सिट बाँडफाँटमा कांग्रेसलाई माओवादी र एसको ताकेता

बबिता शर्मा

काठमाडौँ — आसन्न आम निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँट छिटो टुंगो लगाउन माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।

सिट बाँडफाँटमा कांग्रेसलाई माओवादी र एसको ताकेता

कांग्रेसको आन्तरिक विवादका कारण सिट बाँडफाँटमा ढिलाइ भएको भन्दै उनीहरूले असोज दोस्रो साताभित्रै टुंगो लगाउन ताकेता गरेका हुन् । कांग्रेसले भने अन्य दलबाट हैसियतभन्दा बढी सिट खोजिएपछि समस्या भएको दाबी गरिरहेको छ ।

कांग्रेसले अन्तिम समयमा आफूहरूमाथि दबाब बनाएर सिट बाँडफाँट गर्ने रणनीति अपनाएको आशंका माओवादी र एकीकृत समाजवादीले गरिरहेका छन् । ‘आन्तरिक विवाद देखाएर कांग्रेसले सिट बाँडफाँट विलम्ब गरेको जस्तो देखिन्छ । अन्तिमसम्म वार्ता लम्ब्याउने र आफू अनूकुल हुने गरी सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको रणनीति हुन सक्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘माओवादी केन्द्र र हामी अन्तिमसम्म कांग्रेसलाई पर्खने पक्षमा छैनौं । १०/१२ गतेसम्म सहमति नभए यसमा अल्झिरहनु हुँदैन ।’ कांग्रेसलाई अन्तिमसम्म पर्खंदा गठबन्धनका अन्य दललाई समस्या हुने माओवादी र एकीकृत समाजवादीको बुझाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि असोज २३ लाई तोकिएको छ । ‘हाम्रो अध्यक्षले शेरबहादुरजीसहितका कांग्रेस नेतालाई अब ढिलो गर्ने ठाउँ छैन है भनिसक्नुभएको छ,’ माओवादीका एक नेताले भने ।

गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य भने डेढ महिनाअघि नै थालेका हुन् । निष्कर्षमा नपुग्दै समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने समय आएपछि त्यतातर्फ लाग्न भन्दै गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य तीन दिन रोकेका थिए । त्यही विषयमा मंगलबार बैठक पुनः सुरु भए पनि प्रगति छैन । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने प्रत्यक्षका १ सय ६५ मध्ये एक सय २५ सिटमा सहमति भइसकेको दाबी गरे । ‘बुधबारसम्म सबैमा सहमति हुन्छ,’ उनले भने ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुधबारसम्म जसरी पनि सिट बाँडफाँट टुंग्याउन कांग्रेसलाई आग्रह गरिएको जानकारी दिए । ‘मंगलबारको बैठकमा माधवजी उपस्थित नभएका कारण छलफल हुन सकेन । जहाँ–जहाँ बढी समस्या छ, त्यहाँ दुईपक्षीय छलफल गर्ने भन्ने भएपछि मंगलबार साँझ कांग्रेस र जसपाबीच छलफल गर्नुस् भनेर हामी उठ्यौं,’ उनले भने, ‘सिट बाँडफाँटमा अब ढिला गर्न हुन्न ।’ श्रेष्ठका अनुसार अन्यत्रको तुलनामा बढी समस्या मधेस प्रदेशमा छ ।

कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले अपूरो प्रतिवेदन बुझाएको दस दिन बित्दा पनि गठबन्धनका शीर्ष नेता सिट बाँडफाँटको निष्कर्षमा पुग्न नसकेका हुन् । सिट बाँडफाँट चाँडै नटुंग्याए गठबन्धनलाई घाटा हुने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । ‘नेपाली कांग्रेस आन्तरिक उल्झनमा देखिन्छ । त्यही कारण गठबन्धनको बैठक बस्न नै उदासीन भएको हुन सक्छ,’ उनले भने ।

कांग्रेस नेताहरू भने सहमतिका लागि वार्ता भइरहेको उल्लेख गर्दै चाँडै निष्कर्षमा पुग्ने दाबी गर्छन् । ‘सहमतिमा आउन सबै बाध्य छन्, छलफलले सकारात्मक मोड लिएको छ, अब चाँडै टुंगोमा पुगिन्छ,’ सञ्चारमन्त्री एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने । कार्यदलका एक नेताका अनुसार कांग्रेसले ८० देखि ८५, माओवादीले ४५ देखि ५०, एकीकृत समाजवादीले १५ देखि २०, जसपाले १३ देखि १५ र राष्ट्रिय जनमोर्चाले एकदेखि दुई सिटसम्म लिएर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रकाशित : आश्विन ५, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?