना लागेको छ ।

निगमका एक उच्च अधिकारीका अनुसार, नियमित उडानमा रहेका बेला ९ महिनाअघि पुस १३ गते दोहामा न्यारोबडीको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज त्यहीँ छाडिएको थियो ।

०७८ पुस १३ गते दोहामा (ग्राउन्डेड) छाडिएको न्यारोबडीमा दुई महिनापछि ०७८ फागुन २२ गते नेदरल्यान्डको एक कम्पनीबाट भाडाको इन्जिन राखेर जहाज काठमाडौं ल्याई नियमित उडानमा लगाएको थियो ।

‘व्यवस्थापकीय लापर्बाहीका कारण इजरायलमा मर्मत गर्न दिइएको इन्जिन फेर्न झन्डै ९ महिनापछि हिजो न्यरोबडी इजरायल पठाएका छौं,’ निगमका एक अर्का निर्देशकले भने, ‘मर्मत गरिएको इन्जिन जहाजमा जडान गरी मध्य साउनमा बारोस्कोप इन्स्पेक्सन (जाँच) का क्रममा समस्या देखिएको दायाँ इन्जिन त्यहीँ छाडेर दोहामा बिग्रिएको इन्जिन (हाल मर्मत भइसकेको) राखेर त्यो जहाज सोमबार मात्रै काठमाडौं फर्किने छ ।’

बेलैमा जहाज मर्मत गर्न नसकेपछि उडान रद्द गर्दै निगम

एक इन्जिनियरका अनुसार, निगमसँग जगेडा इन्जिन नभएकोले दोहामा ग्राउन्डेड हुँदा निगमले प्रतिदिन २ हजार डलर, प्रतिघन्टा २ सय ९२ डलर र प्रतिउडान २ सय ३९ डलर गरी दैनिक कम्तीमा ३ लाख रुपैयाँ भाडामा नेदरल्यान्डको जहाज इन्जिन भाडामा दिने एमटीयूबाट इन्जिन लिएर उडाइरहेको छ ।

प्राविधिक समस्या देखिएको दायाँ इन्जिन इजरायलमा छाडेर जहाज अर्को हप्ता फर्किने छ । उक्त इन्जिन कसले कहिलेसम्म बनाइसक्ने भन्ने बारे अझै अन्यौल नै छ । ‘प्राविधिक समस्या देखिएको इन्जिनलाई अहिले इजरायलमा छाडिने छ,’ एक अर्का प्राविधिकले भने, ‘त्यो मर्मत गर्ने ठेक्का भएपछि कस्ले कहा बनाउने ? कहिले बनाउने टुंगो लाग्ने छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार, निगमले भैपरी आउने इन्जिनसँग सम्बन्धित समस्या समाधान गर्न बेलैमा एमआरओ छनौट गर्न नसकेका कारण जहाजमा आउने समस्या सामाधान गर्न महिनौँ लाग्ने, इन्जिन भाडामा ल्याउदा महँगो शुल्क तिर्नुपर्ने, विदेशी एमआरओ कम्पनीका नेपाली एजेन्टहरुले चलखेल गर्ने गरेको देखिएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्चमा दुई युगको संवाद

वर्तमानलाई १९४० को समयतिर डोर्‍याउने नाटकले गर्छ महान् हस्तीका समय र भविष्यवाणीका यथार्थको शल्यक्रिया
सुशीला तामा‌ङ

काठमाडौँ — अल्बर्ट आइन्स्टाइन, महात्मा गान्धी, एडल्फ हिटलर र चार्ली च्याप्लिन विश्वले सम्झने नामहरु हुन् । जसले आफ्नो समयमा आ–आफ्नै कार्य क्षेत्रबाट आफूलाई अब्बल राख्दै विश्वमा नै हलचल मच्चाए ।

वर्तमानमा यी महापुरुषहरुलाई संसारले कसरी स्मरण गर्छन्, आजको यथास्थितिमा यिनीहरुको भूमिका कसरी तुलना हुन्छ, उनीहरुको परिकल्पनाको संसार कस्तो थियो, भविष्यवाणी कस्ता थिए भन्ने दुई युगको समय संवादलाई नाटक ‘समय : दुई युगको संवाद’ ले पस्कने जमर्काे गरेको छ ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा आइतबारदेखि मञ्चन सुरु भएको नाटकलाई सर्वनामकै १८ औं ब्याचका प्रशिक्षार्थी समूहले प्रस्तुत गरेको हो । नाटकको लेखन समूहकी सुजता पन्तले गरेकी हुन् ।

नाटकले मूलत: समयको महत्त्वलाई दर्साउँदै समयअनुसार नै जन्मेका महान् पात्रहरु र तिनले गरेका कामहरु इतिहास बनेर वर्तमानमा उभिन्छन् भन्ने तथ्यलाई प्रस्ट्याएको छ । नाटकको सुरुवाती दृश्यले नै वर्तमान समयको ज्ञात गराउँदै अन्त्यमा पनि जोड्दै आजै, अहिले नै र तत्कालको समयमा मान्छेलाई जिउन आह्वान गर्छ ।

नाटकले २०२० को समयबाट १९४० को समयतिर डोर्‍याउँछ । सुरुवाती दृश्यतिर नै घडीको आवाजले दर्शकलाई समयको बोध गराउँछ । वर्तमानकालीन स्थितिमा नाटक केन्द्रित हुन्छ । जुन समय कलियुगको छ । जहाँ ईश्वरभन्दा दानवको अस्तित्व हाबी छ, जताततै कोलाहल छ र कोरोनाजस्ता महामारी रोगले मानिस ग्रसित छन् भन्ने तथ्यलाई नाटकका पात्रहरुले बोल्छन् । मान्छले स्वार्थका लागि तेल, जमिन र पानीलाई आफ्नो बनाउँदै राजनीतीकरणले नै हावालाई नियन्त्रण गरी महामारी भित्र्यायो भन्ने विषयलाई उठान गर्छ । मान्छे चाहिनेभन्दा बढी स्वतन्त्रतातिर हाबी भएर अराजकतातिर गएको संकेत गर्दै नाटकले तानाशाही हिटलरको समयको पुकार गर्छ । अशान्तिलाई शान्त बनाउन गान्धीको समय चाहन्छ, पीडादायी अवस्थामा खुसी ल्याउन चार्लीको समयमा पुग्न चाहन्छ र विज्ञान तथा प्रकृतिको हिस्सा जान्न आइन्स्टाइनतिरै पुन: फर्कने प्रयत्न गर्छ । नाटकले बोल्छ, ‘पृथ्वीको यो कोलाहल भूतमा जानु छ । सबैको ग्रह, राहु, नक्षत्र फेर्नु छ ।’

कलियुगको समयमाथि बहस गर्ने नेता, साधु, वैज्ञानिक र ज्योतिष छन् । उनीहरुकै बहसका क्रममा समय १९४० तिर मोडिन्छ । यही समयमा आइन्स्टाइन, गान्धी, हिटलर र चार्ली जोडिन्छन् र सबैले आफ्नो समयको तर्क राख्छन् ।

८० वर्षपछिको भविष्यवाणी गर्ने पात्र खडा गरेर नाटकले अहिलेको समय संवादलाई निकै सूक्ष्म तरिकाले प्रस्तुत गरेको छ । आइन्स्टाइनको वैज्ञानिक चमत्कार, परमाणु बमको निर्माण र यसले विश्व मानव जगत्मा पारेको प्रभावसम्मलाई नाटकले केलाउँछ । स्वतन्त्र भारतको लागि गान्धीको अहिंसावादी आन्दोलन, जर्मन साम्राज्यका लागि हिटलरको हिंसात्मक पथ, मानिसका खुसीका लागि चार्लीको अभिनयसम्मको विषय नाटकभित्र समेटिएका छन् ।

इतिहासका यी पात्रहरुले गरेका कामकै आधारमा आजसम्म कसरी विश्व मानसपटलमा यिनीहरु जीवित छन् भन्ने तथ्यलाई दोहोर्‍याउँदै नाटकले वर्तमानका मानवलाई आफ्नो सत्कर्ममा लाग्न अभिप्रेरित गर्छ । यी पात्रहरुले विश्व परिवर्तन र स्वतन्त्रताका लागि विज्ञान, शान्ति, हिंसा र अभिनयको बाटो रोजे । विज्ञान र हिंसालाई रोजेका आइन्स्टाइन र हिटलरलाई मानवीय समाजले विनाशकारी पाटोमा समेत विश्लेषण गर्दै आएका छन् । नाटकमा चार्ली पात्रलाई मानवीय समाजको एउटा सिर्जनाका रूपमा व्याख्या गरेको छ । कोलाहल र मानवीय दु:खमा चार्ली मान्छेलाई खुसी दिन आएका हुन् । संसारमा चार्ली मात्र एक पात्र छन्, जसको विश्वले कुनै पनि कोणमा निन्दा गरेका छैनन् भन्ने पक्षलाई जोड्दै नाटकले मान्छेलाई उसको कर्मले नै महान् बनाउँछ भन्ने तथ्यलाई बताउँछ । समयले नै मानिसलाई सही/गलत बनाउने पक्षलाई नाटकले इतिहासका यिनै पात्रहरु खडा गरेर कलियुगलाई सतर्क बनाएको छ ।

दुई कालखण्डलाई नाटकले सजिलै जोड्दै दर्शकलाई दुबै समयको बोध गराएको छ । गान्धी, हिटलर, चार्ली पात्रहरुको आवरणले दर्शकलाई इतिहासकै झल्को दिन्छ । रंगमञ्चका लागि प्रशिक्षार्थी नै भए पनि दर्शकलाई त्यसको अनुभूति गर्न दिएका छैनन् । हिटलरको आक्रोश, गान्धीको शान्त रूप, चार्लीको अञ्चलता र आइन्स्टाइनको जिज्ञासु स्वभाव कलाकारहरुको अभिनयमा झल्किएका छन् । नाटक अवधिभर आक्रोश, कोलाहलसँगै हिटलर पात्रको दृश्यमा रातो रंगको प्रकाश परिचालनले क्रान्तिको रूपमा विशेष अर्थ राख्छन् । त्यस्तै गान्धीको समयमा अधिकांश दृश्यमा हरियो प्रकाश देख्न सकिन्छ ।

झकिझकाउ रंगमञ्चीय व्यवस्थापनबिना नै नाटकले दुई युगलाई प्रस्तुत गरेको छ । यसमा पनि सर्वनामको मितव्ययी रंगपद्धति शैलीको निरन्तरता देख्न सकिन्छ । प्रशिक्षार्थीहरु अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, वसन्तबहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापामगर, राम दाहाल, सन्जु तामाङ, सुजता पन्त र सुवास बस्यालले सर्वनाममा तीनमहिने बन्द प्रशिक्षण र करिब दुई महिनाको तयारीमा नाटक प्रस्तुत गरेका हुन् । रंगमञ्चमा आउन चाहनेहरुका लागि सर्वनामले मञ्च प्रदान गर्न प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । १८ औं ब्याचका प्रशिक्षार्थीहरुमा अत्यन्तै सम्भावना रहेको सर्वनामका संस्थापक रंगकर्मी अशेष मल्लले बताए । रंगमञ्च मात्र नभएर अन्य कला फाँटमा उनीहरुले निकै राम्रो गर्ने उनको आशा छ । नाटक यही शनिबारसम्म मञ्चन हुनेछ ।

प्रकाशित : आश्विन ७, २०७९ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×