जहाज चढेर हुम्ला पुग्छ ब्रोइलर- समाचार - कान्तिपुर समाचार

जहाज चढेर हुम्ला पुग्छ ब्रोइलर

ज्योति कटुवाल

सुर्खेत — साताअघि वीरेन्द्रनगरबाट हुम्ला जान लागेका सिमकोट–५ का रामजंग रोकाया ५ वटा ब्रोइलर कुखुरासहित सुर्खेत विमानस्थलमा भेटिए । ‘सिमकोटमा चिसोले पाल्न सकिँदैन, खसीको मासु पनि खासै पाइँदैन,’ उनले भने, ‘दसैंमा मासुको जोहो गर्न यहींबाट लैजान लागेको ।’

नेपालगन्ज र सुर्खेतबाट फर्कंदा हुम्ला जाने अधिकांश यात्रुले २/४ वटा कुखुरा साथमै लैजाने गरेका छन् । चिसो ठाउँ भएकाले हुम्ला पुर्‍याएका ब्रोइलर १/२ हप्ताभन्दा बढी बाँच्न मुस्किल छ । हुम्लाका लागि हुने उडानहरूमा दैनिकजसो ३० देखि ५० वटासम्म ब्रोइलर कुखुरा जहाजबाटै सदरमुकाम पुग्ने गरेका छन् । ठूलो परिमाणमा लैजान वायु सेवा कम्पनीले कडाइ गर्ने गरेकाले हुम्ला फर्कने केहीले मात्र जिउँदो कुखुरा लैजान पाउँछन् ।

हुम्लामा ब्रोइलरसँगै ठूलो परिमाणमा मासु पनि जाने गरेको छ । सडक सञ्जालमा नजोडिएकाले त्यहाँ जाने सबै मासु जहाजबाट जान्छ । सदरमुकाम सिमकोटमा झन्डै १२ वर्षदेखि फ्रेस हाउस सञ्चालन गर्दै आएकी सुमित्रा थापाले नेपालगन्ज र सुर्खेतबाट गएको ४० देखि ५० किलो मासु दैनिक बेचिरहेकी छन् । ‘चाडपर्वको बेला त एक क्विन्टलसम्म मासु बिक्री हुन्छ,’ उनले भनिन्, ‘जहाज कम्पनीले जिउँदो कुखुरा ल्याउन नदिने भएकाले काटेकै मासु उताबाट ल्याउँछौं ।’ हुम्लामा उनीसहित १८ जनाले फ्रेस हाउस सञ्चालन गरिरहेका छन् । उनका अनुसार सिमकोटमा ८ सयदेखि ८ सय ५० रुपैयाँसम्ममा ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । नेपालगन्ज र सुर्खेतमा प्रतिकिलो ३ सय ५० रुपैयाँ पर्ने ब्रोइलरको मासुलाई १ सय ८० देखि २ सय रुपैयाँसम्म हवाई भाडा तिर्नुपर्छ ।

सिमकोटमै मासु पसल सञ्चालन गर्दै आएका फुर्वा लामाले जहाजको महँगो भाडा तिरेर व्यवसाय गर्नुपरेको गुनासो गरे । ‘हामीलाई पनि खासै फाइदा छैन, महँगो ढुवानी भाडा तिरेर ल्याएको मासु बत्तीको समस्याले फ्रिजमै कुहिने समस्या हुन्छ,’ उनले भने, ‘जहाजले सजिलैसित मासु ढुवानी गर्न मान्दैनन्, उता पनि कम्तीमा १/२ दिन डिप फ्रिजमा राख्न लगाउनुपर्छ ।’ सुर्खेतबाट बंगुरको मासु पनि ठूलो परिमाणमा हुम्लामा जाने गरेको छ । उनले ३ क्विन्टलसम्म बंगुरको मासु हुम्ला आउने गरेको बताए ।

डोल्पामा पनि जहाजबाटै ब्रोइलरको मासु गइरहेको छ । एक दशकदेखि डोल्पा सदरमुकाम दुनैमा मासु पसल गर्दै आएका खिमबहादुर सिंहले दैनिक ३० किलोसम्म ब्रोइलर बिक्री गर्छन् । ‘भनेको समयमा जहाज आएन भने पोको पारेर पठाएको मासु डोल्पा पुग्दा बिग्रिसकेको हुन्छ,’ उनले भने, ‘यहाँ खसी–बोका पाइँदैन, ब्रोइलरकै मासुको भर छ ।’ सदरमुकामसम्म सडक सुविधा भए पनि जिउँदो ब्रोइलर ल्याउँदा बाटैमा मर्ने जोखिम हुने गरेकाले जहाजबाटै मासु आइरहेको उनले बताए । डोल्पामा ६ सय ५० र मुगुमा ६ सय रुपैयाँ प्रतिकिलोमा ब्रोइलरको मासु बिक्री भइरहेको छ । कर्णाली प्रदेशको पशुपन्छी विकास महाशाखाका अनुसार सुर्खेत र नेपालगन्जबाट हुम्ला, मुगु र डोल्पामा दैनिक १० देखि १५ क्विन्टल मासु जहाजमा गइरहेको छ । महाशाखाका अनुसार ३ जिल्लामा बंगुर र खसीको मासु पनि जहाजबाट दैनिक ५ क्विन्टलसम्म तराईबाट गइरहेको छ । मुगुमा सडकको अवस्था राम्रो नहुँदा जहाजबाटै मासु आउने व्यापारी परेक शाहीले बताए । उनका अनुसार स्थानीय तहले मासुको व्यवस्थापनमा ध्यान नदिँदा स्थानीयलाई साता दिनसम्म फ्रिजमा राखेको मासु खानुपर्ने बाध्यता छ । ‘यहाँ आउने मासु कति दिन त नेपालगन्ज र सुर्खेतमै फ्रिजमा राखिन्छ,’ उनले भने, ‘एक त प्लेन आउँदैन, आए पनि मासु ल्याउन मान्दैनन् ।’

तराईबाट ल्याइएको मासु बासी हुने भएकाले खाँदा पनि स्वादिलो नहुने स्थानीयको गुनासो छ । अदानचुलीबाट सिमकोटमा अध्ययनका लागि आएका सर्जन बुढाले मासु तेलमा राख्दाराख्दै धुलिने बताए । ‘धेरै दिन फ्रिजमा राखेकाले होला राम्रोसँग पकाउन मिल्दैन, टुक्रिन्छ,’ उनले भने, ‘त्यसैले कोठामा ल्याएको मासु ग्रेभी बनाएर खाँदैनौं, फ्राई गरेर मात्र खान मिल्छ ।’ धेरै दिन फ्रिजको चिसोका कारण मासुको स्वादै मरिसकेको हुने उनले गुनासो गरे ।

सिमकोटस्थित मानवसरवर होटलका सञ्चालक चिन रावतले तालिम–गोष्ठीमा सस्तो पर्ने भएकाले ब्रोइलरको मासु नै धेरै बिक्ने गरेको बताए । उनका अनुसार हुम्लामा चिसोका कारण खसी पालिँदैन । खसीको मासु १२ सय रुपैयाँ प्रतिकिलो पर्ने उनले बताए । सिमकोट गाउँपालिकाका पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीले सिमकोट विमानस्थलमा दैनिक ३ देखि ४ सय किलो ब्रोइलरको मासु झर्ने गरेको बताए । ‘कतिपयले त परीक्षणै नगरी फर्जी रिपोर्ट देखाएर मासु ल्याइरहेका छन्,’ उनले भने, ‘हामीसँग मासुको गुणस्तर मापन गर्ने उपकरण छैन, त्यसैले केही गर्न सकेका छैनौं ।’

प्रकाशित : आश्विन ७, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारपीडितलाई न्याय पाउनै मुस्किल

कर्णालीमा एक वर्षमा १ सय ५५ मुद्दा दर्ता भएकोमा १८ जनालाई मात्रै कैद
ज्योति कटुवाल

सुर्खेत — गत वर्ष साउन ४ गते वीरेन्द्रनगर–१० की ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भयो । करणी भएको दिनदेखि परिवारले उनलाई अहिलेसम्म औषधिमूलो गरिरहेको छ । ‘नानीको मानसिक अवस्था एकदमै कमजोर छ,’ उनका बाबुले भने, ‘कमजोर भएपछि हिँडडुल गर्न पनि सक्दैनिन्, हामीले लामो समयदेखि न्याय पाउन सकेनौं, प्रहरीले अभियुक्तलाई पक्रिए पनि अदालतले मुद्दा फैसला गर्न ढिलाइ गर्दा हामी छटपटीमा छौ ।’ बालिकालाई छिमेकका ३९ वर्षीय हेमलाल नेपालीले जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साउन पहिलो हप्ता वीरेन्द्रनगरका १४ वर्षीया किशोरले पञ्चपुरी र वीरेन्द्रनगर पालिकाका ६ जना बालिकाहरूलाई बलात्कार गरे । बलात्कारको आरोपमा प्रहरीले उनलाई प्रकाउ गरी बालसुधार गृहमा राखेको छ । ५ देखि ७ वर्षसम्मका ६ बालबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले प्रकाउ गरेको हो । ‘अदालतले फैसला नगर्दा पीडामाथि पीडा छ,’ बलात्कृत एक बालिकाकी आमाले भनिन्,‘छिटो फैसला भएको पो हामीलाई न्यायको अनुभूति हुन्थ्यो, ढिलो न्याय पाउनु हाम्रा लागि न्याय नपाउनुजस्तै हो ।’

कर्णालीमा बलात्कारका घटना दैनिकजसो घटिरहेका छन् । एक वर्षको अवधिमा १ सय ५५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । जसमा सुर्खेतमा ५९ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीले कतिपय घटना सुनिए पनि छानविन गर्न खोज्दा गाउँघरमा मिलिसकेको हुने बताए । ‘हामी जतिसक्दो पीडितलाई न्याय दिने कोसिस गरेका हुन्छौं,’ उनले भने, ‘तर पीडक नै बयान दिन हतोत्साहित हुँदा कानुनी प्रक्रियामा ल्याउन समस्या भइरहेको छ ।’

बलात्कार पीडितले न्याय त पाएका छैनन् नै, आरोपीलाई खोज्न प्रहरीले नै बेवास्ता गरिरहेको छ । २ महिनाअघि दैलेखको चामुण्डावीन्दैसैनी नगरपालिका–१ चापागाँउकी १७ वर्षीया बालिकालाई सुर्खेतका २६ वर्षीय गणेश बिकले ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरे । तर घटनायता उनी फरार छन् । पीडितका आफन्तले हुर्कदै गरेकी बालिकाको जीवन बर्बाद भए पनि प्रहरीले बेवास्ता गरिरहेको गुनासो गरेका छन् । ‘प्रहरीले बास्तै गरेन, हामीले कहिल्यै न्याय नपाउने भयौं,’ बालिकाका बाबुले कान्तिपुरसित भने, ‘कम्तीमा पीडकलाई पक्राउ गरे मात्रै पनि हामीले न्यायको महसुस गर्ने थियौं ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखमा १९, जाजरकोटमा ७, सल्यानमा २६, कालिकोट ९, जुम्ला ११ र रुकुम पश्चिममा १३ जनामाथि एक वर्षको अवधिमा बलात्कार भएको छ । मुगु, डोल्पा र हुम्लामा भने ३ देखी ६ वटा मात्र मुद्दा दर्ता भएका छन् । प्रहरीको विषलेषणात्मक तालिका हेर्न हो भने भदौ, अषाढ र फागुनको महिनामा धेरै बलात्कारका घटना भएका छन् भने आइतबार, विहिबार र शनिबार करणीका घटना धेरै घटेको पाइएको छ । करणीमा पर्ने उमेर समूह १ देखि १८ वर्षसम्मका ५२, १९ देखि ३५ वर्षसम्मका ६९ र ३५ देखि ५९ वर्षका २७ जनामाथि बलात्कार भएको छ भने ६० माथिका ७ जना छन् । करणीमा पर्ने पीडितको शैक्षिक योग्यता भने सामान्य लेखपढ मात्रै रहेको प्रहरीको तथ्यांक छ । करणी पर्नेमा धेरै दलित र क्षेत्री धेरै छन् । एक वर्षको अवधिमा बलात्कृत भएका ३ जनाको मृत्यु भइसकेको छ । १ जना गम्भीर घाइते छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले अविवाहितहरू नै धेरै बलात्कारमा परेको जानकारी दिए । उनका अनुसार १ वर्षका तथ्यांकमा धरौटी र साधारण तारेखमा धेरै छुटेका छन् भने १८ जनालाई मात्र कैद सजाय भएको छ । ‘मुद्दाको प्रकृति र जाहेरी अध्ययन गर्दा यौन प्यास मेटाउनलाई धेरैले बलात्कार गरेको देखिन्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा भएका बलात्कारका घटना त हामीकहाँ आएकै छैनन्, आए पनि अदालतले फैसलामा ढिलाइ गर्दा पीडितहरू झन् पीडित भइरहेका छन् ।’

होस्टाइलका कारण पनि बलात्कार पीडितले न्याय पाउन नसकेको अधिवक्ता गणेश हमालले बताए । ‘पहिले मुद्दा दिन्छन्, पीडितलाई अदालतमा बयान दिने क्रममा विभिन्न प्रलोभन र धाकधम्की दिएपछि उनीहरू होस्टाइल हुन्छन्,’ उनले भने, ‘अदालतले पनि उनीहरूको बयानकै आधारमा पीडितलाई उन्मुक्तिको फैसला सुनाउँछ ।’ जुम्लाका प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले अशिक्षा र कानुनी सचेतनाको अभावमा पनि महिला तथा बालबालिकामाथि बलात्कारका घटना हुने गरेको बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा हुने धेरै घटना प्रहरीमा आउन नदिइ बाटैमा राजनीतिकरण भइरहेको छ । ‘हामीकहाँ त बढीमा एक तिहाइ घटना मात्र आउने गरेका छन्,’ उनले भने, ‘महिलामाथि हुने अधिकांश घटनाहरूलाई समाजले समान्यरुपमा लिइरहेको छ ।’ उनले सामान्य तारिख र धरौटीमा पीडकहरू छुट्दा पीडितहरू झनै पीडित हुने गरेको बताए । प्रदेश प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले पीडकलाई जतिसक्दो छिटो न्याय दिन प्रहरीको तर्फबाट पहल भइरहेको बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×