कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

समानुपातिक सूची बुझाएपछि गठबन्धन दल फेरि सिट बाँडफाँटको छलफलमा

काठमाडौँ — आगामी निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएपछि सत्ता गठबन्धन दलका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफलमा जुटेका छन् । करिब एक सातापछि शीर्ष नेताहरूले सिट बाँडफाँटको विषयमा मंगलबार बिहानदेखि पुनः सहमतिको प्रयास थालेका हुन् । दलहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । 

समानुपातिक सूची बुझाएपछि गठबन्धन दल फेरि सिट बाँडफाँटको छलफलमा

गठबन्धनको सिट बाँडफाँट नटुङ्गिँदा कांग्रेसलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न सकस परेको थियो । सोमबार रातिसम्म लगाएर कांग्रेसले बन्दसूची बुझाएको छ । तर, अझै पनि पार्टीभित्रको विवाद भने मिलिसकेको छैन । गठबन्धनमा सिट बाँडफाँटबारे शीर्ष नेताहरूबीच मंगलबार बिहान छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले बताए । ‘बिहान शीर्ष नेताहरूबीच छलफल भयो; अब हामी कार्यदलका नेताहरू पुनः छलफलमा जुट्दै छौँ,’ उनले भने, ‘त्यसपछि फेरि शीर्ष नेताहरूसहितको बैठक छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहानको बैठकमा नेताहरूबीच सामान्य छलफल भएको र अपराह्न ४ बजे पुनः बस्ने गरी उठेको जानकारी दिए ।

गठबन्धनमा दलहरूबीच करिब एक सय सिटमा सहमति भइसकेको छ भने बाँकी केही सिटमा एकभन्दा बढीको दाबी हुँदा तालमेलको सहमति बन्न सकेको छैन । गठबन्धनमा कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले १५-१५ र राष्ट्रिय जनमोर्चाले २ सिटको आसपास सिट संख्यामा सहमति जुटाएर तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धन दलले निर्वाचनमा तालमेल गर्ने सहमति गरेर २० साउनमै सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै, माओवादी कन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?