१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दलहरूले आयोगमा बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका छन् । सोमबार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको सूची बुझाएका हुन् ।

दलहरूले आयोगमा बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

आयोगले आइतबार र सोमबार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधि भित्र राजनीतिक दलहरूले आफ्ना आफ्ना उम्मेदवारहरूको बन्द सूची आयोगमा पेस गरेका छन् । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायत दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।

उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको बताए । यस क्रममा उनले नेपाली कांग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको पनि बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जना नेतालाई पनि प्रतिनिधिसभामा सिफारिस भएका छन् ।

उनले विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधानसभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरूलाई बन्दसूचीमा नराखेको बताए । यस्तै पार्टीले युवाहरूलाई विशेष जोड दिएको उनको भनाइ थियो ।

त्यस्तै बन्दसूची बुझाएपछि नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरूलाई नदोहोर्‍याएको बताए । उनले समानुपातिक सूचीमा कोही पनि पुराना नेताहरू नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको बताए ।

त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्द सूचीको नाम पेस गरेको बताए । उनले केन्द्रीय पदाधिकारीहरू सबै प्रत्यक्षमा चुनाव लड्ने पनि जानकारी दिए ।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरूले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्द सूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुन्छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?