कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हुँ यात्री एउटा...

सुशीला तामा‌ङ

काठमाडौँ — हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा ...

हुँ यात्री एउटा...

पशुपति आर्यघाटमा सोमबार संगीतकर्मीहरूले भैरवनाथ रिमालको रचनामा रहेको दीप श्रेष्ठद्वारा स्वरबद्ध यो गीत गुनगुनाइरहँदा चितामा थिए शुभबहादुर सुनाम । उनको पार्थिव शरीरलाई अन्तिम बिदाइ गर्न संगीतकर्मीहरूले उनैद्वारा संगीतबद्ध गीतका धुनमार्फत श्रद्धा अर्पण गरे । केही समयदेखि मिर्गौला रोगबाट पीडित सुनामको ७४ वर्षको उमेरमा छाउनीस्थित सैनिक अस्पतालमा सोमबार बिहान निधन भएको हो ।

सुनामले नेपाली सेनामा सहायक रथी र संगीतमा महारथीका रूपमा आफूलाई स्थापित गरेका थिए । नेपाली संगीत जगतमा संगीतकार, वाद्यवादक, एरेन्जर, रचनाकारका रूपमा धेरैको मन छुने सिर्जनाहरू उनले गरेका छन् । जीवनको साढे पाँच दशकभन्दा लामो समयमा उनले अनगिन्ती नेपाली सुगम संगीतमा स्याक्सोफोनको धुन भरे । विशेषगरी स्याक्सोफोनमा आफूलाई अब्बल स्थानमा राखेका सुनामले तारादेवी, नारायण गोपाल, प्रेमध्वज प्रधान, मदन सिंह, सुक्मित गुरुङदेखि अहिलेका नयाँ पुस्तासम्म पनि संगीतमा सहकार्य गरेका छन् । स्याक्सोफोन र सुनाम एक अर्काका लागि पर्यायवाची नै थिए । उनले नारायण गोपालको ‘तिमीले भनेका सारा देव छोएर,’ तारा देवीको ‘फूलै फूलको मौसम तिमीलाई,’ मदन–सुक्मितको ‘रेलीमाई रेलीमाई’ लगायत गीतमा संगीत भरेका छन् । प्रसिद्ध गजल गायक गुलाम अलीले गाएका नेपाली गीतहरुका संगीत संरचनामा उनले काम गरेका छन् ।

पेसागत रूपमा नेपाली सेनाका अ.प्र.सहायक रथीका रूपमा रहेका सुनामले नेपाली संगीतलाई सँगसँगै डोर्‍याए । सेनाबाट अवकाशपछि उनले संगीतलाई भने निरन्तरता दिए । नेपालमा मात्र नभएर नेपाली सेना र संगीतको प्रतिनिधित्व गर्दै उनले विभिन्न मुलुकमा नेपाली धुन र लयलाई चिनाएका छन् । सुनामको परिवार नै संगीतमा आबद्ध थिए । हजुरबुबा, बुबाबाट नै स्याक्सोफोन सिकेका सुनामले यसैमार्फत नेपाली संगीतको स्वर्णिम कालखण्डमा आफूलाई पनि उपस्थिति गराए । सुनामसँगको सम्बन्धलाई स्मरण गर्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको एउटा स्तम्भ नै ढलेको बताए । सुनाम र बास्कोटाले सँगै काम गर्दा उपनाम नै पाए, ‘शुभ–शम्भुजित’ । संगीत वृत्तमा दुईबीचको मित्रताको नाम ‘शुभ–शम्भु’ भनेर चिनिन्छ । फिल्म ‘के घर के डेरा’ मा संगीतमै सहकार्य गर्दा कलाकार तथा निर्देशक नीर शाहले छोटकरीमा दुवैलाई ‘शुभ–शम्भुजित’ नामकरण गरेको उनले स्मरण गरे । उनले भने ‘म संगीत र गायनतिर मात्र थिएँ । तर, उहाँ संगीत, वाद्यवादन, एरेन्ज सबैतिर उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।’ नेपाली आधुनिक गीतसंगीत यहाँसम्म पुग्नुमा उनको ठूलो योगदान रहेको बाँस्कोटाले सुनाए ।

बाल्यकालदेखि नै स्याक्सोफोनप्रति लगाव देखिए पनि फौजको जागिरे जीवनपछि नै उनले सेनाको ब्यान्डभित्र रहेर आफूलाई तिखार्ने काम गरे । नेपाली संगीतमा स्याक्सोफोन उत्तिसारो चलन भइनसक्नु, बाजा खरिद महँगो पर्ने भएकाले जागिरे जीवन नै उनका लागि फलदायी बन्यो । सेनाको ब्यान्डभित्र नै उनले पश्चिमा शैलीका विविध थरीका बाजाहरू बजाउन सिक्ने मौका पाए । नेपाली फिल्महरू ‘के घर के डेरा’ सँगै ‘मनको बाँध,’ ‘प्रतीक्षा,’ ‘चाहना,’ ‘दाजुभाइ,’ ‘बन्धन,’ ‘म तिम्रो भइसकेँ’ लगायतमा उनले स्याक्सोफोनको धुन भरेका छन् ।

सुनामले ३० देखि ४० को दशकमा नेपाली संगीतमा स्याक्सोफोनको धुनमार्फत नौलो आयाम थपेको संगीतकार राजकुमार श्रेष्ठले सुनाए । सरल, नरम स्वभावका रूपमा सुनामको स्मरण गर्दै श्रेष्ठले भने, ‘व्यक्तिगत रूपमा उहाँ जति नम्र र सरल हुनुहुन्थ्यो, त्यस्तै संगीत उहाँले सिर्जना गर्नुभएको छ ।’ आफूलाई सदावहार लाइभ पर्फमरका रूपमा चिनाएका थिए । एक अभिभावक, गुरु र प्रेरणादायी व्यक्तित्वका रूपमा रहेको संगीतकार तथा गायक मदनगोपालले सम्झिए । आफ्नो संगीतकर्मलाई सुनामले छोरा, नातिलाई समेत हस्तान्तरण गरेका छन् । संगीतकार छोरा दिनेश सुनामले संगीतप्रति आफ्नो बुबाको अत्यन्तै लगाव रहेको सुनाए । उनले भने ‘उहाँकै प्रेरणाले हामीले बच्चैदेखि संगीत बुझ्ने र सिक्ने मौका पाएका थियौं ।’

प्रकाशित : आश्विन ४, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?