२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

किन ब्युँतायो सेनाले आठ पृतनाको संरचना ?

तीन जोड एक अवधारणालाई कायमै राखी विभिन्न व्यावहारिक र प्राविधिक कठिनाइ हटाउन पृतना ब्युँताइएको हो । - सैनिक प्रवक्ता नारायण सिलवाल 
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले एक वर्ष अघि मात्र सुरुआत गरेको तीन जोड एक अर्थात् थ्री प्लस वान अवधारणाको संरचनालाई कायम नै राखेर पुरानो पृतना संरचनालाई ब्युँताएको छ । तीन जोड एकको नयाँ अवधारणाअनुसार सेनामा पूर्व कमान्ड, पश्चिम कमान्ड, मध्य कमान्ड र उपत्यका कमान्ड थियो । 

किन ब्युँतायो सेनाले आठ पृतनाको संरचना ?

पूर्व कमान्ड, पश्चिम कमान्ड र मध्य कमान्ड कोसी, गण्डकी र कर्णाली नदीको बहावको आधारमा राखिएको थियो भने उपत्यका कमान्ड केन्द्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर राखिएको थियो । कमान्डअन्तर्गत बाहिनी हुन्थे र त्यस अघि रहँदै आएको आठ पृतनालाई हटाइएको थियो ।

यही भदौ २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार फेरि तीन जोड एक अवधारणामै रहेर पृतनाहरुलाई ब्युँताउने निर्णय भएको छ । नेपाली सेनालाई नयाँ संरचनाअनुसार काम गर्न कठिनाइ भएको भन्दै आम निर्वाचनअघि नै आठ वटा पृतनालाई फेरि फर्काइएको सेनाले जनाएको छ ।

सेनाको कमान्ड संरचना कति प्रभावकारी ?

अब पुरानै संरचनाअनुसार सेनामा पूर्वी, मध्यपूर्वी, मध्य, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतना हुनेछन् । देश संघीय संरचनामा गएपछि प्रदेशलाई मध्यनजर गर्दै सेनाले पृतना संख्या बढाएको थियो । ७ प्रदेश र उपत्यका गरी सेनामा ८ वटा पृतना कायम गरिएको थियो । तर २०७८ असार २४ मन्त्रिपरिषद्ले सबै पृतनालाई हटाएर कमान्ड संरचनामा लगेको थियो ।

सैनिक प्रवक्ता नारायण सिलवालले तीन जोड एक अवधारणालाई कायमै राखी विभिन्न व्यावहारिक र प्राविधिक कठिनाइ हटाउनका लागि पृतना ब्युँताइएको बताए । उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । ‘कमान्ड अवधारणा रहन्छ । त्यस विषयमा थप गृहकार्य गर्न बाँकी नै छ । अहिले निर्वाचनअघि सात वटै प्रदेशमा पुरानै हिसाबमा पृतना हुन्छ । त्यसले यही साताबाट काम गर्न थाल्छ । पृतनापतिहरू यसै साताभित्रमा काम गर्न जान्छन्,’ उनले भने,‘कमान्ड अवधारणा रहन्छ, तर त्यसलाई के गर्ने भन्ने विषयमा गृहकार्य हुँदैछ ।’

कमान्ड संरचनालाई अघि बढाउने काम अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका थिए । तर त्यसबाट व्यावहारिक रूपमा काम गर्न गाह्रो भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माले पृतनाहरूलाई पनि ब्युँताएर अघि बढ्ने गृहकार्य गरेका हुन् ।

कमान्डको नेतृत्व गरिरहेका उपरथीले नै पृतनाको नेतृत्व गर्छन् । सेनाले कमान्ड ठूला वा पृतना भन्ने विषयमा निर्णय गर्न अझै बाँकी छ ।

नेपालमा २०७२ सालमा संविधान जारी हुनुअघि सेनामा ५ विकास क्षेत्र र उपत्यका गरी ६ पृतना थिए । संविधान जारी भएपछि हरेक प्रदेशमा एक पृतना राख्ने निर्णय अनुसार ७ पृतना र एक उपत्यका पृतना कायम भएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ३०, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?