१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
‘साहसी’ कमल

लक्ष्य थियो डाक्टर बन्ने, उच्चशिक्षा नपाएपछि चित्रकलामा भविष्य खोज्दै

१४ वर्षअघि सेती खोँचबाट साढे दुई वर्षकी बालिका उद्दार गर्ने 'साहसी बालक' कमल नेपाली आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित भएपछि अहिले चित्रकलामा भविष्य खोज्दै छन् ।
दीपक परियार

पोखरा — सेती खोँचमा खसेकी बालिकालाई उद्धार गरेर चर्चा कमाएका पोखराका कमल नेपालीले १४ वर्षअघि एक दैनिक पत्रिकासँगको अन्तर्वार्तामा भनेका थिए, ‘म त डाक्टर बन्ने भन्दिसकेको छु अंकल ।’ डाक्टर बन्ने उद्देश्य राख्नुको कारण सोध्दा उनको उत्तर थियो, ‘अपरेसन गर्न पाइन्छ । बिरामीलाई सन्चो पार्न पनि पाइन्छ नि अंकल । म त डाक्टर बनेपछि सबैलाई पैसा नलिइ जाँच्छु अंकल ।’

लक्ष्य थियो डाक्टर बन्ने, उच्चशिक्षा नपाएपछि चित्रकलामा भविष्य खोज्दै

आफू १२ वर्षको हुँदा ६५ फिट गहिरो खोँचमा पसेर साढे २ वर्षीया आराधना प्रधानको उद्धार गरेर उनले चौतर्फी वाहवाही पाएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वीर गणेशमान बाल प्रतिभा पदकबाट उनलाई नगद ३ लाखसहित विभूषित गरे । तर उनै साहसी कमल एसईईभन्दा माथि पढ्न पाएनन् । घरको कमजोर आर्थिक अवस्था, उचित अभिभावकत्व र मार्गदर्शनको अभावमा उनको उच्च शिक्षा पढ्ने धोको अधुरै रह्यो ।

२०६५ असार १० मा पोखराको नयाँगाउँनजिकै खरबारीको सेती खोँचमा आराधना खसेकी थिइन् । एक छिमेकी बालकको दाहसंस्कार गर्न आफ्ना आमाबुबासँगै समाधिस्थल पुगेकी उनी खोँचमा खसेर तलसम्म पुगिन् । खोँचमा बालिका खसेको समाचार क्षणभरमै देशैभर फैलियो । उनको उद्धारमा अनेक प्रयास भए । तर केही पार लागेन । काठमाडौंबाट नेपाल क्यानोइङ एसोसियसनको पाँच सदस्यीय उद्धार टोली उपकरणसहित आयो ।

शारीरिक बनावटका कारण उक्त टोलीका सदस्य पनि ४० फिटभन्दा तल झर्न सकेनन् । खोँचभित्र आराधना रोएको आवाज मात्रै सुनिन्थ्यो । भित्र आराधना संघर्ष गरिरहेकी थिइन्, बाहिर आराधनाका बुबाआमा अचेतजस्तै थिए । खोँच वरपर सयौंको भीड थियो । कसैसँग आराधनालाई उद्धार गर्ने उपाय सुझेको थिएन । अर्को दिन बुधबार पोखराकै टुटुंगाका सलोम नेपाली घटनास्थलमै थिए । उनी उद्धारका लागि खोँचमा पसे तर केही तलसम्म मात्रै पुग्न सके ।

ठूलो शरीर भएको मानिस खोँचमा पस्न नसक्ने थाहा पाएपछि उनले आफ्नो १२ वर्षीय भाइलाई सम्झिए । उनी तुरुन्त दौडिएर घरमै खेलिरहेका भाइ कमल लिन गए । सलोमले ‘हाम्री दाइकी छोरीजस्तै नानी जमिनमुनि छिन्, उद्धार गर्न जान्छौं ?’ भन्दा कमलले फुर्तीसाथ ‘हुन्छ’ भनेर तम्सिए । उनलाई देख्नासाथ केहीछिन सबै चकित भए । सानो बालकलाई पठाउँदा अर्को घटना निम्तिने डरमा प्रशासनले नजान सल्लाह दियो । तर दाजु सलोमले पठाइछाडे ।

क्यानोइङ एसोसियसनले ल्याएको उपकरण लगाएर कमल खोँचमा पसे । आधा घण्टापछि उनी आराधनालाई लिएर निस्किए । बुधबार मध्याह्न १२ बजे कमलले ६५ फिट गहिरो खोँचबाट आराधनाको उद्धार गरे । उनी एकाएक हिरो बने । उनलाई सम्मान गर्नेको ओइरो लाग्यो । त्यतिबेला पोखरा–१५ को सिद्ध माविमा कक्षा १ मा पढिरहेका कमललाई थुप्रै विद्यालयले १० कक्षासम्म नि:शुल्क पढाउने प्रस्ताव गरे । उनी भने काठमाडौंको जेभियर इन्टरनेसनल स्कुलमा भर्ना भए ।

०६४ मा एसईई दिएर पोखरा फर्किए । घर फर्किएपछि उनको जीवनको लय बिग्रियो । दुई आमाबाट तीन दाइ र दुई दिदीमुनि उनी कान्छा हुन् । जन्म दिने आमा १० वर्षअघि नै बितिन् । बुबा डेढ वर्षअघि बिते । सरकारले दिएको ३ लाखसहित उनको साहसको कदरस्वरूप झन्डै ९–१० लाख रुपैयाँ संकलन भएको थियो । उक्त रकमको सदुपयोग हुन पाएन । उनी १८ वर्ष पुगेपछि बैंकबाट निकाल्न मिल्ने गरी राखिएको रकम पनि दाइले खर्च गरिदिए । त्यति नै बेला पारिवारिक वातावरण राम्रो भएन ।

उच्च शिक्षा पढ्न उनीसँग कुनै उपाय भएन । ‘पढ्न मन थियो, घरकै अवस्थाले पढ्न पाइँन,’ उनले भने, ‘पढाइदिन्छौं भन्ने पनि कोही निस्किएनन् ।’ दाइहरूले आ–आफ्नै परिवार हेर्नुपर्ने भएकोले उनी आँफै काम गर्न कस्सिए । धेरैजसो ज्यामी काम गरे । हात मुख जोर्न जे भेटिन्छ त्यही काम गरे ।

उनी विगत दुई वर्षदेखि हेम्जामा रहेको मामा घरमा बसिरहेका थिए । उनकै नाममा गठन भएको साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठानका उपाध्यक्ष रामबहादुर बल्कुटीले चासो राखे । चित्रकलामा कमलको रुचि भएको बुझे । उनले बुटवलका चित्रकार अजय नेपालीलाई पोखरा झिकाए । अजयले डेढ महिनादेखि बल्कुटीकै घरमा बसेर कमललाई चित्रकला सिकाइरहेका छन् । उनको पारिश्रमिक प्रतिष्ठानले बेहोरेको छ । सुरुआतमा तीन महिना सिकाउने योजना छ । ‘चित्रकलामा कमलको रुचि गहिरो छ । मिहिनेत गर्ने हो भने व्यावसायिक चित्रकार बन्न समस्या छैन,’ उनले भने, ‘तीन महिनामा प्रगति भएन भने ६ महिनासम्म पनि लम्बिन सक्छ ।’

उनै अजयले बनाएका पेन्सिल आर्ट प्रदर्शनी प्रतिष्ठानले सोमबार पोखरामा गरेको छ । कमल नेपाली, आराधना प्रधानसहित पोखरामा जन्मिएका वा कार्यक्षेत्र बनाएका ख्यातिप्राप्त व्यक्तिको ‘पोट्रेट’ प्रदर्शनीमा राखिएको थियो । कमलले आफ्नो रुचि पहिलेदेखि नै चित्रकलामा भएको सुनाए । ‘जेभियरमा पढ्दादेखि नै सामूहिक चित्रकला प्रदर्शनीमा सहभागी हुन्थे,’ उनले भने, ‘मलाई हिमाल, पहाड, पर्वतका चित्र बनाउन मन पर्छ । अब सिकेर व्यावसायिक तरिकाले लाग्छु ।’

प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कमललाई सरकारी तवरबाटै सहयोग गर्नुपर्ने बताए । उनको गाथा पुस्तकका रुपमा पनि आइसकेको छ । प्रतिष्ठानले पाँच वर्षअघि ‘साहसी बालक कमल नेपाली’ पुस्तक प्रकाशन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष संविधानसभा सदस्य डिलबहादुर नेपालीले कमललाई सीप, कला सिकाएर पेसा, व्यवसायसँग जोड्ने प्रयासस्वरूप चित्रकला सिकाइरहेको बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?