अधिवक्ता सिंह राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर सर्वोच्चमा - समाचार - कान्तिपुर समाचार

अधिवक्ता सिंह राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर सर्वोच्चमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरन्जन सिंह राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका छन् । संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सिंहले सर्वोच्चमा बुधबार रिट पेस गरेका हुन् ।

तर, सर्वोच्चले परामर्श गरेर मात्रै रिट दर्ता गर्ने वा नगर्ने विषयमा जानकारी दिने बताएको अधिवक्ता सिंहले कान्तिपुरलाई बताए ।

'राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरिएको विषयमा सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ताका लागि पेस गरेका छौं । सर्वोच्चको प्रशासनले दर्ता गर्ने/नगर्ने सम्बन्धमा भोलि (बिहीबार) जानकारी गराउने जनाएको छ,' सिंहले भने ।

अधिवक्ता सिंहको रिट सर्वोच्चका सहरजिष्टार विमल पौडेलले लिएका छन् ।

सरकारको प्रस्तावमा संघीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी छन् । संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने विषयमा राष्ट्रपतिको भूमिकासम्बन्धी व्यवस्था छ । उपधारा (२) मा भनिएको छ, ‘राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ ।’ तर संसद्बाट आएको विधेयक पुनर्विचार हुनुपर्छ भन्ने लागेमा राष्ट्रपतिलाई त्यस्तो अधिकार पनि संविधानले दिएको छ, जसका लागि उपधारा (३) मा भनिएको छ, ‘विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ ।’ नागरिकता संशोधन विधेयकमा असन्तुष्ट राष्ट्रपतिले यसअघि १५ औं दिनमा संसद्मा फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन गर्नैपर्ने बाध्यता संसद्लाई हुँदैन, तर दोस्रो पटक पनि पारित भएर आएको विधेयक प्रमाणित गर्नैपर्ने बाध्यता भने राष्ट्रपतिलाई हुन्छ । उपधारा ४ ले स्पष्ट भनेको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

संसद्बाट दोस्रो पटक पनि पारित भएर आएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधानविद्हरू पनि स्तब्ध भएका छन् भने विभिन्न क्षेत्रबाट राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन र आलोचना हुन थालेका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसी काठमाडौं प्रस्थान

अर्जुन शाह

धनगढी — ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन् ।

श्री एयरलायन्सको विमानबाट साँझ पौने पाँच बजेको उडानमा दुुई जना स्वास्थ्यकर्मीसहित उनी काठमाडौं प्रस्थान गरेको सेती प्रादेशिक अस्पतालका प्रमुख डा. हेमराज पाण्डेले बताए । धनगढीमा अनशन बसेका बेला डा. केसीका सहयोगीका रुपमा काम गरेका प्रमोद पाठकका अनुसार डा. केसीले आफ्ना शुभचिन्तकहरूको आग्रहमा आफैंले टिकट काटेर काठमाडौं जान तयार भएका थिए । ‘राज्यलाई कुनै भार नपार्ने र आफ्नै खर्चमा जाने बताउनुभयो‚’ उनले भने । डा. केसीलाई सेती प्रादेशिक अस्पतालकै एम्बुलेन्समा धनगढी विमानस्थल पुुर्‍याइएको अस्पतालले जनाएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाएर उनलाई काठमाडौं लैजान प्रयास गरेको भए पनि जान नमानेपछि स्काई ट्रक रित्तै फर्किएको थियो ।

सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएपछि काठमाडौं लैजाने प्रयास गरेको थियो । अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई बहुुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्नुपर्ने बताएको थियो ।

उनको धड्कनमा गडबडी, पेट दुुख्ने, दिशा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी बाउडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वासदर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएकोलगायत समस्याहरू देखा परेको र पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको अस्पतालले उल्लेख गरेको छ ।

उनको स्वास्थ्यमा थप जटिलताहरू उत्पन्न हुन सक्ने भन्दै प्रादेशिक अस्पतालले उनको स्थानान्तरणको पहलका लागि स्वास्थ्य मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रशासन कार्यालयमा समेत अनुरोध गरेको थियो । मंगलबार उनलाई विशेष सुुरक्षा व्यवस्थाका साथ धनगढी विमानस्थलसम्म लैजाने भन्दै प्रहरीको टोली सेती अस्पताल पुुगेको थियो । त्यस क्रममा धनगढी बजार क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । चोकमा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी खटाइएको भए पनि डा. केसीले जान नमानेपछि सबै फर्किएका थिए ।

स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग राख्दै गत सोमबारदेखि डा. केसीले धनगढीको एलएन चोकस्थित कृष्ण मन्दिरमा आमरण अनशन सुरु गरेका थिए । सत्याग्रह सुरु गरेको दोस्रो दिन नै उनको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७९ १७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×