कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भ्रष्टाचार आरोपितलाई विभूषण

मातृका दाहाल

काठमाडौँ — खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका उद्योगी पशुपति मुरारकालाई सरकारले विभूषण दिने घोषणा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएको हो ।

भ्रष्टाचार आरोपितलाई विभूषण

संविधान दिवसको दिन पारेर सोमबार सरकारले ९ सय ९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको छ, जसअनुसार १७ जनाले ‘सुकीर्तिमय राष्ट्रदीप’ पाउनेछन् । यो सूचीको दसौं नम्बरमा मुरारकाको नाम छ । उनी खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।

हरेक वर्ष संविधान दिवसमा विभूषण घोषणा गरेर नेपाली नयाँ वर्ष (वैशाख १) राष्ट्रपतिबाट वितरण गर्ने चलन छ । यो पटक विभूषण पाउनेको सूचीमा कालोबजारी र ठगी आरोपमा प्रशासन र प्रहरी अनुसन्धानमा तानिएका व्यक्ति पनि अटाएका छन् । विगतमा विभूषण बहिष्कार गर्ने केही कलाकार पनि सूचीमा छन् । अख्तियारले अनुसन्धान गरिरहेका केही राष्ट्रसेवक कर्मचारी पनि विभूषित हुनेको सूचीमा रहेको स्रोतले जनाएको छ । तर, अनुसन्धान प्रभावित हुने भन्दै ती कर्मचारीको विवरण दिन स्रोतले मानेन ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विभूषण घोषणा गरिएका कसैमा कानुनी प्रश्न र कैफियत देखिए वितरणअघि विभूषण सूची सच्याइने बताए । ‘विभूषण घोषणा गरिएका व्यक्ति कसैमा कानुनी र अरू कैफियत भेटिएमा वितरणअघि सरकारले स्क्रिनिङ गर्छ, गलत पाइए सूची सच्याएर वितरण गरिन्छ, यो विगतमा पनि यस्ता कैफियत भेटिए सच्याइने गरिएको थियो,’ उनले भने ।

विभूषणका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आएका सिफारिस गृह मन्त्रालयमा अध्ययन गरेर सूची तयार पारिन्छ । गृह मन्त्रालयमा सूची अध्ययनका क्रममा कोही सिफारिसमा परे त्यस्ता व्यक्तिको कसुर र कारबाहीबारे जिल्ला प्रशासन, जिल्लास्थित सुरक्षा निकायलगायतबाट पनि बुझ्ने गरिन्छ । गृह मन्त्रालयले अख्तियारलाई पत्र नै पठाएर विभूषणका लागि सिफारिसमा परेकाको नाम विभिन्न कसुर, मुद्दा/मामिला तथा अनुसन्धानमा भए/नभएको, अनुसन्धानको दायरामा रहे/नरहेको बारे राय माग्थ्यो । तर विभूषण सिफारिसमा परेका व्यक्तिबारे गृहले अख्तियारसँग कुनै राय नमागेको उच्च स्रोतले जानकारी दियो ।

जिल्लाबाट आएका सूचीबाहेक सत्ता र शक्तिसँग निकट तथा आसेपासेका नाम माथिबाटै थप्दा त्यस्ता विवरण र सम्बन्धित व्यक्तिको पृष्ठभूमिमा छानबिन हुँदैन, जसका कारण विभिन्न कसुरका आरोपित व्यक्ति राज्यबाट विभूषित हुने गरेका छन् । गृहमन्त्री अध्यक्ष रहेको विभूषण समितिको सिफारिसमा मन्त्रिपरिषद्ले गत भदौ ३१ मा सूची अनुमोदन गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यही सिफारिस सोमबार संविधान दिवसको दिन सार्वजनिक गरिएको हो ।

गत वर्ष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘महाउज्ज्वल राष्ट्रदीप’ विभूषण दिने घोषणा गरिएकामा गत फागुन १ मा संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि नाम हटाइएको थियो । महाभियोग दर्ता भएको दुई महिनापछि २०७९ वैशाख १ मा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा जबरालाई उपस्थितिका लागि निम्तै दिइएन । महाभियोग टुंगो नलागेका कारण जबराका नाममा घोषित विभूषण रद्द वा कायम भन्नेमा सरकारले अझै कुनै निर्णय गरिसकेको छैन ।

गृह मन्त्रालयका अनुसार २०७८ मा ९ सय ३ जनाका लागि करिब १८ करोडको विभूषण बनाइएको थियो । २०७७ मा ५ सय ३ जनालाई विभूषण दिँदा राज्यको ढुकुटीबाट करिब १२ करोड रुपैयाँ खर्च भएको थियो ।

विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ मा राजनीतिक, सामाजिक, आर्थिक, शान्तिसुरक्षा र प्रशासन, शिक्षा र स्वास्थ्य, सूचना/सञ्चार, विज्ञान प्रविधि अन्वेषण एवं अनुसन्धान, भाषा, कला, साहित्य र संस्कृति, खेलकुद, राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण क्षेत्रलगायत देश र जनताको हितमा योगदान पुर्‍याउनेलाई विभूषण दिइने उल्लेख छ । यस वर्ष विभूषणका लागि सार्वजनिक गरिएका ९ सय ९८ नाममध्ये कतिपय भने योगदान र सेवाका आधारमा छनोटमा परेका छन् । प्रमुख विभूषण पाउनेमा सरकारमा रहेका दल, तिनका नेताका निकटस्थ बढी देखिन्छन् ।

यो वर्ष सबैभन्दा ठूलो विभूषण नेपाल रत्नबाट कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त दिइएको छ । दोस्रो ठूलो विभूषण एमालेका तत्कालीन नेता जीवराज आश्रित (मरणोपरान्त) र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी तथा ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीलाई घोषणा गरिएको छ । तेस्रो ठूलो मानपदवी सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङलाई दिने घोषणा गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्रीका लागि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान र निर्वाचन आयोगका चार आयुक्तसहित १४ जना छानिएका छन् । सुकीर्तिमय राष्ट्रदीपबाट वरिष्ठ कलाकारहरू नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित १७, सुप्रबल जनसेवाश्रीबाट दिवंगत तीन जनासहित १ सय ६५ तथा कीर्तिमय राष्ट्रदीपबाट ६, प्रबल जनसेवाश्रीबाट ३ सय ३२, राष्ट्रदीप २ जनालाई, जनसेवाश्री २ सय ७, अलंकारतर्फ १ सय ६९ र पदकतर्फ १ सय ८० जनालाई घोषणा गरिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा सुरक्षा फौजको कारबाहीमा मारिएका ‘जनयुद्धका पहिलो सहिद’ दिलबहादुर रम्तेललाई सुप्रबल जनसेवाश्री र द्वन्द्वकालमै माओवादीबाट मारिएका रुकुम चौरजहारीका कांग्रेस कार्यकर्ता हरिभक्त वलीलाई प्रसिद्ध प्रबल जनसेवाश्री (मरणोपरान्त) घोषणा गरिएको छ । विभूषण पाउनेमा सत्ता र शक्तिनिकटका धेरै छन् ।

प्रकाशित : आश्विन ४, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?