वन महानिर्देशक सरुवा विवादित !

मन्त्री प्रदीप यादवले सेनेगल जानुअघि वन तथा भू-संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीलाई मन्त्रालयमातहतकै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकमा सरुवा गरेका थिए; वनकर्मी-वन प्राविधिकले त्यसको व्यापक आलोचना गरेका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको वन तथा भू-संरक्षण विभागका महानिर्देशकको सरुवा विवादमा परेको छ । विभागमा महानिर्देशक रहेका राजेन्द्र केसीलाई मन्त्रालयमातहतकै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उप-महानिर्देशकमा सरुवा गरेर मन्त्री यादव सोमबार अति कम विकसित मुलुकहरू (एलडीसी) का मन्त्रीहरूको सम्मेलनमा भाग लिन सेनेगल गएका थिए ।

वन महानिर्देशक सरुवा विवादित !

मन्त्री यादवले केसीलाई हटाएर मन्त्रालयका सहसचिव देवेशमणि त्रिपाठीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । त्रिपाठी सूदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट संघीय वन मन्त्रालय सरुवा भएको दुई साता भएको थियो । उनी गत सातादेखि मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख थिए ।

महानिर्देशक केसीलाई उपमहानिर्देशकमा सरुवा गरिएकामा मन्त्री यादव र सचिव पेमनारायण कँडेलको वनकर्मी, वन प्राविधिक र सरोकारवालाहरुले व्यापक आलोचना गरेका छन् । सामाजिक सञ्जालमा सरुवाको व्यापक विरोध भएपछि महानिर्देशकमा सरुवा गरिएका त्रिपाठीले ‘केसीको उचित व्यवस्थापन नभएसम्म विभागको महानिर्देशकमा हाजिर नहुने’ उल्लेख गरेका छन् ।

‘मेरो सरुवा हुनेबित्तिकै मैले केसीलाई फोन गररे यस सम्बन्धमा मतैक्यता जाहेर गरेर यसलाई तत्काल सुधार गर्न सम्बन्धित ठाउँमा अनुरोध गरेको छु,’ सोमबार सरुवा भए पनि बिहीबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘वन विभागलाई बिथोल्नभन्दा ढुक्कसँग राजीनामा गरेर निस्कने सल्लाहसमेत भएको छ ।’

मन्त्रालय सम्हालेको महिनादिन नपुग्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेललाई हटाएर महेश्वर ढकाललाई नियुक्त गरे पनि मन्त्री यादवले केसीलाई रुचाएरै हटाएका थिएनन् ।

केसीलाई अघिल्ला वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गत चैतमा महानिर्देशक बनाएका थिए । वन मन्त्रालय स्रोतका अनुसार करिब दुई महिनासम्म मन्त्री यादव र केसीबीच तालमेल मिले पनि केही दिनदेखि मन्त्री टाढिएका थिए ।

भनेअनुसारका काम फत्ते गरिरहेकैले केसीलाई मन्त्री यादवलले वन नियमावली २०७९ मा देखिएको काठ मापनसम्बन्धी सूत्र (फर्मुला) संशोधन र झ्याउ संकलन–निकासीसम्बन्धी कार्यदलमा संयोजकको जिम्मेवारी दिएका थिए ।

महानिर्देशक केसी आफूलाई पद (महानिर्देशक) बाट हटाए पनि उपमहानिर्देशक पदमा भने हाजिर नहुने अडान लिँदै बिहीबारसम्म विभागमै हाजिर भइरहेका छन् । ‘बरु जागिर छाडौंला; कानुनी उपचार खोजौंला तर उपमहानिर्देशकमा हाजिर हुन जान्नँ,’ केसीले कान्तिपुरसित भने, ‘अन्याय सहेर बसिन्न ।’ एकाएक मन्त्रीले महानिर्देशकबाट केसीलाई हटाएर उपमहानिर्देशकमा सरुवा गर्नुको पछाडि ‘स्वार्थ समूह’ को खेल भएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘यसमा मन्त्री-सचिव दुवैको स्वार्थ मिलेको छ ।’

मन्त्री यादवले प्रशिक्षण केन्द्रमा उपमहानिर्देशक रहेका धीरेन्द्र प्रधानलाई मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुखमा सरुवा गरेर त्यही ठाउँमा केसीको सरुवा गरेका थिए, जबकी प्रधानभन्दा केसी वरिष्ठ सहसचिव हुन् ।

सरुवाबारे मन्त्री यादवले कुनै प्रतिक्रिया दिएनन् । महानिर्देशकलाई उपमहानिर्देशकमा सरुवा गर्दासमेत सचिवले रोक्न नसकेकोमा उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । यसबारे कँडेलकोसमेत कुनै प्रतिक्रिया आएको छैन । मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले भने चिकित्सककहाँ भएकाले बोल्न नसक्ने बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?