अछाम पहिरो : थप एक शव भेटियो, एक अझै बेपत्ता- समाचार - कान्तिपुर समाचार

अछाम पहिरो : थप एक शव भेटियो, एक अझै बेपत्ता

मृत्यु हुनेमा ७ परिवारका २२ पुगे, प्रतिपरिवार ७/७ लाख रुपैयाँ राहत
कान्तिपुर संवाददाता

अछाम — पहिरोले घर पुरिँदा बेपत्ता भएका ढकारी गाउँपालिका–६ मा थप एक जनाको शव भेटिएको छ । योसँगै अछाममा गत शुक्रबार रातिको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या सात परिवारका २२ जना पुगेको छ । एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार अबेर राति भेटिएको उक्त शवको सनाखत हुन बाँकी छ । पहिरोमा परेर तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको थियो । ढकारी–६ ढुंगाचाल्नामा १, कमलबजार–८ डुंगालामा ५, कमलबजार–६ हात्तीबाँझमा ७ जनाको मृत्यु भएको थियो । तुर्माखाँद–५ नाडाका एक जनालाई आइतबार साँझसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

पहिरोले विस्थापित तीन स्थानीय तहका २३ परिवारलाई त्रिपालमा सुरक्षित स्थानमा सारिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री बलबहादुर सोडारीले आइतबार घटनास्थल पुगेर मृतकका आफन्तलाई राहत उपलब्ध गराएका छन् । मृतकका ७ परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ दिइएको छ । विस्थापित २३ परिवारलाई मन्त्रीहरू कुँवर र सोडारीले व्यक्तिगततर्फबाट १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका छन् ।

श्रममन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी बाढीबाट प्रभावित चार गाउँको स्थलगत निरीक्षणसमेत गरेका थिए । अहिले थोरै मात्रामा राहत उपलब्ध गराएको र पीडित परिवारलाई आवश्यक थप राहत सोमबारबाट उपलब्धता गराउने प्रजिअ मरासिनीले जानकारी दिए । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवश्यक सामग्री संघीय सरकारबाट सहयोग गरिने प्रजिअ मरासिनीले बताए ।

प्रकाशित : आश्विन २, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्

भेट्रान कपको उपाधि मोरङलाई 

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा आयोजित तीनदिने ‘मञ्जुदेवी गुप्ता स्मृति’ दोस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चितवन भेट्रानलाई २–० ले पराजित गर्दै उसले उपाधि जितेको हो । उपाधिसँगै टोलीले १ लाख ५० हजार नगद र ट्रफी तथा उपविजेता चितवनले ७५ हजार नगद हात पारे । 

मोरङबाट डेनिम राई र विनोद धिमालले योगदान दिए । पहिलो हाफमा डेनिम र दोस्रो हाफमा विनोदले गोल गरेपछि मोरङ उपाधि उचाल्न सफल भयो । चितवनको प्रदर्शन राम्रो भए पनि उसले अवसरलाई सदुपयोग गर्न सकेनन् । अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेपछि चितवन उपविजेतामै सीमित भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई घोषित भए । अन्य विधागत पुरस्कारतर्फ गोलरक्षक मोरङका मीनबहादुर बस्नेत, रक्षक मोरङकै रमेशकुमार बस्नेत, मिडफिल्डर चितवनका यमु राना र उच्च गोलकर्ता सिमराका गोपी भट्ट घोषित भए । नेपाल र भारतका १६ टिमले प्रतियोगितामा भाग लिएका थिए । विजेताहरूलाई मञ्जुदेवीकी छोरा समाजसेवी श्याम गुप्ताले पुरस्कार ट्रफी वितरण गरे । गुप्ताले आमाको नामबाट निजी खर्चमा गत वर्षदेखि भेट्रान कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएका हुन् ।



प्रकाशित : आश्विन २, २०७९ २२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×