कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टिकट खोज्दै नेताको घरदैलो

कुलचन्द्र न्यौपाने

काठमाडौँ — महाराजगञ्जस्थित शशांक कोइराला निवासमा बुधबार बिहान खचाखच कार्यकर्ता थिए । त्यही माझबाट एक वृद्धको अलि चर्को आवाज आयो, ‘अहिलेसम्म हामीले तपाईंहरूलाई नेता मान्दै आयौं, अब पनि हाम्रो पालो आएन भने तपाईंलाई किन नेता मान्ने ?’ यसरी प्रश्न गर्ने चितवनका ७० वर्षीय डोलनाथ रेग्मी थिए । उनले गिरिजाप्रसाद कोइरालाले बाटामा देख्दा गाडी रोकेर हालखबर सोध्ने गरेको तर अहिलेका नेताहरूले त्यति पनि नगरेको गुनासो समेत सुनाए ।

टिकट खोज्दै नेताको घरदैलो

राजनीतिक दलहरूले असोज २ र ३ मा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको प्रारम्भिक सूची बुझाउने निर्वाचन कार्यतालिका छ । पार्टीले समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार छान्ने समय नजिकिएका बेला शीर्ष नेताहरूको निवासमा आकांक्षीको भीड बढ्दै गएको छ । उनीहरूमध्ये अधिकांशले टिकटका लागि अनुनय गर्छन् भने कोही भने रेग्मीले जसरी धम्क्याउन पनि पछि पर्दैनन् । प्रत्यक्षतर्फ गठबन्धनमा सिट बाँडफाँट गर्नुपर्ने भएकाले कतिपय नेताले आफ्नो क्षेत्र अरू दललाई नछाड्न पार्टी नेतृत्वसँग लबिइङ गरिरहेका छन् ।

गठबन्धन दलबीच प्रत्यक्ष तर्फको सिट बाँडफाँटको गृहकार्य रोकेर कांग्रेस नेताहरू बुधबारदेखि समानुपातिक उम्मेदवार छनोटमा जुटेका छन् । कांग्रेसमा प्रतिनिधिसभा र प्रदेश सभाका लागि गरी २ हजारभन्दा बढी आकांक्षी तल्लो तहबाट सिफारिस भएर आएका छन् । सिफारिस नाममध्येबाट प्रतिनिधिसभामा १ सय १० र सातवटा प्रदेश सभा सदस्यका लागि २ सय २० जना छनोट गर्नुपर्नेछ । आकांक्षीको दबाबका कारण समानुपातिककै उम्मेदवार छान्न पनि पार्टी नेतृत्वलाई चुनौती बनेको कांग्रेसका एक नेताले बताए ।

‘बिहान ५ बजेदेखि नै निवासमा कार्यकर्ताको भिड लाग्छ । टिकट नपाए विद्रोही भएर देखाइदिन्छौं भन्छन् । यसले समानुपातिकमा होइन, प्रत्यक्षतर्फको सिट बाँडफाँटमा समेत ठूलो दबाब परेको छ,’ उनले भने, ‘टिकट नपाए पार्टी नै छाड्ने धम्की पनि आइरहेको छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समानुपातिक उम्मेदवार छनोट गर्नुपर्ने भएकाले केही दिन गठबन्धनका पाँचै दल आन्तरिक छलफलमा केन्द्रित हुने बताए । समानुपातिक उम्मेदवारको सूची बुझाएपछि मात्रै गठबन्धनको बैठक बस्न सक्ने उनको भनाइ छ । प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाएकालाई समानुपातिकमा समावेश गर्न गठबन्धनले पहिले नै सिट बाँडफाँटको टुंगो लगाउन चाहेको थियो । तर सिट संख्या टुंग्याउनै समय लाग्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर समानुपातिक सूचीमा नाम सच्याउन पाउने सुविधा मिलाउन आग्रह गरेका थिए ।

स्रोतका अनुसार आयोगका पदाधिकारीहरूले नाम सच्याउन पाउने सुविधा दिन सकिने बताएपछि गठबन्धन दल प्रत्यक्षतर्फको सिट बाँडफाँट रोकेर समानुपातिक उम्मेदवार छनोट गर्न जुटेका हुन् ।

बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समानुपातिक उम्मेदवार छनोटको मापदण्डसमेत तय गरेको छ, जसमा बहालवाला समानुपातिक सांसदलाई यसै कार्यकालमा दोर्‍याउन नपाउने; गत स्थानीय तहको चुनावमा उम्मेदवार भएकाले समावेश नगर्ने; क्षेत्रगत सन्तुलन मिलाएर योग्य; लोकप्रियलाई अवसर दिने मापदण्डमा उल्लेख गरिएको छ ।

विगतदेखि नै यस्तो मापदण्ड बनाउने गरिए पनि अन्तिममा नेताहरूले आर्थिक प्रभावका आधारमा व्यापारी, ठेकदार, उद्योगीलाई समानुपातिकमा सांसद बनाउने गरेको भन्दै यसपटक कार्यकर्ताहरूले अहिल्यै देखि असन्तुष्टि पोखेका छन् ।

नेताहरूलाई दबाब दिन बुधबार नै दलित नेता तथा कार्यकर्ताहरूको छुट्टै भेलासमेत बसेको थियो । सांसद प्रकाश स्नेहीका अनुसार समानुपातिकमा दोहोरिन नपाउने भएपछि आफूहरूले चुनाव लड्न पाउनुपर्ने बताए । ‘दलितहरू पनि चुनाव लडेर आउन सक्छन्; समानुपातिक नै चाहिन्छ भन्ने छैन । तर‚ नेताहरूले हाम्रो चुनाव क्षेत्र र जिल्लामा गठबन्धन दललाई सिट छुट्ट्याउन खोजेका छन्‚’ उनले भने, ‘नेपालभरका जुनसुकै निर्वाचन क्षेत्रमा भए पनि हामीले चुनाव लड्न पाउनुपर्छ । दलित उम्मेदवार हुने क्षेत्र नै अर्को पार्टीलाई दिने सुनियोजित षडयन्त्र भइरहेको छ, यो सहन सकिन्न; दलितहरू भोट हाल्नका लागि प्रयोग गर्ने जात मात्रै होइन ।’

कांग्रेसका देशभरबाट ५ हजारभन्दा बढी नेता तथा कार्यकर्ता राजधानीमा आएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी मात्रै नभएर उनीहरूसँग ठूलो संख्यामा कार्यकर्ताहरू राजधानी आएका छन् । ‘बिहानदेखि दिनभर नेताको निवासमा जाने, आफू पर्नका लागि दबाब र लबिङ गर्ने काम चलिरहेको छ । पार्टीमा यति वर्षदेखि संघर्ष गरिरहेको छु, यसपटक पनि पाईन भने विद्रोह गर्छु, पार्टीमा बस्दिन जस्ता चेतावनी नेता तथा कार्यकर्ताहरुबाट चर्को रुपमा आएको छ । यसले नेताहरुलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो दबाब परेको छ‚’ उनले भने, ‘नेताहरु भने भिडले प्रभावित भएको जस्तो लाग्दैन ।’ पार्टीका नेता तथा कार्यकर्ताहरुको जस्तोसुकै दबाब आए पनि नेताहरुको मनस्थिति गठबन्धन गरेरै जानेमा केन्द्रित रहेको उनले बताए ।

कांग्रेसका एक पदाधिकारीले समानुपातिकतर्फ सांसद बनाउँदा नेतृत्वले विगतमा पैसासँग साट्ने गरेकाले पनि पार्टीका सच्चा र दु:ख पाएका कार्यकर्ताहरूले यसपटक फरक ढंगले नेताहरुमाथि दबाब खडा गरेको बताए । ‘समानुपातिकको मर्मविपरीत ठेकदार, व्यापारी, बिचौलिया, घरानियाँ उद्योगीलाई राख्ने काम नेतृत्वले गरेका छन् । अहिले नै हेर्ने हो भने पनि यस्ता अनुहार प्रदेशदेखि केन्द्रसम्म नै प्रशस्त छन्‚’ ती पदाधिकारीले भने, ‘पार्टी नै उनीहरूको कब्जामा जाने हो कि भन्ने चिन्ता कार्यकर्तामा देखिन्छ ।’

०००

पार्टीमा विधि, पद्धति र न्यायिक निर्णय मर्दै गएको भन्दै केही दिनअघि मात्रै कांग्रेस नेतृ रिता खनालले कांग्रेस नै छाडेकी छन् । राजनीतिमा व्यापारी, बिचौलिया, ठेकेदारलाई नेतृत्वले प्राथमिकता दिने र आफूहरूजस्ता कार्यकर्ताहरू जहिल्यै अन्याय सहेर बस्नुपर्ने भएकाले पार्टी छाड्नुपरेको उनको भनाइ थियो ।

‘बीपीको लोकतान्त्रिक संस्कार, विधि,पद्धति र अवसरको समानुपातिक वितरणको सिद्धान्तलाई मन पराएर कांग्रेसमा लागेकी हुँ, तर अहिलेको नेतृत्वले पार्टीमा मात्रै होइन । केन्द्रीय राजनीतिमा विचलन ल्याउन खोजेको देखियो । हामीजस्ता कार्यकर्ताले अवसर नपाउने अवस्था भयो‚’ कान्तिपुरसँग उनले भनिन्, ‘सहिद परिवारले पाएको टिकट खोसेर व्यापारीलाई दिने; पार्टीका दु:ख पाएका कार्यकर्तालाई केन्द्रीय सदस्य बन्न विधानको दश वर्षको बन्धन लगाउने तर ठूलो घरानियाँ व्यापारीलाई पाँच वर्षमै केन्द्रीय सदस्य बनाउनेजस्ता विकृति मौलाएकाले पृथक् बाटो रोज्न बाध्य भएकी हुँ ।’ उनी कांग्रेस छाडेर बीपी कांग्रेसमा प्रवेश गरेकी छन् ।

समानुपातिक र प्रत्यक्षतर्फ नै उम्मेदवार नबनाउने संकेत पाएपछि धनुषाका सन्तोष यादव एमालेमा प्रवेश गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा उनी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका थिए । थोरै मतले चुनाव हारे । अब प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेदवार बनाउने छाँट नदेखेपछि राजनीति सुरक्षाका लागि एमाले प्रवेश गरेको उनले बताएका छन् ।

उनीजस्तै बागलुङकै नेतृ मञ्जु शर्मा पनि कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी छन् । स्थानीय तहको निर्वाचनमै चुनावी तालमेलको नाममा आफूमाथि अन्याय भएको भन्दै उनले बाग्लुङको गलकोट नगरपालिकाको मेयरमा विद्रोही भएर उम्मेदवारी दिएकी थिइन् । चुनाव हारेपछि उनी एमाले गएकी छन् । अहिले एमालेका तर्फबाट संघीय संसदको उम्मेदवारको सिफारिसमा समेत परेकी छिन् ।

प्रकाशित : भाद्र ३०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?