३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१२ कक्षासम्म निःशुल्क कहींकतै

अनिश तिवारी

सिन्धुपाल्चोक — शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई प्रभावकारी बनाउन बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको छ । नगरक्षेत्रका सामुदायिक विद्यालयभर दिवा खाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालगायतमा लाग्ने अतिरिक्त खर्च बेहार्ने नगरले घोषणा गरेको हो ।

१२ कक्षासम्म निःशुल्क कहींकतै

बाह्रबिसे नगर शिक्षा शाखाका प्रमुख विनोद कार्कीका अनुसार संविधानमा उल्लिखित शिक्षासम्बन्धी व्यवस्था नगरले यो वर्षदेखि पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । जसका लागि दुई करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ । नगर शिक्षा समितिको बैठकमा प्रधानाध्यापक, अभिभावक र सरोकारवाला पक्षसँग अन्तक्रिया गरी बजेट विनियोजनपछि उक्त निर्णय गरिएको हो ।

नगरभित्र ५४ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयलाई परिपत्र गरी दिवा खाजा र निःशुल्क शिक्षासम्बन्धी निर्णय कार्यान्वयन गर्न भनिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए । ‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका ६ हजार ७ सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन । कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत कुनै शुल्क लिए आवश्यक कारबाही गरिनेछ,’ उनले भने ।

यसअघि सरकारले कक्षा ६ सम्म दिवा खाजा निःशुल्क प्रदान गर्दै आएको थियो । बाह्रबिसे नगर कार्यपालिकाको बैठकले अब कक्षा ८ कक्षासम्मै दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको हो । माध्यमिक र आधारभत विद्यालयलाई आवश्यक सम्पूर्ण शैक्षिक र स्टेसनरी सामग्री पनि नगरले नै उपलब्ध गराउने उनले स्पष्ट पारे ।

नगरको परिपत्रअनुसार विद्यालयहरूले पनि उक्त निर्णय कार्यान्वयनमा लगिसकेको जनाएका छन् । बाह्रबिसे–८ मानेश्वारा घुडेस्थित सीताराम आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले नगरको निर्णय महत्त्वपूर्ण भएको र यसलाई लागू गरिएको बताए । ‘दिवा खाजा र निःशुल्क शिक्षाले बालबालिकामा धेरै उत्साह र जाँगर थपिएको पाएका छौं । यसले विद्यालयमा बालबालिका नियमित आउनसमेत थालेका छन्,’ उनले भने । बाह्रबिसे नगरभर आर्थिक अभावकै कारण अध्ययन गर्न नपाएका बालबालिका धेरै छन् । झनै दुर्गम भेगका बालबालिका र अभिभावकको लागि यो निर्णयले उत्साह थपिदिएको उनको भनाइ छ ।

बाह्रबिसे–२ कर्थली गाउँका कक्षा ११ मा अध्ययनरत २२ वर्षे ज्ञानराज थामीले बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारलाई नगरले सम्बोधन गरेको बताए । ‘रकम अभावकै कारण हामीलाई पनि प्राक्टिस बुक, ज्यामिति बक्सजस्ता अनेक सामग्री किन्न समस्या हुनेगर्थ्यो । अब त्यो समय फेरिने भएको छ । नगरले हाम्रो समस्यालाई देखेछ,’ उनले भने ।

प्रकाशित : भाद्र ३०, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?