मलाई महारानीले नामैले बोलाउनुहुन्थ्यो : भीसी लिम्बू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलाई महारानीले नामैले बोलाउनुहुन्थ्यो : भीसी लिम्बू

बेलायती राजदूत भीसीको दमक घरमा
कान्तिपुर संवाददाता

काठमाडौँ — भिक्टोरिया क्रस(भीसी) विजेता रामबहादुर लिम्बूले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक समवेदना जनाउँदै शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

शोक पुस्तिका लिएर काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिट सोमबार झापा, दमकस्थित लिम्बू निवासमा पुगेकी थिइन् ।

‘मैले गोर्खा अफिसरका रुपमा महारानी एलिजाबेथको सेवा गर्न पाएको थिएँ,’ भिसी लिम्बूले राजदूत पोलिटसमक्ष भने, ‘महारानीले मलाई मेरै नामले बोलाउनुहुन्थ्यो, परिवारका बारेमा सोधपुछ गर्नुहुन्थ्यो ।’ आफूले सन् १९८६ मा महारानी एलिजाबेथ नेपाल आउँदा पनि भेटघाट गर्न पाएको स्मरण भीसी लिम्बूले गरेका थिए ।

महारानीको निधनपछि लण्डनमा आयोजित अन्त्येष्टि समारोहमा सरिक हुन बेलायत सरकारले निम्ता दिएर पनि आफ्नो स्वास्थ्य स्थितिका कारण जान नसकेकोमा लिम्बूले दु:ख मानेका थिए । ‘म महारानीकाे मलामीमा जान पाइनँ । दु:खी छु,’ राजदूत पोलिटसामू उनले भनेका थिए ।

पाँचथरको च्याँगथापुमा ८३ वर्षअघि जन्मिएका लिम्बूले ब्रिटिस गोर्खामा रहेर साहसिक सैन्य जिम्मेवारी पूरा गरेकोमा सन् १९६६ मा लण्डनमा महारानी एलिजाबेथका हातबाट भिक्टोरिया क्रस सम्मान थापेका थिए ।


प्रकाशित : आश्विन ३, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

सरिफाको व्यापार काठमाडौंसम्म

कान्तिपुर संवाददाता

धनकुटा — स्थानीय बजारमा मात्र सिमित सरिफा फल यस वर्षदेखि काठमाडौंलगायतका बजारमा समेत निकासी हुन थालेको छ । विगतमा जंगलमा मात्र सिमित सरिफालाई स्थानीयले व्यावसायिक उत्पादन थालेकाले यो सम्भव भएको हो ।

भदौदेखि स्थानीय बजारमा निस्किएको उक्त फलको व्यापार असोज मध्यसम्म आइपुग्दा करिब ५ लाख बढीको कारोबार हुने स्थानीय व्यापारी बताउँछन् । यस्तै स्थानीय कृषकसँग प्रतिकिलो ७० रुपैयाँमा खरिद गरी काठमाडौं, विराटनगर, लगायतका स्थानमा यहाँको सरिफा निकासी हुने व्यापारी जितेन्द्र राईले बताए ।

उनी एक्लैले एक महिनाको अवधिमा ७ लाखको निकासी गरेका छन् । स्थानीय उत्पादकबाट खरिद गरेर जिल्ला बाहिर निकासी गर्ने अन्य कम्तिमा ६ व्यापारी रहेको राईले बताए । दसैंमा काठमाडौंबाट फर्कनेको संख्या अधिक भए पनि जाने यात्रु नगण्य भएकाले ती सवारीसाधनमा समेत दैनिक सरिफा र एभोकाडो बाहिरिने गरेको यातायात व्यवसायी यादव अधिकारी बताउँछन् ।

धनकुटा नगरपालिका–८ सान्ताङ, तेत्रेदाङ, याक्ते क्षेत्रमा स्थानीयले यसको व्यावसायिक उत्पादन गर्दैछन् । ती स्थानमा खरिदका लागि व्यापारी गाडी लिएर बोटैमा पुग्ने गरेको तेत्रेदाङका कृषक जिद्धबहादुर आठपहरियाले बताए । यो पूर्णरूपमा अर्ग्यानिक फल मानिएकोले बजारमा यसको माग बढी हुने गरेको स्थानीयको दाबी छ । जंगलबाट बिरुवा ल्याएर ६ रोपनी क्षेत्रफलमा व्यावसायिक उत्पादन गर्दै आएका आठपहरियाले बेचेरै मासिक ५० हजार रुपैयाँ कमाइ गरेको बताए ।

खासगरी बेंसी क्षेत्रका जंगलमा भदौदेखि दुई महिना सरिफा फल्ने गरेको स्थानीय देवकुमारी आठपहरियाले बताइन् । बोटमा नपाक्ने र काँचै टिपेर ओइलाए पछि पाक्ने उक्त फल गाई बाख्रा एवं वन्यजन्तुबाट पनि सुरक्षित रहने स्थानीय तीर्थ राईले बताए ।

प्रकाशित : आश्विन ३, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×