कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'थापा मुलुकको भूराजनीति र आन्तरिक राजनीति बुझेर काम गर्ने नेता हुनुहुन्थ्यो'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति भएको र उनको जीवनबाट धेरै कुरा सिक्न सकिने बताएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरूले पनि पाँच पटक प्रधानमन्त्री  बनेका थापाको जीवनबारे आफ्ना धारणा राखेका छन् । 

'थापा मुलुकको भूराजनीति र आन्तरिक राजनीति बुझेर काम गर्ने नेता हुनुहुन्थ्यो'

सूर्यबहादुर थापाको 'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री' पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिलाई सञ्चालन गर्न थापा सफल भएको बताए । 'पञ्चायतकालमा मात्रै नभएर बहुदलीय व्यवस्थामा पनि प्रधानमन्त्री भएका उहाँ कुशल व्यक्तित्व हुनुहुन्थ्यो । मुलुकको भूराजनीति र आन्तरिक राजनीति पनि बुझेर काम गर्ने नेता हुनुहनुथ्यो,' थापाबारे प्रधानमन्त्री देउवाले भने, ‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो । आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो । उहाँको जीवनकालमा मुलुकमा धेरै सकारात्मक कामहरू भए । मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो ।'

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनबाट जतिसुकै उतारचढाव आए पनि मानिसहरूले धीरता छाड्न हुँदैन भन्ने शिक्षा लिन सकिने बताए । 'राजनीतिक मुद्दाको दृष्टिकोणले हामी सबैले बुझेकै कुरा हो; हामी नदीका दुई किनाराजस्ता भएर गयौं । फेरि पनि एकअर्काको भूमिका र महत्त्व फरक भयो । संविधानसभासम्म आइपुग्दा सूर्यबहादुरजीले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुभयो,' उनले भने ।

पञ्चायतको ड्राफ्ट लेख्ने थापाले राजनीतिक जीवनको उत्तरार्द्धमा अभिभावकीय भूमिका निर्वाह गरेको पनि दाहालको भनाइ थियो । थापाले माओवादीबारे पुस्तकमा उल्लेख गरिएका कुरा भने तथ्यभन्दा बाहिरको भएको दाहालको टिप्पणी थियो ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री थापा उदार सोच र सरल व्यवहार भएका नेता भएको बताए । पाँचपटक प्रधानमन्त्री भए पनि थापामा कुनै अहंकार आफूले नभेटेको नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले थापाको जीवनबाट शिक्षा लिनुपर्ने बताए । 'सूर्यबहादुर थापाको पुस्तकले नेपाली जनतालाई पनि शिक्षा दिनेछ । शिक्षा सकारात्मक मात्रै हुँदैन । नकरात्मक पनि हुन्छ । उहाँको जीवनको ग्राफ हेर्दा सुरुमा अलि माथिमाथि, १७ र ४६ सालको बीचमा तल गएको र त्यसपछि माथि गएको देखिन्छ,' उनले भने, 'पछिल्लो दिनमा भने गणतन्त्रको पक्षधर, संविधानसभामा रहेर संविाधन निर्माणमा पनि भूमिका खेलेर जानुभएको छ ।'

प्रकाशित : आश्विन ६, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?