कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुले उत्तरी नाका

रोकिएका सबै कन्टेनर सेप्टेम्बर २७ सम्ममा पठाइसक्ने चिनियाँ पक्षको भनाइ
नेपाली सामान चीनतर्फ निर्यात नभएको भने ३१ महिना पुगेको छ 

रसुवा‚ सिन्धुपाल्चोक — चीनको स्वशासित क्षेत्र तिब्बतमा गरिएको लकडाउनका कारण बन्द रसुवागढी र तातोपानी नाका खुलेका छन् । तातोपानीमा रोकिएका कन्टेनर शनिबारदेखि र केरुङमा रोकिएका कन्टेनर बिहीबारदेखि नेपाल भित्रिन थालेका हुन् । 

खुले उत्तरी नाका

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । नाका ठप्प हुँदा दसैं र तिहारका लागि आयात गरिएका करोडौं मूल्यका सामान केरुङमै रोकिएका थिए । बिहीबार बिहान ‘चाइना–नेपाल बोर्डर न्यु मोडालिटी’ र अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पालना भए–नभएको सम्बन्धमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेको थियो । त्यसपछि ७ वटा कन्टेनर नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए । उनका अनुसार ती कन्टेनर चिनियाँ पक्षले नेपाली भूभागसम्मै ल्याइदिएका हुन् । ती कन्टेनरमा रेडिमेड सामान छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले केरुङमा रोकिएका कन्टेनर आउन सुरु गरेको र चिनियाँ पक्षले चौबिसै घण्टा सामान पठाउन तयार रहेको जानकारी दिएको बताए । नाका बन्द हुँदा दसैं–तिहार र जाडोयामलाई लक्षित गरी आयात गरिएको सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘केरुङमा ५० वटा चिनियाँ कन्टेनरमा नेपाल ल्याउने सामान लोड गरेर राखिएको छ,’ उनले भने, ‘ती कन्टेनरमा दसैं–तिहार र जाडोमा लगाउने सामान छन् ।’ सामान लोड गरिएका २ सय ५० वटा नेपाली कन्टेनर सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए । ती सबै कन्टेनर आगामी सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको भन्सार प्रमुख मैनालीले बताए ।

दसैं–तिहारमा चिनियाँ तयारी पोसाकको माग नेपाली बजारमा बढी हुन्छ । चाडबाडको मुखैमा नाका बन्द भएर आयात रोकिँदा व्यवसायी मर्कामा परेका छन् । चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन नसकिए व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने हिमालय सीमापार व्यापार संघका निवर्तमान उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । अब सामान आयात हुन थालेपछि बजारमा अभाव हुने, महँगी बढ्नेलगायत समस्या कम हुने उनको भनाइ छ ।

तिब्बत अटोनमस रिजन (टार) ले तिब्बत क्षेत्रमा ७ अगस्ट अर्थात् साउन २२ देखि लकडाउन गरेको थियो । जसअनुसार उत्तरी नाकाहरू सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकैसाथ बन्द गरिएका थिए । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमलगयत क्षेत्रमा लकडाउन अझै जारी छ । दिनहुँ सयौं व्यक्तिको पीसीआर परीक्षण भइरहेको छ ।

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३१ महिना पुगेको छ । यहाँबाट मानिसको आवतजावत पनि बन्द छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । ०७६ माघ १५ देखि रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण बन्द भएको थियो । पछि कोरोना महामारीका कारण आयात–निर्यात प्रभावित बन्दै आएको छ । तातोपानी नाकाबाट भने गत शनिबारदेखि सामान आयात भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार शनिबारयता चीनको सिगात्से, न्यालम, खासा, ल्हासामा रोकिएका दसैं–तिहार लक्षित सामान बोकेका दर्जनौं कन्टेनर भित्रिइसकेका छन् ।

बिहीबार भित्रिएका ४ कन्टेनरमा २ वटामा क्रेन तथा बाँकीमा ऊन र रेडिमेड सामग्री रहेको उनले बताए । ‘एक महिना बन्द भएर खुलेको तातोपानी नाकालाई निरन्तरता दिने कि नदिनेबारे प्रश्न राखेका छौं, दुवै देशका अधिकारीबीच मिटिङ बस्ने कुरा आएको छ, अन्य प्रस्ट जवाफ केही पनि आएको छैन,’ खनालले भने ।

प्रजिअ खनालले सामाजिक सञ्जालमार्फत चीनको न्यालम काउन्टी प्रमुखसँग छलफल भइरहे पनि औपचारिक निर्णयका लागि बुझिरहेको बताए ।

त्यहाँका अधिकारीहरू आइसोलेसनमा रहेको र अनौपचारिक रूपमा रोकिएका कन्टेनर पठाउन मात्रै नाका खोलिएको चिनियाँ प्रहरीले जानकारी दिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?