संविधान दिवस : पूर्वसांसद कुशवाहाको जन्मकैद सजाय मिनाहा

एमाले नेता महमुद आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वसांसद कुशवाहालाई संविधान दिवसका अवसरमा आममाफी
भूषण यादव

वीरगन्ज — एमाले नेता महमुद आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका संविधानसभा सदस्य रामचन्द्र कुशवाहा (प्यासी) संविधान दिवसको अवसरमा सोमबार वीरगन्ज कारागारबाट रिहा भएका छन् ।

संविधान दिवस : पूर्वसांसद कुशवाहाको जन्मकैद सजाय मिनाहा

संविधानसभाको दोस्रो निर्वाचनको समयमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ मा एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलममाथि गोली प्रहार भएको थियो ।

बाराको परवानीपुरस्थित एक उद्योग अगाडि आलममाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका आलमको असोज २४ मा काठमाडौंमा निधन भएको थियो । गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धानपछि आलम हत्याको मुख्य योजनाकार प्यासी रहेको खुलेको थियो । अदालतले प्यासीलाई महमुद आलमको ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

वीरगन्ज कारागारका जेलर मदन घिमिरेले रामचन्द्र कुशवाहा संविधान दिवसको उपलक्ष्यमा रिहा भएको जनाए । ‘कानुनमा ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई छाड्ने व्यवस्था छ, त्यसैको प्रयोग गरी संविधान दिवसको अवसरमा कुशवाहा रिहा भएका हुन्,’ जेलर घिमिरेले भने । उनका अनुसार संविधान दिवसको अवसरमा रिहा हुने कैदीबन्दीहरुको नाम कारागारबाट सिफारिस भएर कारागार विभागमा पठाइन्छ ।

‘कारागार विभागले नामहरु केही छाँटेर मन्त्रिपरिषद्मा पठाउँछ,’ जेलर घिमिरेले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि कैदीहरुको नाममा राष्ट्रपतिकहाँ पठाइन्छ, राष्ट्रपतिले स्वीकृति दिएपछि संविधान दिवसको दिनमा कैदीहरु रिहा हुने गरेका छन् ।’ कारागारबाहिर प्यासीका समर्थकहरुले अबिर र फूलमाला लगाइ स्वागत गरेका थिए । प्यासीसहित वीरगन्ज कारागारबाट सोमबार ३८ जना कैदीहरु रिहा भएका छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?