कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संसद्‌को अवधि सकिनेबित्तिकै महाभियोग स्वत: निष्क्रिय हुन्छ : अध्यक्ष थापा

अवधेशकुमार झा

राजविराज — राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संसद्‌को समयावधि सकिनेबितिकै प्रधानन्यायाधीशमाथिको महाभियोग स्वत: निष्क्रिय हुने बताएका छन् । ‘महाभियोग लगाउने नै नभएपछि स्वत: निष्क्रिय हुने भइहाल्यो,’ थापाले भने,‘नयाँ संसद्‌ले यो महाभियोगको विषय कसरी र किन ग्रहण गर्ने ?’

संसद्‌को अवधि सकिनेबित्तिकै महाभियोग स्वत: निष्क्रिय हुन्छ : अध्यक्ष थापा

महाभियोग राजनीतिक कारणले लगाइएको दाबी गर्दै थापाले ललिता निवास प्रकरण, संसद् पुन:स्थापना र नेकपा (एस)का सासंद सम्बन्धी मुद्दाका विषय लिएर महाभियोग लगाइएको दाबी गरे । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले महाभियोग सिफारिस समितिमा महत्वपूर्ण र संवेदनशील विषय उठाएको भन्दै थापाले जबराले उठाएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।

सप्तरीको राजविराजमा बिहीबार संचारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष थापाले हिन्दु राज्यको पुन:स्थापना आफ्नो पार्टीको मूल एजेन्डा भएको दोहोर्‍याए । लोकतन्त्रको आवरणमा पछिल्लो समय नेपालमा ब्रह्मलुट भइरहेको र भ्रष्टाचारले बिकराल रुप लिएको भन्दै थापाले सीमित नेताहरुको मात्र हालीमुहालीले जनता निरास भएको बताए । उनले नेपालमा बाह्य शक्तिहरुको चलखेल भइरहेको समेत बताए । ‘चुनाव लड्न, सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आशीर्वाद लिने चलनले ती शक्तिहरुको चलखेलमा नेपाल परेको उनले आरोप लगाए ।

राजा र राजसंस्थाप्रति सम्मान रहे पनि राजसंस्था पुन:स्थापना अब आफ्नो एजेन्डा नभएको बताएका छन् । पूर्वराजा र उनको सचिवालयको व्यवहारबाट आफ्नो मन चुँडिएको उल्लेख गर्दै उनले ०७७ असारपछि पूर्वराजासँग भेट नभएको बताए । धर्म निरपेक्षताको आडमा लोभलालच देखाई धर्म परिवर्तनको डढेलो देशमा फैलिएको उनको भनाइ थियो ।

प्रत्येक नेपाली नागरिकले नागरिकता पाउनुपर्ने तथा जन्मसिद्धका सन्तानले वंशज आधारमा नागरिकता पाउनुपर्नेमा आफू सहमत रहे पनि वैवाहिक अंगीकृतको हकमा भने केही समय तोक्नुपर्ने थापाको तर्क छ । ‘नागरिकता दैनिक सुविधाको विषय होइन्, अर्को मुलुकबाट विवाह गरेर आएपछि सात वर्ष, पाँच वर्ष, दुई वर्ष केही समय तोकौं, त्यसपछि मात्र नागरिकता दिऔं ।’

प्रकाशित : भाद्र ३०, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?