१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिलो पटक गाउँमै भोट हाल्दै मासपुरवासी

‘गाउँमै भयापुडा (भएको बेला) भोट हाल्नेछौँ नत्र अठ गयो (यस्तै हो)’
चाँदनी कठायत

वीरेन्द्रनगर — हुम्लाको ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका ८२ वर्षीय आउसे रोकायाले पहिलो संविधानसभाको चुनावयता भोट हालेका छैनन् । मतदान गर्नकै लागि तीन दिन हिँड्नुपर्ने भएपछि उनले ०६४ सालयता भोट नहालेका हुन् । ‘उहीबेला तन्नेरी थियाँ, भोट हाल्न गयाँ,’ उनी भन्छन्, ‘आजौँडा बुडो भयाँ हँट्न डुल्न सक्दैन तीन दिन हटिकन भोट हाल्न जान काँ सक्न्याँछौँ ।’

पहिलो पटक गाउँमै भोट हाल्दै मासपुरवासी

मासपुरवासीलाई हरेक चुनावमा मतदान केन्द्र पुग्न एक–दुई दिन, भोट हाल्न एक दिन र फर्किँदा एक दिन गरी तीन दिन लाग्छ । ‘गाउँमै भयापुडा (भएको बेला) भोट हाल्नेछौँ नत्र अठ गयो (यस्तै हो),’ रोकायाले भने ।’

भोट हाल्नका लागि तीन–चार दिनसम्म पुग्ने रासन बोकेरै मासपुरवासी जानुपथ्र्यो । तर आगामी मंसिर चार गतेको चुनावमा भने उनीहरुले गाउँमै भोट हाल्न पाउनेछन् ।

भोट हाल्न तीन चार दिन हिँड्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि निर्वाचन आयोगले पहिलो पटक मासपुर गाउँमा मतदान केन्द्र राख्ने निर्णय गरेको छ । आयोगले मासपुर गाउँमा रहेको बानादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राख्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए ।

मासपुरकी स्थानीय कौशिला बुढाले तीन दिन हिँडेर मतदान स्थलमा पुग्नुपर्ने भएकाले अहिलेसम्म मतदान नगरेको बताइन् । ‘भोट हाल्न धेरै दिन लगाएर हँट्नुपर्ने भएपछि भोट हाल्न जानाइन्थ्यौँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त हामी नेपाली पन होइनौँ कि जसो लाग्थ्यो तर अब दु:ख नहुने भयो ।’

मतदानस्थल टाढा भएकाले यसअघि मासपुर गाउँका युवा मात्र मतदान गर्न जाने गरेका थिए । तर अब भने गाउँमै मतदान केन्द्र बन्ने भएपछि स्थानीयले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । अबदेखि आफ्नै गाउँमा मतदान गर्न पाउने भएपछि मासपुरवासी हर्षित भएका छन् । ‘उहीबेला निर्वाचन आयोग भन्दै छाचुरी बोकी दौडधुप गर्दा थियौँ,’ स्थानीय टेकबहादुर रोकायाले भने, ‘अब यहीँ भोट हाल्ने भन्याछन् निको (राम्रो) भयाछ ।’

उनले विगतमा मतदान केन्द्र टाढा भएकाले मतदानमा धेरै नागरिक सहभागी हुन नसकेको बताए । ‘छाँचुरी बोकेरै जानुपथ्र्यो,’ उनले भने, ‘बुडाबुडी त हँट्न (हिँड्न) सक्ताइनन्, अब सबैले भोट हाल्न पाउने भयौँ ।’

आफूहरुलाई नेताहरुले चटक्क बिर्सिएको गुनासो टेकबहादुरले गरे । ‘पहिला तीन–चार दिन हँटिकन भोट हाल्यौँ,’ उनले भने, ‘नेता कहिल्यै पन फर्किएर ह्याँ आयानन् हाम्डा कुरा पन सुन्यानन् । भोट हाल्दा दिन भोट हाल्यौँ, त्यसपछि हामी को नेता हुन् को क्या हुन् केही राया नै (थाहा पाएनौँ) ।’

निर्वाचन कार्यालयका सूचना अधिकारी रानाका अनुसार मासपुर गाउँमा रहेको मतदान केन्द्रमा ५० जना मतदाता छन् । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम मतदाता मतदान केन्द्र मासपुर गाउँमा छन् । मासपुर गाउँमा २३ घरधुरीका १ सय ३ जना छन् । गाउँमा मतदाता परिचय पत्र भएका ५० जना छन् ।

कार्यालयका अनुसार ६० वर्षमाथिका १० जना मतदाता छन् । सदरमुकाम सिमकोटबाट पाँच दिन पैदल यात्रा गरेर मासपुर पुगिन्छ । राष्ट्रिय जनगणना २०४८ सालमा समेटिएको मासपुर त्यसयता ०५८ र ०६८ मा समेटिएन । ०७८ को जनगणनामा भने समेटिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?