३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दोलखाबाट हराएका सम्पदा बेलायत-अमेरिकामा

‘लक्ष्मी–नारायण मूर्ति र भैरव मास्क किन्ने संग्रहकर्ता एकै थिए’
देवेन्द्र भट्टराई

काठमाडौँ — दोलखाको नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा फेला परेलगत्तै यही गुठीबाट चोरिएको अर्को भैरव मास्क (हाथो द्यो) डल्लास म्युजियम अफ आर्टमा फेला परेको छ ।

दोलखाबाट हराएका सम्पदा बेलायत-अमेरिकामा

हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आर्ट्स् अफ नेपाल’ का अनुसार सोह्रौं शताब्दीको कृति मानिएका यी मास्क सन् ९० को दशकमा एकैपटक हराएका थिए । दोलखावासी सम्पदाप्रेमी अनिलचन्द्र श्रेष्ठले उपलब्ध गराएको भैरव मास्कको पुरानो तस्बिरका आधारमा डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मास्क पहिचान भएको हो । ‘म आफैंले यो तस्बिर लिएको होइन, अरु अग्रजहरुबाट पाएको तस्बिर उपयोगमा ल्याएको हुँ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘स्थानीय अग्रजका अनुसार २७ वर्षअघिको इन्द्रजात्राका अवसरमा यी मास्क प्रदर्शनीमा थिए । गुठी (टोलघर) अन्तर्गत रहने यस्ता दर्जनौं पुरातात्विक सम्पदा दोलखाबाट हराइरहेका छन्, अहिले हाम्रा सम्पदा अमेरिका/बेलायततिर रहेको सुन्दा अचम्म लागेको छ ।’

श्रेष्ठका अनुसार दोलखाका विभिन्न बस्ती र टोलहरुमा रहेका पारिवारिक गुठीका घरहरु अहिले भत्किएको र संरक्षणविहीन अवस्था छन् । डल्लास म्युजियममा राखिएको भैरव मास्कको शिरताज र कानको मुन्द्रीको सानो अंश पुरानो तस्बिरमा झैं टुक्रिएको देखिन्छ । ४० वर्षअघि पाटनको पट्को टोलबाट चोरिएको र डल्लास म्युजियममै फेला परेको लक्ष्मी–नारायण (बासुदेव–कमलाजा) मुर्ति गत फागुनमा नेपाल फर्काइएको थियो । उक्त मूर्ति अमेरिकी कला संग्रहकर्ता डेभिड टी ओस्लेले डल्लास म्युजियमलाई उपहारमा दिएका थिए । अहिले डल्लासमा भेटिएको भैरव मास्क पनि उनै संग्रहकर्ता ओस्लेले म्युजियमलाई उपहारमा दिएको प्रमाण पाइएको छ ।

‘लस्ट आर्ट्स् अफ नेपाल’ का अनुसार गुठी संरक्षण र परम्परा नासिएसँगै हजारौं सम्पदा हराउने र चोरिने गरेको दृष्टान्त छ । यी सांस्कृतिक सम्पदाको घरफिर्तीसँगै गुठी परम्पराको जर्गेना गर्नु जरुरी रहेको बिज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित : आश्विन १, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?