कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाँच वर्षसम्म मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद : पत्रकार महासंघ

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुँदासमेत नेपाल मिडिया काउन्सिल विधेयक जारी नभएको भन्दै दुःख व्यक्त गरेको छ । महासंघले सरकारले प्रतिनिधिसभाको सिंगो कार्यकाल बित्दासमेत विधेयक पास हुन नसकेको भन्दै विधेयकलाई टार्ने गरी भएका प्रयासप्रति खेद प्रकट गरेको हो ।

पाँच वर्षसम्म मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद : पत्रकार महासंघ

भक्तपुरको नगरकोटमा बसेको महासंघको केन्द्रीय समिति बैठकले महासंघका सुझावहरूसमेत समेटिएको विधेयक अगाडि बढाउन सरकार सहमत भएर पनि प्रतिनिधिसभाबाट पास हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेको हो ।

महासंघले आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न राजनीतिक दलहरूको प्रतिवद्धता खोजेको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा घोषणापत्र/प्रतिबद्धतापत्र निर्माणमा लागेका सबै राजनीतिक दललाई प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गर्न र निर्वाचित भएपछि पनि सोहीअनुसारको व्यवहार गर्न तथा नीति निर्माणका लागि माग गर्दछ,’ बैठकपछि घोषणापत्र जारी गर्दै महासंघले भनेको छ ।

महासंघले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि प्रस्तुत नागरिकता विधेयक प्रमाणीकरण नगरेको घटना र त्यसपछि भएका प्रतिक्रियात्मक घटनाहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै संविधानको मर्म र भावनालाई ख्याल गर्न र त्यहीअनुसार समस्याहरुको सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

महासंघले आगामी पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वार्षिक साधारण गर्ने निणय गरेको छ भने पत्रकार आचारसंहिताको पूर्ण परिपालनामा ध्यान दिन आग्रह गर्दै आचारसंहिता पालना गराउन ‘हाम्रो लागि, हाम्रो आचारसंंहिता अभियान’ थाल्न शाखाहरूलाई निर्देशन गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?