कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ — चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेको १० औं दिनमा उनी आफ्नै खर्चमा काठमाडौं आएका हुन् । अस्पताल भर्ना भए पनि अनशन जारी रह्ने उनका सहयोगी डा. अमृत जैसीले बताए । सरकारले मंगलबार नै नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर काठमाडौं ल्याउन खोज्दा उनले अस्वीकार गरेका थिए । जैसीकाअनुसार डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आएका हुन् ।

अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति झन्‌ झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकहरुले पेटमा कडा खालको अल्सर भएको आशंकासमेत गरेका छन् ।

अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको थियो । उनी भर्ना भएपछि उपचार सुरु गरिएको शिक्षण अस्पतालले जनाएको छ ।

त्यस्तै सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच आइतबार र मंगलबार काठमाडौं वार्ता भएको थियो । तर कुनै सहमति जुट्न सकेको छैन । ती वार्तामा सरकारी वार्ता टोलीले आन्तरिक छलफलका लागि थप समय मागेको थियो । बुधबार वार्ताका लागि सरकारी टोलीले खबर नै नगरेको केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले बताए । ‘फेरि बस्ने कुरा त भएको छ, तर सरकारी टोलीले कहिले बोलाउँछ थाहा छैन,’ उनले भने ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् । केसी पक्षले वार्ता टोलीमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी सदस्य छन् । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेपछि सरकारले उनीसँग सहमति गर्न वार्ता टोली बनाएको हो ।

देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरु उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराईपर्ने माग अघि सारेका छन् ।

२०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल संचालन गरिनुपर्ने उनको माग छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन् ।


प्रकाशित : आश्विन ५, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?