२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अन्सारीको विवादास्पद विगत: हत्या अन्तर्राष्ट्रिय गिरोहबाट भएको आशंका

जालीनोट र हत्या अभियोगमा ८ वर्ष ७ महिना जेल परेका अन्सारी ६ वर्षअघि छुटेका थिए  

काठमाडौँ — काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायीको गोली हानी हत्या भएको छ । तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालन सर्लाहीका लाल मोहम्मद अन्सारीलाई अज्ञात समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले बताए ।

अन्सारीको विवादास्पद विगत: हत्या अन्तर्राष्ट्रिय गिरोहबाट भएको आशंका

सोमबार साँझ गोली लागी घाइते उनलाई सुरुमा शंखरापुर अस्पतालमा लगिएको थियो । सो अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा केही बेरमा चिकित्सकले मृत घोषणा गरेका थिए । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।

मृतक अन्सारी सर्लाहीको गौडैता नगरपालिका-१० मनहरवाका स्थायी बासिन्दा हुन् । केही वर्षअघि परिवारका साथ काठमाडौंमा बस्दै आएका अन्सारीको विगत भने आपराधिक पृष्ठभूमि रहेको देखिन्छ ।

यद्यपी उनको व्यस्त सडकमा अपरिचित समूह हत्या गरि फरार हुनुले हत्या र गोलीकाण्डका पुराना शृंखलालाई ताजा बनाइदिएको छ । हत्या गरिएका ५७ वर्षिय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका थिए । जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले उनी चिनिएका थिए । उनी व्यक्ति हत्या र जालीनोटको कारोबारमा कैद सजाय भुक्तान गरि २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावका लागि सरकारले सुरक्षा व्यवस्थामा चुस्त बनाएको दाबी गरिरहँदा राजधानीमै गोली प्रहार गरि हत्या भएको हो । प्रहरी स्रोतका अनुसार जोरपाटी नयाँ बस्तीमा गार्मेन्ट र झोला बनाउने फ्याक्ट्री छ । नक्कली भारतीय रुपैयाको कारोबारमा मुछिएका उनी कुमार श्रीवास्तव भन्ने व्यक्तिसँग सम्पर्कमा रहेका उनीसँगै २ पटक बंगलादेश गएका थिए । बंगलादेशबाट फर्केपछि अन्सारी पक्राउ परेका थिए । उनीसँग सम्पर्कमा रहेका पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतले बताउँछ । जेलपछि आफ्नो स्वार्थ नमिलेपछि अन्तर्राष्ट्रिय गिरोहले अन्सारीमाथि निसाना साँधेको हुनसक्ने स्रोतको भनाइ छ ।

विगतका हत्याको झल्को

यसअघि भारतीय कुख्यात अपराधिक समूहको संलग्नतामा पटक पटक नेपाली नागरिक मारिँदै आएका छन् । सोमबार भएको अन्सारीको हत्या साढे २ दशक यता अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको विगतका घटनासँग मिल्दोजुल्दो देखिन्छ । अन्सारी पनि विगतमा जाली नोट कारोबारसँग जोडिएको र त्यसविरुद्ध भारतीय सत्ताको संरक्षणमा रहेका आपराधिक गिरोहको निशानामा हुनसक्ने स्रोत बताउँछ ।

२०६६ असोज १९ मा नेपालगञ्जका व्यवसायी अब्दुल मजिद मनिहारको गोली हानी हत्या भएको थियो । हत्यामा भारतीय कुख्यात अपराधी मनमित सिंह भनिने मनमित भाटियाको संलग्नता खुलेको थियो । उनले पछि सञ्चार उद्यमी युनिस अन्सारी केन्द्रीय कारागारमै हत्या प्रयास गरेका थिए । कारागार बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो । २०६६ माघ २४ सञ्चार उद्यमी जमिम शाह लाजिम्पाटमा दिनदहाडै मारिए । सो घटनामा पनि भारतीय आपराधिक समूहकै संलग्नता खुलेको थियो । इस्लामिक संघका महासचिव फैजान अहमद काठमाडौंको घण्टाघरमा मारिएका थिए । पछिल्लो पटक २०७५ असोज ४ मा सुनसरीका विद्यालय सञ्चालक खुर्शिद आलम गोली प्रहारबाट मारिए । २०५५ असोज १५ मा राप्रपा सांसद मिर्जादिल साद बेग सिफलमा मारिएका थिए । घटनामा भारतीय कै संलग्नता खुलेको थियो । माथिका यी सबै घटनामा भारतीय कुख्यात गिरोहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुले पनि उनीहरुको गतिविधि अझै पनि जारी रहेको प्रहरी स्रोत बताउँछ ।

सोमबार गोठाटारमा भएको गोली प्रहार र हत्या सम्बन्धी घटनामा पनि भारतीय गिरोहको संलग्नता रहेको प्रहरीको आशंका छ । करिब एक दशक कारागारमा बसेका मृतक अन्सारी यसअघि पनि भारतीय गिरोहको निशानामा रहेको र उनी जेलबाट छुटेपछि निगारानी बढाउँदै लगेर उनलाई निशानामा पारेको हुनसक्ने आशंका छ ।

पारिवारिक स्रोतका अनुसार उनी केही वर्षअघि केन्द्रीय कारागारबाट छुटेका थिए । त्यसपछि काठमाडौंका परिवारका सदस्यसहित बस्दै आएका उनले गार्मेन्ट फ्याक्ट्रीको सञ्चालन गरिरहेका थिए । घटनापछि प्रहरीको विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायत विशिष्ठिकृत अपराधको अनुसन्धान गर्ने युनिटबाट प्रहरी अनुसन्धानमा खटिएका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले घटनाको अनुसन्धान भैरहेको र यसका लागि सबै उपाय अपनाएर अनुसन्धान अधिकृत खटिएको बताए ।

घटनासँग जोडेर भारतीय र पाकिस्तानी केही संदिग्ध व्यक्ति प्रहरीको निगरानीमा छन् । सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ । केही नेपाली पनि घटनामा अनुसन्धानको दायरामा तानिएको स्रोतले बताएको छ ।

प्रकाशित : आश्विन ३, २०७९ २३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?