कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीमा ८ वर्ष उपचारपछि कोमामै फर्किइन् बाटुली

सन् २०१४ फेब्रुअरी १६ मा श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा कुवेत गएकी रुपन्देहीकी बाटुली विक त्यहाँबाट साउदी पुगेको केही महिनामै लडेर कोमामा पुगिन्, उनलाई भदौ दोस्रो साता कोमामै काठमाडौं फर्काइएको छ । परिवारलाई अब एउटै चिन्ता छ, ‘घर त ल्याइयो, उपचार कसरी गर्ने ?’
होम कार्की

काठमाडौँ — ‘तिम्रो आमा लडेर कोमामा राखिएको छ, टाउकामा गहिरो चोट लागेको छ,’ एक साँझ साउदी अरबबाट सन्तोष विकलाई भारतीय नागरिकले फोन गर्दै खबर दिए, ‘उठेर बस्न सक्ने भएपछि नेपाल पठाइदिन्छौं ।’

साउदीमा ८ वर्ष उपचारपछि कोमामै फर्किइन् बाटुली

ती भारतीय नागरिक बाटुली विक काम गर्ने घरअगाडि बकला (किराना पसल) चलाउँथे । बाटुलीका मालिकले नै सन्तोषलाई खबर गर्न लगाएका थिए । ती मालिकले बाटुलीलाई कुवेतबाट साउदी अरबको अलहासामा ल्याएका थिए । सन् २०१४ फेब्रुअरी १६ मा बाटुली श्रम स्वीकृति लिई घरेलु कामदारका रूपमा कुवेत गएकी थिइन् । त्यतिखेर वैदेशिक रोजगार विभागले महिलालाई घरेलु कामदारका रूपमा कुवेत जान अनुमति दिन्थ्यो ।

कामको सिलसिलामा साउदी अरबमै रहेका बेला घरको माथिल्लो तलाको भर्‍याङबाट चिप्लिएर खस्दा टाउकामा गम्भीर चोट लागेका कारण बाटुली अचेत अवस्थामा रहन पुगेकी थिइन् । उनलाई अलहासाको अल अयुन सिटी अस्पतालमा राखिएको थियो । घटना भएको एक महिनापछि सन्तोषले आमा बाटुलीबारे जानकारी पाएका थिए । पछि दुई पटक जति भारतीय नागरिकले आमालाई नेपाल ल्याउने भए पैसा पठाउनु भन्दै फोन गरे । सन्तोषले आफ्नो दयनीय आर्थिक अवस्थाबारे दर्शाएपछि साउदीबाट फोन आउन छाड्यो ।

बाटुली साउदी पुगेको चार महिनापछि दुर्घटनामा परेकी थिइन् । त्यसअघि भने नियमितजसो महिनाको १९ हजार रुपैयाँ नेपाल पठाइरहेकी थिइन् । ‘सुरुमा आमालाई काम गर्न धेरै कठिन भएको थियो, साहुनीले निकै पिट्ने, पछि काम सिकेपछि भने मारपिट गरेको खबर आउन छोडेको थियो,’ सन्तोषले भने, ‘म मुम्बईमा काम गरेर बस्थें । आमाले गाउँकै एक जना सरदारको नाममा पैसा पठाइदिनुहुन्थ्यो । दिदीसँग नागरिकता थिएन । चाहेका बेला सरदारले पैसा दिनुहुन्थ्यो ।’बाटुली घरसल्लाहमै कुवेत गएकी थिइन् । उनीहरूको

आफ्नो नाममा एक टुक्रा जग्गा थिएन । उनीहरू बस्दै आएको ओमसतिया गाउँपालिका–२ पर्सरी, रूपन्देहीको जग्गामा रेल बाटो पर्ने हल्ला भयो । रेलले उठीबास लाग्ने भएपछि बाटुली कुवेत उडेकी थिइन् । ‘हाम्रो गाउँमा धेरै सुकुम्बासी छन्, हामी बस्ने जग्गामा मात्रै १० घर सुकुम्बासी बस्छौं,’ सन्तोषले भने, ‘यो जग्गा छेउमा मसानघाट छ । जमिनदारले हामीलाई दान दिएको थियो तर पछि उसको सन्तानले बेचिदियो । किन्ने मान्छेले अहिले हामीलाई चार धुर दिएको छ । अहिले रेल आउने हल्ला छैन ।’

आमाको लामो समयसम्म कुनै खबर आएन । उनीहरूले नै आशा मारिसकेका थिए । ‘आमा दुर्घटनामा पर्नु भएदेखि नै बुबा कमजोर बन्दै जानुभयो,’ उनले भने, ‘एक बिहान घरको आडमा बसिरहनुभएको थियो । बोलाउँदा त बितिसक्नुभएछ ।’

वैदेशिक रोजगारीमा जान भनेर सन्तोष र बाटुलीले एकै दिन नागरिकता बनाएका थिए । त्यसबेला सन्तोषले राहदानी पनि बनाए । राहदानी बनाएर उनी मुम्बईमा नै फर्के । मुम्बईमा १५ वर्षको उमेरदेखि रेस्टुरेन्टमा काम गरिरहेका थिए । सुरुमा कुचो लगाउने र भाँडा माझ्ने काम गर्थे । त्यतिखेर महिनाको १५ सय भारु पाउँथे । पछि खाना बनाउन जान्ने भएपछि महिनाको १५ हजार भारु हात पर्न थाल्यो । ‘पैसा जम्मा भएपछि भारतबाटै बाहिर जान्छु भन्ने योजनामा थिएँ, मुम्बईमा गएँ । आमाले कुवेत जाने कुरा बुबासँग गर्नुभएको थियो । मसँग थिएन । काठमाडौंबाट उड्नुअघि फोन गरेर बाबु म कुवेत जाँदै छु, आफ्नो ख्याल गर भन्नुभएको थियो,’ सन्तोषले भने, ‘त्यसपछि दोहोरो संवाद भएन ।’ चार वर्षसम्म कुनै खबर नआएपछि परिवारले बाटुलीको मृत्यु भइसक्यो भनेर आस मारेका थिए । हरेक दिन आमाको सम्झना आउँथ्यो । कतैबाट केही खबर आएन । एक दिन एक्कासि मोबाइलमा आमाको भिडियो आइपुग्यो । ‘भिडियोमा आमाले गहिरो सास फेरिराख्नुभएको थियो, आँखाले हेरिराख्नुभएको थियो, पाइप नाकबाट छिराएर खाना दिइरहेको थियो,’ सन्तोषले भने, ‘त्यो दिन काम गर्नै सकिनँ । साहु र साथीहरूलाई पनि भिडियो देखाएँ । अनि, आमालाई नेपाल फर्काउनुपर्छ भनेर म गाउँ फर्कें ।’

आर्थिक अभावले विर अस्पतालबाट घर (रुपेन्देही) लैजान समस्या भएपछि बाटुली सुनारका छोरा सन्तोष र छोरी सुनीतालाई एम्बुलेन्स भाडा र बाटो खर्च दिँदै पौरखी नेपालकी मञ्‍जु गुरुङ र प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्की । तस्बिर : कान्तिपुर

गाउँ आएपछि पठाउने एजेन्टलाई खोज्न थालें । गाउँपालिकालाई गुहारें । एजेन्ट र गाउँपालिकाको राय एउटै हुन्थ्यो– ‘उतै उपचार भइरहेको छ । तिमीहरूले यहाँ ल्याएर के गर्ने ? ल्याएर कहाँ राख्छौ ? तिम्रो आमा उठेर बस्न सक्ने होइनन् । तिमीहरूले उपचार गर्न सक्ने होइन । बरु उतै ठीक छ । उताबाट जहिले पठाउँछ, पठाउँछ ।’

उनी यसमा रोकिएनन् । ब्याजमा पैसा खोजेर छिमेकीलाई लिएर काठमाडौं तेस्रो पटक आए । ‘आमालाई ल्याउन वैदेशिक रोजगार बोर्डमा निवेदन दियौं । त्यहाँको हाकिमले पनि ‘ल भाइ नआत्तिनु, यति भएपछि तिम्रो आमा आउनुहुन्छ’ भने ।

लामो समयदेखि अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएपछि परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुन सक्ने भन्दै बाटुली सुनारको उपचारमा संलग्न डाक्टरले उनलाई छिटो नेपाल लैजान लामो समयदेखि दूतावाससमक्ष अनुरोध गर्दै आएका थिए । ‘अस्पतालमा राखेको धेरै वर्ष भइसकेकाले अस्पतालले पनि बाटुली सुनारको जिम्मा लिएर जतिसक्दो चाँडो उनलाई नेपाल पठाउन दूतावासमा पछिल्लो समय निरन्तर ताकेता गरिरहेको थियो । यसअघि निजलगायत अन्य गम्भीर प्रकृतिका बिरामीलाई नेपाल पठाउन पटकपटक प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन,’ दूतावासका प्रथम सचिव ऋषिराम आचार्यले भने, ‘यस पटक भने बाटुली सुनारलाई नेपाल पठाउने वातावरण निर्माण गर्नमा सफलता मिल्यो । परिवार पनि बिरामीको जिम्मा लिन राजी भयो ।’

सन्तोष बिक र सुनीता बिक वीर अस्पताल परिसरमा । तस्बिर : कान्तिपुर

दूतावासले बिरामीको आवश्यक कागजात तयार गर्नुका साथै उनको एक्जिट भिसाका लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरिदियो । नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्ट्रेचरबापतको खर्च बेहोर्न वैदेशिक रोजगार बोर्ड तयार भयो । अस्पतालले बिरामीलाई अलहासाबाट रियाद एयरपोर्टसम्म अस्पतालकै एम्बुलेन्समा निःशुल्क ल्याइदियो । एक जना नर्सको साथमा स्ट्रेचरबाट नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्‍यो ।

बाटुलीलाई वीर अस्पतालको इमर्जेन्सी वार्डमा ल्याएर राखियो । सन्तोषसँग बिछोड भएको ८ वर्षपछि आमासँग भदौ २६ मा भेट भयो । आमालाई लिन साथमा ३५ वर्षीया दिदी सुनीता पनि सँगै थिइन् । ‘भेट्दा के गरौं, कसो गरौं भयो, यस्तो अवस्थामा अँगालो पनि हाल्न नसकिँदोरहेछ, यत्रो वर्षपछि देख्दा हाम्रो मन सिरिंग भयो,’ सुनीताले भनिन्, ‘हामी धेरैबेर आमा–आमा भनेर रोयौं ।’

उनीहरूले दिनभर बाटुलीको हात, खुट्टा र टाउको सुमसुम्याए । उनीहरूलाई बाटुलीले पनि चिनिन् । ‘हामीलाई चिन्नुभयो, दिदीलाई देखेर रुनुभयो, यो तिम्रो बुहारी भन्दा हाँस्नुभयो,’ सन्तोषले भने, ‘बोली मात्रै निस्केको छैन । सबै बुझ्नुहुन्छ ।’ वीरले कहिले टाउकाको सिटी स्क्यान गर्नुपर्छ भन्छ, कहिले न्युरो अस्पतालमा भर्ना गर्नुपर्छ भन्छ । ‘हामीलाई एक साता वीरमा राखेपछि घर लैजाने भन्ने खबर थियो । यहाँ उपचार गर्न पैसा छैन । मैले कानमा लगाएको मुन्द्रा बेच्न खोजेको थिएँ, बिल नभएकाले बिक्री भएन,’ सुनीताले भनिन्, ‘घरसम्म एम्बुलेन्समा लैजाने रकम पनि छैन ।’

बिरामीलाई अस्पतालमा ल्याएपछि बोर्डले पनि जिम्मा लिएन । आर्थिक अभावले घरसम्म लैजान समस्या भएपछि प्रवासी नेपाली समन्वय समिति र पौरखी नेपालले एम्बुलेन्स र औषधि खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गरिदिए । ‘बोर्डले के कति लाग्छ ? बिल पेस गर्नु भनेको छ । हामीले अहिले कहाँबाट ल्याएर खर्च गर्ने ?’ सन्तोषले भने, ‘म गरिब मान्छे । काम गर्न जानुपर्छ । घर लिएर जान्छौं । आमालाई बुहारीले हेरचाह गर्छिन् । हामी अस्पतालमा भर्ना गर्न सक्दैनौं ।’

प्रकाशित : आश्विन ४, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?