विद्युत् नेपालभित्रै खपत गर्ने पहिलो प्राथमिकता : घिसिङ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको उद्देश्य विद्युत् निर्यात गर्नु नरहेको बताएका छन् । यस क्रममा घिसिङले विद्युत् निर्यात गरेरभन्दा विद्युत् खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने दाबी गरेका थिए ।

विद्युत् नेपालभित्रै खपत गर्ने पहिलो प्राथमिकता : घिसिङ

मंगलबार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभइ नेपालभित्रै खपत गर्ने पहिलो प्राथमिकता रहेको बताए ।

नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने उनको भनाइ थियो । घिसिङले विद्युत् खपत बढाउन हरेक घरमा खाना पकाउनेदेखि सवारी साधनसमेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताएका थिए ।

नेपालमै विद्युत् खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने पनि उनको दाबी थियो । विद्युत् प्राधिकरणले पछिल्लो एक सय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत् भारतमा निर्यात गरेको पनि उनले जानकारी दिए। साथै विश्वमा विद्युत् संकट भएर युरोपमा १ युनिट विद्युत्को करिब १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत् निर्यात गर्नु विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने उनको भनाइ थियो ।

घिसिङले भने, ‘विद्युत् प्राधिकरणले करिब एक सय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत् भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्त्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत् कतैबाट ल्यान सकिन्छ कि भनेर गुहार माग्नुपर्ने स्थिति थियो । अहिले विश्वमा विद्युत्को जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युत्को करिब १ डलर पर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको छ । प्राधिकरणको मुख्य उद्देश्य विद्युत् निर्यात गर्ने होइन । विद्युत् खपत गर्ने हो । नेपालको विद्युत् नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो ।’

यस्तै उनले नेपालमै २५ देखि ३० अर्बको विद्युत् खपत गर्नसक्दा करिब ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । यससँगै अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने उनको भनाइ छ । तर यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको पनि उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?