जबरालाई सर्वोच्चमा प्रवेश नदिन सरकारको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरालाई सर्वोच्चमा प्रवेश नदिन सरकारको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो ।

सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । बाहिर निस्कन प्रतिकूल अवस्था रहेको भन्दै जबरालाई अदालत नजान भनिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा कार्यालय समयअघि नै जनशक्ति परिचालन गरिएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ(शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा भेला भएका छन् ।

शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले भने आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए । आइतबारदेखि नियमित काममा फर्कन थालेकाले आवश्यक तयारी गर्न भन्दै उनले कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीको आ–आफ्नो समूहमा तीव्र छलफल भएको थियो । संसदीय छानबिन समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्ष छलफलले निकालेको थियो ।

न्यायिक विचलन र भ्रष्टाचारको आरोप लगाउँदै ९८ सांसदले गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित भएका थिए । प्रतिनिधिसभाले ढिलो गरी गठन गरेको महाभियोग सिफारिस समितिले उनीसँग बयान लिएर तथा सरोकारवाला कानुन व्यवसायीहरूसँग पनि छलफल गरेर शनिबार प्रतिवेदनलाई अन्तिम रूप दिएको हो ।

यस्तै, संघीय संसद् सचिवालयले जबराकाे निलम्बनबारे गत फागुन १ गते पत्र पठाउँदै जबरालाई महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराएको थियो । जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन ।

प्रकाशित : आश्विन २, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

सम्झिइए सरोजगोपाल

दीपक परियार

पोखरा — पाँच दशकअघि नेपाली संगीत क्षेत्रले एकै दिन दुई कालजयी गीत पायो । ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर...’ र ‘खुट्टैमा निल परे पर्ला झ्याउँरेमा ननाची छोड्दिनँ...’ । संयोग के थियो भने दुवै गीतका रचनाकार एकै व्यक्ति थिए, सरोजगोपाल बज्राचार्य । ०२८ चैत २८ मा रेडियो नेपालमा रेकर्ड भएका यी दुई गीतको चर्चा गायिका तारा थापाले शनिबार पोखरामा गरिन् । 

‘देउराली उकाली...’ सरोजगोपालले आफ्नै संगीत र स्वरमा गीत रेकर्ड गराएका थिए । अर्को गीत सीके रसाइलीको संगीतमा पूर्ण नेपाली र तारा थापाले युगल रेकर्ड गराए । सरोजगोपाल र तारा थापाले त्यस दिन पहिलोपल्ट गीत रेकर्ड गराएका थिए । रेडियो नेपालबाट बज्न थालेपछि दुई गीतले दुवैलाई चर्चाको चुलीमा पुर्‍याइदियो । थापालाई शनिबार पोखरामा ‘सरोजगोपाल स्मृति साँझ’ मा थापाले गायक रामभक्त जोजिजुसँग त्यही गीत गाइन् । ‘मेरो सांगीतिक यात्राको एउटा महत्त्वपूर्ण र कहिले पनि भुल्न नसकिने नाम हो सरोजगोपाल,’ पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो संस्थापक अध्यक्षको आठौं स्मृति दिवसमा गरेको सांगीतिक साँझमा उनले भनिन्, ‘जब–जब मेरो सांगीतिक यात्राबारे कुराकानी हुन्छ तब मेरो पहिलो गीत र गीतकारको बारेमा भन्नुपर्ने हुन्छ ।’

स्मृति साँझमा कलाकारले सरोजगोपालको शब्द, संकलन, संगीत र स्वरमा रहेका चर्चित एक दर्जन गीत प्रस्तुत गरे । उनकी श्रीमती बाबा राणाले सरोजगोपालको शब्द तथा संगीत रहेको ‘बिर्सी जाने निष्ठुरीलाई सम्झँदै सम्झँदै बसुँला...’ गाउँदा माहोल भावुक बन्यो । सरोजगोपालका छोरा फिरोजगोपाल बज्राचार्यले बुबाको सम्झनामा ‘तोरी हरियो, माया लाउनाले बीचै परियो...’ र ‘गाईले पराज खायो बरिलै...’ गाए । गायक विनोद बानियाँले सरोजगोपालको पहिलो र चर्चित गीत ‘देउराली उकाली चढेर...’ गाउँदा दर्शकबाट ‘वान्स मोर’ आइरह्यो ।

लोक गायिका कविता आलेमगर, रामभक्त जोजीजू, इतु जोजिजुले सरोजगोपालका सदाबहार गीत प्रस्तुत गरे । ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले...,’ ‘सँइको घर काँ हो काँ..’, ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल..’ लगायत गीत पोखरा उद्योग वाणिज्य संघको हलमा गुन्जियो ।

कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालको सांगीतिक आकाशमा सरोजगोपालको देन अविष्मरणीय रहेको बताए । प्रकाश सायमीले सरोजगोपालसँगको आफ्नो सामीप्यताबारे सुनाए । सरोजगोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीत संगीतबद्ध गर्नुका साथै आफ्नो मौलिक आवाज दिएका थिए । २००९ मंसिर २ मा जन्मिएका उनले गीत गाउन थालेपछि सर्जकहरु जातपातभन्दा माथि हुने भन्दै आफ्नो थर हटाएर ‘सरोज गोपाल’का रुपमा आफूलाई चिनाए ।

नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागिरे जीवन बिताएका उनले ०४७ मा त्यहाँबाट स्वैच्छिक अवकाश लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रसारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । पछि पोखराकै माछापुच्छ्रे एफएममा स्टेसन प्रमुखका रुपमा काम गरे । २०७१ साउन २९ मा ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनकै नेतृत्वमा ०३४ मा पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो ।

प्रकाशित : आश्विन २, २०७९ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×