कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डा. केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, काठमाडौं नजाने अडान

काठमाडौँ — चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको छ । तर ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीले भने काठमाडौं नजाने बताएको उनका सहयोगी डा अमृत जैसीले जानकारी दिए । 

डा. केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, काठमाडौं नजाने अडान

डा जैसीले भने, 'सेनाको हेलिकप्टर धनगढीमा आइपुगेको छ तर डा केसीले आज कुनै पनि हालतमा काठमाडौं नजाने बताउनुभएको छ । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्नु भएको छ ।' केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको हो ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको इकान्तिपुरलाई बताए । स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालको छ ।

अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता भइरहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । आइतबार निष्कर्ष ननिस्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार पुन: वार्ता सुरु भएको हो ।

प्रकाशित : आश्विन ४, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?