२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

चुनावी खर्च पेस नगर्नेले तिर्न थाले जरिवाना

झापा कचनकवल गाउँपालिकाको अध्यक्षमा पराजित राप्रपाका उम्मेदवारको नाम समानुपातिकको बन्द सूचीमा परेपछि साढे तीन लाख जरिवाना बुझाएका छन्। सबैबाट जरिवाना उठेमा २४ अर्बभन्दा बढी रकम संकलन हुन्छ ।
मकर श्रेष्ठ

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेकामध्ये राप्रपाका एक नेताले साढे तीन लाख जरिवाना बुझाएका छन् । निर्वाचन आयोगका अनुसार झापा कचनकवल गाउँपालिकामा अध्यक्ष उम्मेदवार अन्जरा आलमले जरिवाना बुझाएका हुन् ।

चुनावी खर्च पेस नगर्नेले तिर्न थाले जरिवाना

मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र खर्च विवरण नबुझाउने आलमलाई आयोगले ३ लाख ५० हजार जरिवाना गरेको थियो ।

पार्टीले उनको नाम समानुपातिकको बन्दसूचीमा सिफारिस गरेपछि जरिवाना बुझाएका हुन् । आयोगले जरिवाना नबुझाएसम्म ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाइने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय गरेपछि उनले जरिवाना तिरेका थिए ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्चको विवरण नबुझाउने पाँच महानगरपालिका प्रमुखलाई जनही सात साढे लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । उनीहरूले ६ महिनाभित्र जरिवाना नबुझाए स्वत: पद जाने कानुनी व्यवस्था छ ।

मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाउने र ढिला बुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ लाई टेकेर साढे सात लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो । उनीहरू सबैबाट जरिवाना उठेमा २४ अर्बभन्दा बढी रकम संकलन हुन्छ । खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हदमध्ये जुन बढी हुन्छ । सोही बराबरको जरिवाना तिर्नसक्ने प्रावधानमध्ये खर्चको हदलाई जरिवाना तोकेको हो ।

जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारलाई शुक्रबारदेखि लागू हुने गरी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने आयोगले निर्णय गरेको छ । तोकिएको जरिवाना नतिर्ने उम्मेदवार तथा जनप्रतिनिधिलाई उक्त बेरुजुमा राखेर सरकारी बाँकी सरह राख्न आयोगले निर्देशन दिएको छ । जिल्ला कार्यालयले जरिवाना तिर्नुपर्ने व्यक्तिको नाम स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा सबैले देख्ने टास्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?