१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेंगीलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न पत्राचार

र्‍यापिड एक्सन प्लान बनाउनसमेत स्वास्थ्य मन्त्रालयलाई ईडीसीडीको आग्रह स्वास्थ्यविज्ञ भन्छन्– ‘लामखुट्टेको प्रजनन स्थल खोजेर नष्ट नगरे पहिलेको दाँजोमा सर्वाधिक केस र मृत्यु देखिन सक्छ’
अतुल मिश्र

काठमाडौँ — इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । ईडीसीडी महामारी हेर्ने सरकारको आधिकारिक निकाय हो ।

डेंगीलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न पत्राचार

पछिल्ला दिनमा डेंगीको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगी पुष्टि भएको छ । डेंगीले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

‘ललितपुरमा उछिन्दै अब मुलुकमै सबैभन्दा बढी डेंगी संक्रमित देखिएको जिल्ला काठमाडौं भएको छ, त्यसमा पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमण छ,’ ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने, ‘जुलाई अघिसम्म खासै डेंगी थिएन, संक्रमणले बिस्तारै गति लिँदै सेप्टेम्बरदेखि व्यापक भएको हो ।’ ललितपुरमा सेप्टेम्बरको १९ दिनमा ३ हजार २ सय २० मा संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगीका बिरामी छन् । यस्ता बिरामीले अस्पतालका बेड भरिएका छन् । अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक घरमा डेंगीका बिरामी रहेको भन्दै अझै जोखिम बढ्न सक्ने बताए । स्वास्थ्यकर्मीहरूले डेंगी नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरहँदा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन ।

‘यस पटक ४० वर्षमुनि पनि मृत्यु बढी देखिएको छ, यो खतराको घण्टी हो,’ प्रमुख दाहालले भने, ‘यदि हामीले लामखुट्टेको प्रजनन स्थल खोजेर नष्ट गरेनौं भने यसपालि पहिलेको दाँजोमा सर्वाधिक केस र मृत्यु देखिन्छ भने दुई–तीन वर्षमा काठमाडौं उपत्यकामा यसको महामारी थेग्न नसक्ने हुन्छ ।’ यस पटक संक्रमण र मृत्युको सबै रेकर्ड तोडिने चेतावनी दिँदै डा. दाहालले थपे, ‘आगामी डेढ महिनासम्म संक्रमण जारी रहन्छ ।’

तथ्यांकअनुसार जुलाईअघि देशभर एक सयभन्दा कम केस थिए भने जुलाईमा ७ सय ३०, अगस्टमा ३ हजार ७ सय ८ र सेप्टेम्बरको १९ दिनमा १३ हजार ८ सय २९ जना संक्रमित थपिएका हुन् । सन् २०२२ को जनवरीदेखि सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा संक्रमण देखिएको हो । उपत्यकासहित मकवानपुर, दाङ, रूपन्देही, चितवन, गुल्मी, दार्चुला र काभ्रेलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित छन् । सोमबारसम्म मकवानपुरमा १ हजार ६ सय १०, दाङमा १ हजार १ सय ४९, रूपन्देहीमा ६ सय ७९, चितवनमा ४ सय २९, गुल्मीमा २ सय ९२, दार्चुलामा १ सय ९२ र काभ्रेमा १ सय ५६ जनामा संक्रमण देखिएको छ ।

सन् २०२० र २०२१ को संक्रमणको ट्रेन्डलाई विश्लेषण गरेपछि विज्ञहरूले अबको डेढ महिनासम्म मुलुकमा संक्रमण जारी रहने प्रक्षेपण गरेका हुन् । पछिल्लो दुई वर्षमा सेप्टेम्बर र अक्टोबरमा निरन्तर डेंगी संक्रमणको रिपोर्ट गरिएको थियो । डेंगी नियन्त्रणको एकमात्र उपाय लामखुट्टेको बासस्थान खोजेर प्रजननस्थल नष्ट गर्नु नै रहेको जनाएका छन् । ‘स्वास्थ्य मन्त्रालयले मात्रै डेंगी नियन्त्रण गर्न सक्छ भन्ने सोच राखेर अन्य निकाय बस्नुभएन,’ डा. दाहालले भने, ‘ढल निकास, खानेपानी, भवन निर्माण, पालिकाजस्ता बहुनिकायबीच सहकार्य नभए डेंगी नियन्त्रण हुन सक्दैन ।’

इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन, नागासाकी युनिभर्सिटी जापानका प्राध्यापक डा. वासुदेव पाण्डेले भने पछिल्लो समय काठमाडौंमा फोहोर व्यवस्थापनमा भएको गडबडीले समेत संक्रमण बढेको बताए । नेपालमा २–३ वर्षमा डेंगीको प्रकोप देखिने गरेकामा पछिल्लो पटक सन् २०१९ मा सबैभन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित : आश्विन ४, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?