कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

म्यादी बन्ने लाइनमा आमाहरू

घर खर्च चलाउन सजिलो हुने हिसाब गरेर बच्चा बोकेरै फाराम भर्दै 

पर्सा, अछाम — पर्साको विन्दवासिनी गाउँपालिका–१ गर्दौलकी ५२ वर्षीया रामसखीदेवी बिनले बुधबार छिमेकीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिइन् । चार/चार छोराछोरीकी आमा र हजुरआमा रामसखी आफूले हस्ताक्षर मात्रै गर्न सक्छिन् । २०७४ को आमनिर्वाचनमा पनि म्यादी बन्न फाराम भरेकी थिइन् । त्यसबेला परिवारको अनुमति नपाएपछि जाँच दिइनन् । 

म्यादी बन्ने लाइनमा आमाहरू

‘बिहीबारसम्म अन्तिम म्याद रे, त्यसैले आज फाराम भर्न आएँ,’ उनले भनिन्, ‘यस पटक पति र छोराबुहारी सबैको सहमतिमै आएकी छुँ ।’ उनीसँगै भेटिएकी बाराको जितपुर–सिमरा–८ गढीमाईकी ३३ वर्षीया उर्मिलादेवी पनि उत्साहित देखिन्थिन् । ‘पहिलो पटक म्यादीमा भर्ना हुन आएकी हुँ,’ उनले भनिन्, ‘अब ४० दिनसम्म चार छोराछोरी र घर पतिको जिम्मा लगाएकी छु । कमाइ हुने भएकाले एक पटक प्रयास गरौं भनेर आएँ ।’

उर्मिलाले यसो भनिरहँदा छेउमै उभिएका उनका श्रीमान् नन्दलाल राय मुसुमुसु हाँस्दै थिए । उनी घर बनाउने मिस्त्री पेसा गर्छन् । उर्मिलाले अवसर पाए आफूलाई खुसी लाग्ने उनले सुनाए । ‘मेरो पूरै समर्थन र सहयोग छ,’ उनले भने, ‘महिला घरबाट बाहिर निस्कनै हुँदैन, बाहिर काम नै गर्न हुँदैन भन्ने सोच अब पुरानो भइसक्यो । महिला र पुरुष बराबर हुन्, घरव्यवहारको रथ दुवैले ताने जीवन सहज हुने रहेछ ।’

पर्सामा म्यादी प्रहरीमा भर्ना हुन आएकी उर्मिला देवी श्रीमान् नन्दलालका साथ । तस्बिर : शंकर आचार्य/कान्तिपुर

विन्दवासिनी–१ गर्दौलकी ४६ वर्षीया गिरिजा बिनले पनि म्यादीको आवेदन दिएकी छन् । ‘पहिलो पटक म्यादीमा भर्ना हुन आएकी छु,’ पाँच छोराछोरीकी आमा बिनले भनिन्, ‘अहिले खेतीपातीको चटारो छैन, पतिले घरव्यवहार सम्हाल्छु भन्नुभएको छ । धान भित्र्याउने बेलासम्म चुनाव पनि सकिन्छ ।’

साधारण लेखपढसम्म गर्न सक्ने उनले आवेदन फाराममा हस्ताक्षरसम्म गरिन् । यसअघि तीन पटक म्यादी बनिसकेकी उनकी छिमेकी ४८ वर्षीया सिसकुमारीले पनि आवेदन दिएकी छन् । तीन छोराछोरीकी आमा उनलाई पहिले जस्तो चुलोचौकाको दैनिकीको भार छैन । ‘श्रीमान् र छोराबुहारीले घर सम्हालेका छन्, मलाई अहिले केही चिन्ता छैन,’ उनले भनिन्, ‘यस पटक पनि म्यादीमा अवसर पाइन्छ भनेर आएँ, हामी जस्ता साधारण लेखपढ गरेकालाई ४० दिन काम गरेर राम्रै पैसा आउँछ ।’

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज ३० देखि म्यादी प्रहरीको आवेदन खुला गरिएपछि सातायता जिल्ला प्रहरी कार्यालय परिसरमा फाराम भर्नेको भीड लागेको हुन्छ । प्रायः पुरुष उम्मेदवारले भरिने आवेदनस्थलमा महिलाको चाप पनि उत्तिकै देखिन्छ । १८ देखि ५५ वर्षसम्मका हजुरबुवा–हजुरआमासमेत म्यादी बन्ने दौडमा छन् ।

सामाजिक अभियन्ता प्रकाश थारू तराईमा यसरी महिला र आमा/ हजुरआमा भइसकेकाको म्यादीमा आकर्षण हुनु उत्साहजनक रहेको बताउँछन् । ‘यसले तराईको समाजमा देखिएको परिवर्तनलाई पनि संकेत गर्छ,’ उनले भने, ‘तराईका महिला अब घुम्टो हटाएर चुलोचौकाको दायरा बाहिर आउन चाहिरहेका छन्, यसमा सबैको साथ र सहयोग पनि आवश्यक छ ।’

जिल्ला प्रहरी पर्साका डीएसपी निर्मल बुढाथोकी यसपालि म्यादी बन्न महिलाको आकर्षण बढेको बताउँछन् । आवेदन दिने म्याद सकिन लागेकाले झनै भीड बढेको उनले बताए । पर्सामा मंगलबारसम्म परेका ५ हजार ७ सय १८ आवेदनमध्ये १ हजार ५४ महिला छन् । ‘जिल्लाको संख्या निर्धारण गरेर नआए पनि २ हजार हाराहारी म्यादी भर्नाको कोटा तोकिने सम्भावना छ,’ उनले भने, ‘सात हजार हाराहारी निवेदन पर्ने अनुमान छ ।’ यसअघि म्यादीमा काम गरिसकेकालाई प्राथमिकता दिएर अन्तर्वार्ता मात्र लिने नीति रहेको उनले बताए ।

बच्चा च्यापेरै आवेदन दिनेको लर्को

एक हातले काखमा डेढ वर्षको बच्चा र अर्को हातमा कागजात बोकेकी एक महिला बुधबार अछाम जिल्ला प्रहरीको गेट अगाडि ठूलो भीडमा लाइन बसिन् । म्यादी प्रहरीमा दरखास्त दिन पालो पर्खिरहेकी उनलाई काखको बच्चाले सताउन थाल्यो । आफूभन्दा पछाडि बसेकालाई ‘बच्चालाई दूध खुवाउन बस्छु है, मेरो सिटमा अरूलाई बस्न नदिनु होला’ भनिन् ।अछामको पञ्चदेवल विनायक–६ की धनशोभा रावलले त्यसपछि छेउमा बसेर छोरीलाई दूध चुसाउन थालिन् ।

अछामका ग्रामीण भेगबाट म्यादी प्रहरीमा दरखास्त दिन सदरमुकाम आएका युवा । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

घरखर्च चलाउनै सकस भएपछि जेठी छोरी छिमेकीको जिम्मा छाडेर सानी छोरी च्याप्दै उनी म्यादी बन्न आएकी हुन् । गाउँबाट जिल्ला प्रहरीमा पुग्न लाग्ने एक हजार गाडी भाडा बल्लतल्ल जुटाएकी थिइन् । ‘जेठी छोरी र गाईबस्तु छिमेकीको जिम्मा छोडेर आएँ । गाडीभाडा नभएर हिजोअस्ति आउन सकिएन,’ उनले भनिन्, ‘श्रीमान् पहिले बम्बै जान्थे, कोरोनाले घर फर्केपछि जान सकेनन् । ४० दिनमात्रै भए पनि काम पाइन्छ कि भनेर यहाँ आए ।’

गाउँछिमेकमा मिस्त्री काम पाएका बेला श्रीमान् पनि बाहिर हुने भएकाले घर छिमेकीको जिम्मा छाडेकी हुन् । उनलाई म्यादी छनोट नभए आउँदाजाँदा लिएको ऋण थपिने चिन्ता छ । गाउँबाट आफू जस्ता धेरै महिला यसपालि म्यादी प्रहरीमा दरखास्त दिन आएको उनले बताइन् ।

गत साताको बाढीपहिरोले अछामका ग्रामीण सडक अवरुद्ध हुँदा पैदल हिँडेर सदरमुकाम पुग्ने युवायुवतीको ताती देखिन्छ । गत स्थानीय तह निर्वाचनमा म्यादी बनेका रामारोशन–७ सुतारका रमेश परियार चार महिना नबस्दै भारतबाट घर फर्केका छन् । तीन भाइबहिनीको पढाइ खर्च जुटाउन कामको खोजीमा भारत गएका उनी फेरि म्यादीको भर्ना खुलेपछि सोमबार घर फर्केका हुन् । ‘देशको सेवा गर्न भन्नु त त्यस्तै हो । अलिकति कमाएर खर्च चलाउन सहज हुन्छ कि भनेर आएँ,’ उनले भने ।

सदरमुकामको एक होटलमा दाउरा बेचेर पाँच सन्तानसहितको खर्च चलाउने मंगलसेन–३ की २४ वर्षीया निर्मला बोगटीले पनि म्यादीमा दरखास्त दिएकी छन् । ‘श्रीमान् एक्लैले परिवारको भार उठाउन सकेनन् । कहिले गिट्टी कुटेर, कहिले दाउरा बेचेरै गुजारा चल्यो,’ उनले भनिन्, ‘घर खर्च चलाउन सजिलो होला भनेर भर्ना हुन आएकी हुँ ।’ अछाममा मंगलबारसम्म २ सय ६० महिलासहित ८ सय ३६ जनाले म्यादी बन्न दरखास्त फाराम भरेका छन् ।

म्यादी प्रहरीले ४० दिन काम गरेबापत दैनिक ८ सय ६९ दरले ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक, ७ हजार २ सय रुपैयाँको रासन, ६ हजारको पोसाक, तयारी खर्च १ हजार, मतदानका बेला ४ दिनको दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च पाउनेछन् ।

प्रकाशित : आश्विन ६, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?