ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु- समाचार - कान्तिपुर समाचार

ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु

सुवास विडारी, हरि गौतम, काशीराम डाँगी

मकवानपुर‚ रुकुम पूर्व — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना २६ जना घाइते भएका छन् ।

३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो । बिहीबार अबेरसम्म मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश भारतीय नागरिक थिए । घाइतेमध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा एसपी वामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर उद्धार गरेको थियो । मकवानपुर भीमफेदीसम्मको सडक खण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । बनेपा–नेपालथोक चल्ने मिनीबस काठमाडौंबाट वीरगन्ज जान फर्पिङ–भीमफेदी सडक खण्ड प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हो ।

बनेपा–नेपालथोक चल्ने मिनीबसका चालक तथा सहचालकलाई बाटोको जोखिमबारे जानकारी नहुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परी दुई बालक सामान्य घाइते भएका छन् ।

बसमा सहयोगीका रूपमा यात्रा गरिरहेका काभ्रेका हरि भुजेलका अनुसार बनेपा–नेपालथोक चल्ने सवारी काठमाडौंमा दलालले रिजर्भ गरेर उक्त रुट हुँदै वीरगन्ज पठाएको थियो । उनले आफू घुम्न भनेर चालक विष्णु स्याङ्तानसँग आएको बताए । चाडपर्वका समयमा दलालहरूले साना सवारीसाधन चल्ने यो रुटमा मिनीबस पनि चलाउने गरेका छन् । दुर्घटनामा घाइते रौतहटका समिम मियाँले भीमफेदीको देउरालीमा खाजा आएपछि चालक परिवर्तन भएको बताए । ‘स्पिड कुदाएर कन्ट्रोल मोडमा गर्न नसक्दा बस पल्टियो,’ हेटौंडा अस्पतालको भुइँमा उपचाररत मियाँले भने ।

यसैगरी, काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको बस रुकुम पूर्वमा बिहीबार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ग१ख ९१०९ नम्बरको बस भूमे–३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा १७ जना सवार थिए । ५ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ४ जनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा बाँकेको कोहलपुर लगिएको छ । आठ जनाको स्थानीय जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको डीएसपी प्रकाश डाँगीले बताए । घटनास्थलमा तत्काल प्रहरी पुगेको र सेना एवं स्थानीयले पनि घाइतेको तत्काल उद्धार गरेर बचाउन सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरा आचार्यले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा–८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने–६ का २ वर्षीय सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्का छन् । बसका चालक रामेछापका २६ वर्षीय लीलाभक्त श्रेष्ठको पनि निधन भएको प्रहरीले जनाएको छ । ब्रेक नलागेर चालकले बसको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए । दुर्घटनालगत्तै उद्धार गरिए पनि २ वर्षका बालक र बुद्धिमानको मृत्यु जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा भएको थियो । अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि गम्भीर घाइतेलाई उद्धार गर्न सुर्खेतबाट सेनाको हेलिकोप्टर पूर्वी रुकुम पुगेको थियो । हेलिकोप्टरबाट सिस्ने–६ का ३६ वर्षीय लालबहादुर खड्का, ६ वर्षीय साइमान खड्का र १९ वर्षीया निरुता थापा, पश्चिम रुकुमको आठबीसकोट–१३ का ३५ वर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए ।

मध्यपहाडी लोकमार्गको खबाङ–रुकुमकोट खण्डमा सिधा सडकमा गुडिरहेको बस सडकबाट करिब ५० मिटर खसेको थियो । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारी सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ । 

कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको हो ।

यही असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहलगायत सबै सार्वजनिक निकायलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७९ २२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×