कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तीन जोड एक कमान्डमा काम गर्न सेनालाई के भयो कठिनाइ ?

कमान्ड संरचना नरहने, प्रदेशकै आधारमा सात पृतना र उपत्यका पृतना ब्युँतने
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले ‘तीन जोड एक (थ्री प्लस वान)’ कमान्डमा काम गर्न प्राविधिक र प्रशासनिक रूपमा कठिन भएको निष्कर्ष निकाल्दै आठवटा पृतनाको पुरानै संरचनालाई ब्युँताएको छ । अघिल्लो सैनिक नेतृत्वले राष्ट्रिय सुरक्षा र मुलुकको भूबनोटको हिसाबमा पृतना खारेज गरेर तीन जोड एकको अवधारणाअनुसार एक वर्षअघि नयाँ संरचना खडा गरेको थियो ।

तीन जोड एक कमान्डमा काम गर्न सेनालाई के भयो कठिनाइ ?

सेनाले भदौ २१ को मन्त्रिपरिषद् निर्णयअनुसार अब तत्कालै पृतनाहरू खडा हुने जनाएको छ ।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको अन्त्यमा तीन जोड एकको अवधारणामा पूर्वी कमान्ड, पश्चिम कमान्ड, मध्यकमान्ड र उपत्यका कमान्डको संरचना खडा गरेका थिए । पूर्वी कमान्ड कोसी, मध्यकमान्ड गण्डकी र पश्चिम कमान्ड कर्णाली नदीको बहावका आधारमा निर्धारण गरिएको थियो । उपत्यका कमान्ड केन्द्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर राखिएको थियो । कमान्डलगत्तै मुनि वाहिनी हुन्थे । त्यसअघि वाहिनीमाथि रहँदै आएको पृतना खारेज गरिएको थियो । सैनिक प्रवक्ता नारायण सिलवालले यो साताभित्रै कमान्डका कुनै पनि संरचना नरहने र फेरि पृतनामै फर्किने बताए । उनका अनुसार अब पुरानै संरचनाअनुसार पूर्वी, मध्यपूर्वी, मध्य, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना हुनेछन् ।

मुलुक संघीय संरचनामा गएपछि प्रदेशलाई आधार बनाएर ७ प्रदेश र उपत्यकामा गरी ८ वटा पृतना कायम गरिएको थियो । तर २०७८ असार २४ मा मन्त्रिपरिषद्ले सबै पृतनालाई हटाएर कमान्ड संरचनामा लाने निर्णय गरेको थियो । सैनिक प्रवक्ता सिलवालले व्यावहारिक र प्राविधिक कठिनाइ हटाउन पृतना ब्युँताइएको बताए । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले पृतना ब्युँताउने निर्णय गरेको उनले जानकारी दिए । ‘कमान्ड अवधारणामा रहन्छ तर संरचनामा रहँदैन । त्यस विषयमा थप गृहकार्य गर्न बाँकी नै छ । अहिले निर्वाचनअघि सातवटै प्रदेशमा पुरानै हिसाबमा पृतना हुन्छ । उपत्यकामा पनि एउटा पुरानै पृतना हुन्छ । पृतनापतिहरू यसै साताभित्र काममा जान्छन्,’ उनले भने ।

कमान्डको नेतृत्व गरिरहेका उपरथिले नै पृतनाको नेतृत्व गर्नेछन् । नेपालमा २०७२ सालमा संविधान जारी हुनुअघि सेनामा ५ विकास क्षेत्र र उपत्यकामा गरी ६ पृतना थिए । संविधान जारी भएपछि हरेक प्रदेशमा एक पृतना राख्ने निर्णयअनुसार पृतना संख्या बढाइएको थियो । अवकाशप्राप्त उपरथि पूर्ण सिलवालले पहिले धेरै गृहकार्य गरेर पृतना लागू गरिएको तर नयाँ कमान्ड संरचनामा जाँदा पर्याप्त गृहकार्य नभएको बताए । ‘वाहिनीभन्दा माथि पृतना, त्यसपछि चमु कोर र कमान्ड हुनुपर्ने थियो । वाहिनीपछि सिधैं कमान्ड संरचनामा जाँदा ठूलो ग्याप पनि हुन्छ । त्यसले काम गर्न गाह्रो भएका कारण पुरानै संरचनामा सेना फर्कनुपरेको हो,’ उनले भने ।

सुरक्षा जानकार सांसद दीपकप्रकाश भट्ट सेनामा जो प्रमुख आयो, उसले आफ्नै हिसाबमा काम गर्दा संरचनामा समस्या आएको बताउँछन् । ‘जुन हिसाबमा गृहकार्य गरेर कमान्डमा जानुपर्थ्यो, त्यो नभएकाले छोटो समयमा सेना पुरानै अवस्थामा फर्कनुपरेको हो,’ उनले भने, ‘तीन गुल्म भए भने केही अन्य कम्पोनेन्ट लिएर गण बन्छ । तीनवटा गण भएपछि केही अन्य कम्पोनेन्ट लिएर वाहिनी बन्छ । तीनवटा वाहिनी भएपछि पृतना बन्छ । तीन जोड एकको अवधारणामा त्यसरी गृहकार्य भएको थिएन ।’ सेनालाई अहिलेको हिसाबमा प्रविधि र आधुनिक हातहतियारले नै बलियो बन्ने भट्ट बताउँछन् । ‘सेनाले अत्याधुनिक हतियार प्रयोग गर्छ भन्ने मानिन्छ तर हामीकहाँ सबै पुराना छन्,’ उनले भने ।

अवकाशप्राप्त उपरथि विनोज बस्न्यात पृतनालाई नै बलियो बनाउनुपर्ने धारणा राख्छन् । ‘संरचना परिवर्तन हुँदा हातहतियार, बजेट, मानव संशाधन, भौतिक पूर्वाधार, अपरेसनल कुरा जोडिन्छ,’ उनले भने, ‘(अघिल्ला प्रधानसेनापतिले) नयाँ–नयाँ योजना ल्याइदिँदा अहिलेका प्रधानसेनापतिलाई गाह्रो भयो र पुरानै संरचनामा फर्कनुपर्ने भयो ।’

प्रकाशित : भाद्र ३१, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?