कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अन्सारीमाथि भदौ २४ मा पनि भएको थियो आक्रमण

परिवारको दबाबमा उजुरी दिए पनि ‘घटना सामान्य हो, मिलिहाल्छ’ भन्दै अन्सारी आफैं पन्छिएको प्रहरीको भनाइ
मातृका दाहाल

काठमाडौँ — काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली प्रहारबाट सोमबार राति ज्यान गुमाएका सर्लाहीका लाल मोहम्मद अन्सारीमाथि डेढ साताअघि नै हत्या प्रयास भएको खुलेको छ । प्रहरीका अनुसार गत भदौ २४ गते साँझ गोठाटारको जम्बुडाँडामा नचिनिएका व्यक्तिले घेरा हालेर उनीमाथि आक्रमण गरेका थिए ।

अन्सारीमाथि भदौ २४ मा पनि भएको थियो आक्रमण

‘प्रतिकारमा उत्रिएपछि आक्रमणकारी भागेको सूचना थियो तर अन्सारीले त्यसबारे प्रहरीलाई खुलेर बताउनै चाहेनन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

डेढ साताअघिको आक्रमणबाट अन्सारीको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको थियो । उनले नजिकैको शंखरापुर अस्पताल गएर स्वास्थ्य जाँच गराएका थिए । स्रोतका अनुसार त्यो घटना उनी गुपचुप राख्न चाहन्थे । तर परिवारको जोडबलमा आक्रमणको भोलिपल्ट जम्बुडाँडास्थित प्रहरी चौकीमा उजुरी दिए । उजुरीमा उनले आफूलाई अपरिचित व्यक्तिले पिछा गर्ने गरेको उल्लेख गर्दै तिनको खोजी गर्न आग्रह गरेका थिए । त्यसपछि जम्बुडाँडा वरपर सादा पोसाकका प्रहरी तैनाथ गरिएको थियो ।

आक्रमणको तेस्रो दिन भदौ २६ मा प्रहरीका एक डीएसपी (प्रहरी नायब उपरीक्षक) ले भेटेर घटनाबारे स्पष्ट बताउन अन्सारीलाई आग्रह गरेका थिए । तर उनी ‘घटना सामान्य हो, मिलिहाल्छ’ भनेर पन्छिए । त्यसको १० दिनपछि हतियारधारी समूहले जम्बुडाँडामै गोली हानी उनको हत्या गरेको हो ।

जम्बुडाँडामा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका ५७ वर्षीय अन्सारीलाई सोमबार साँझ मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए । टाउको र छातीमा गोली लागेर घाइते उनलाई शंखरापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । गोली हानेर फरार भएका व्यक्तिलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।

नेपाल प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको टोली हत्यामा संलग्नको खोजीमा जुटेको छ । एक प्रहरी अधिकृतले डेढ साताअघिको आक्रमण पनि मार्ने योजनाबाटै भएको सोमबारको घटनाबाट पुष्टि भएको बताए । ‘पीडितले पहिले नै अनुसन्धानमा सहयोग गरिदिएको भए पछिल्लो घटना नहुन सक्थ्यो,’ उनले भने ।

हत्यारा पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा टोली गठन गरेको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताए । डेढ साताअघि आक्रमण गर्ने र सोमबार गोली हान्ने समूह एउटै भएको अनुमानमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । अन्सारीमाथि यसअघि कोबाट धम्की वा पिछा भएको थियो भन्नेबारेमा उनको परिवार प्रहरीसँग खुलेको छैन । शोकमा परेको परिवारसँग सोधपुछ गर्न केही कठिनाइ रहेको एक अनुसन्धान अधिकृतले बताए ।

अन्सारीको विगत पनि हत्या र जाली नोटको कारोबारसँग जोडिएकाले हत्यामा भारतीय कुख्यात समूह संलग्न रहेको अनुमान गरिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका अनुसार बाराका इल्ताफ हुसेन अन्सारी र सर्लाहीका लाल मोहम्मद अन्सारी जाली नोट र व्यक्ति हत्यासँग जोडिएका थिए ।

उनीहरूबीच अविश्वास बढेपछि लाल मोहम्मदको हत्या गरिएको आशंकामा पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी भारतीय गिरोहको निसानामा रहेको अनुमान पनि गरिएको छ । २०६४ असार २० मा बाराका बलराम पटुवाको अनामनगर, धोबीखोला करिडोरमा गोली हानी हत्या भएपछि लाल मोहम्मद अन्सारी र पप्पु गुप्ता पक्राउ परेका थिए । इल्ताफ हुसेनको योजनामा उनीहरूले उक्त घटना गराएको प्रहरीको अनुसन्धानमा देखियो ।

अन्सारीको विवादास्पद विगत: हत्या अन्तर्राष्ट्रिय गिरोहबाट भएको आशंका

इल्ताफ भाग्न सफल भए भने पक्राउ परेका दुवैलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०६४ साउन ९ मा कारागार चलान गर्‍यो । अन्सारी २०७३ जेठ २५ मा रिहा भए । त्यसपछि र अनामनगर घटनाअघि अन्सारी जाली नोट कारोबारसँग जोडिएका गिरोहसँग निकट रहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । प्रहरीको प्रतिआतंकवाद निर्देशनालय र पछि विशेष ब्युरोको अनुसन्धानमा पनि अन्सारीको सम्बन्ध र निकटता भारत, पाकिस्तान, बंगलादेश र दुबईमा रहेका गिरोहसँग खुलेको थियो । ‘नेपालमा जाली नोट कारोबारमा मुछिएका व्यक्तिको सहयोगीका रूपमा अन्सारीको भूमिका रहेको हुन सक्छ,’ प्रहरी सोतले भन्यो ।

गौडैता नगरपालिका–१० मनहरवा (सर्लाही) का स्थायी बासिन्दा अन्सारीले जेलबाट छुटेपछि तयारी पोसाकसम्बन्धी उद्योग चलाइरहेका थिए । व्यवसाय थाले पनि अन्सारीका गतिविधि शंकास्पद बन्दै गएको प्रहरीले जनाएको छ । उनी विगतमा लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत नामबाट चिनिन्थे ।

सुन तस्करी प्रकरणमा २०७७ साउनमा पक्राउ परेका इल्ताफ भने सम्पत्ति शुद्धीकरण मुद्दामा समेत जोडिएर अहिले पुर्पक्षका क्रममा डिल्लीबजार कारागारमा छन् । इल्ताफविरुद्ध २०६८ सालमै काठमाडौं जिल्ला अदालतमा खोटा चलन मुद्दा दर्ता भएको थियो । त्यस घटनामा पनि लाल मोहम्मद जोडिएका थिए । २०६९ भदौ ११ को फैसलाले इल्ताफलाई निर्दोष ठहर गर्‍यो । उनले त्यस घटनामा लाल मोहम्मदको संलग्नता खुलाएका थिए । इल्ताफ जाली नोट कारोबारमा आफूलाई मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारीका रूपमा चिनाउने गर्थे ।

प्रहरीले इल्ताफविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा पनि मुद्दा चलाएको थियो । २०६८ साउन १६ मा दायर भई २०६९ कात्तिक २० मा भएको फैसलापछि उनी एक वर्ष कैद र ५० रुपैयाँ जरिवानामा सजाय भोगेर बाहिरिए । तर लाल मोहम्मद ज्यान मुद्दामा जेलमै थिए । आफूलाई भित्र पठाएर इल्ताफ बाहिर बसेको भन्दै दुई पक्षबीच खटपट भएको प्रहरीको आशंका छ ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार इल्ताफसँग २०६० को सुरुवातीबाटै जाली नोट कारोबारमा लाल मोहम्मद जोडिएको हुन सक्ने देखिन्छ । इल्ताफ र लाल मोहम्मद जाली नोट कारोबारमै जेल भुक्तान गरिरहेका युनुस अन्सारीका सहयोगी रहेको आशंका पनि छ । २०७७ साउनको सुन तस्करी प्रकरणमा इल्ताफ पक्राउ परे पनि उनका साझेदार भनिएका भारत गुजरातका सञ्जय पटेललगायत गिरोहलाई प्रहरीले समातेन । पछिल्लो घटनालाई त्यसतर्फ पनि जोडेर हेर्नुपर्ने अवस्था आएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?