जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्‌, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवासँग मंगलबार शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।

'प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नुभयो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटमा सहभागी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गरेको ढकालले जानकारी दिए ।

भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेसियाली सरकारसमक्ष पुर्‍याउने बताए ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेसियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवर्द्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

रासस

रासस — आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम/प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।

आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् ।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो ।

प्रकाशित : आश्विन ४, २०७९ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×