ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु

मकवानपुर‚ रुकुम पूर्व — ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना २६ जना घाइते भएका छन् ।

ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु

३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो । बिहीबार अबेरसम्म मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश भारतीय नागरिक थिए । घाइतेमध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा एसपी वामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर उद्धार गरेको थियो । मकवानपुर भीमफेदीसम्मको सडक खण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । बनेपा–नेपालथोक चल्ने मिनीबस काठमाडौंबाट वीरगन्ज जान फर्पिङ–भीमफेदी सडक खण्ड प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हो ।

बनेपा–नेपालथोक चल्ने मिनीबसका चालक तथा सहचालकलाई बाटोको जोखिमबारे जानकारी नहुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परी दुई बालक सामान्य घाइते भएका छन् ।

बसमा सहयोगीका रूपमा यात्रा गरिरहेका काभ्रेका हरि भुजेलका अनुसार बनेपा–नेपालथोक चल्ने सवारी काठमाडौंमा दलालले रिजर्भ गरेर उक्त रुट हुँदै वीरगन्ज पठाएको थियो । उनले आफू घुम्न भनेर चालक विष्णु स्याङ्तानसँग आएको बताए । चाडपर्वका समयमा दलालहरूले साना सवारीसाधन चल्ने यो रुटमा मिनीबस पनि चलाउने गरेका छन् । दुर्घटनामा घाइते रौतहटका समिम मियाँले भीमफेदीको देउरालीमा खाजा आएपछि चालक परिवर्तन भएको बताए । ‘स्पिड कुदाएर कन्ट्रोल मोडमा गर्न नसक्दा बस पल्टियो,’ हेटौंडा अस्पतालको भुइँमा उपचाररत मियाँले भने ।

यसैगरी, काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको बस रुकुम पूर्वमा बिहीबार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ग१ख ९१०९ नम्बरको बस भूमे–३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा १७ जना सवार थिए । ५ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ४ जनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा बाँकेको कोहलपुर लगिएको छ । आठ जनाको स्थानीय जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको डीएसपी प्रकाश डाँगीले बताए । घटनास्थलमा तत्काल प्रहरी पुगेको र सेना एवं स्थानीयले पनि घाइतेको तत्काल उद्धार गरेर बचाउन सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरा आचार्यले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा–८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने–६ का २ वर्षीय सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्का छन् । बसका चालक रामेछापका २६ वर्षीय लीलाभक्त श्रेष्ठको पनि निधन भएको प्रहरीले जनाएको छ । ब्रेक नलागेर चालकले बसको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए । दुर्घटनालगत्तै उद्धार गरिए पनि २ वर्षका बालक र बुद्धिमानको मृत्यु जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा भएको थियो । अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि गम्भीर घाइतेलाई उद्धार गर्न सुर्खेतबाट सेनाको हेलिकोप्टर पूर्वी रुकुम पुगेको थियो । हेलिकोप्टरबाट सिस्ने–६ का ३६ वर्षीय लालबहादुर खड्का, ६ वर्षीय साइमान खड्का र १९ वर्षीया निरुता थापा, पश्चिम रुकुमको आठबीसकोट–१३ का ३५ वर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए ।

मध्यपहाडी लोकमार्गको खबाङ–रुकुमकोट खण्डमा सिधा सडकमा गुडिरहेको बस सडकबाट करिब ५० मिटर खसेको थियो । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?