१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एलडीसी मन्त्रीहरूको सम्मेलनमा भाग लिन वनमन्त्री सेनेगलमा

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन आधा घटाउन विकसित मुलुकहरुलाई दबाब दिनुपर्छ– मेडेलिन डियफ सार, एलडीसी अध्यक्ष
अब्दुल्लाह मियाँ

काठमाडौँ — अति कम विकसित मुलुक (एलडीसी) का वातावरणमन्त्रीहरूको सम्मेलनमा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव अफ्रिकी मुलुक सेनेगल गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७) अघि हरेक वर्ष एलडीसीअन्तर्गतका मुलुकहरूका वातावरण–जलवायु र वनमन्त्रीहरूको सम्मेलन हुन्छ । एलडीसीको नेतृत्व गरेको सेनेगलले उक्त सम्मेलन आयोजना गरेको हो ।

एलडीसी मन्त्रीहरूको सम्मेलनमा भाग लिन वनमन्त्री सेनेगलमा

सेनेगलको वातावरण तथा दिगो विकास मन्त्रालयको जलवायु परिवर्तन महाशाखाकी प्रमुख तथा जलवायु परिवर्तनविज्ञ मेडेलिन डियफ सार ४६ देश सदस्य रहेको एलडीसीकी अध्यक्ष हुन् ।

सम्मेलनमा भाग लिन मन्त्री यादव र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख बुद्धिसागर पौडेल मंगलबार सेनेगलको राजधानी डकार पुगेका हुन् । सम्मेलनलाई मन्त्री यादवले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

पर्वतीय मुद्दाबारे बहस गर्ने उद्देश्यले सरकारले असोज पहिलो साता आयोजना गर्न लागेको ‘मुस्ताङ सम्मेलन’ भन्दा साता अघि एलडीसी मुलुकका मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री र महाशाखा प्रमुख पौडेल डकार पुगेका हुन् । अन्तर्राष्ट्रिय पर्वतीय वर्ष २०२२ का अवसरमा सरकारले पर्वतीय मुद्दा र जलवायु परिवर्तनसँगसम्वन विषयहरूमा चरणबद्ध रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

एलडीसीले जलवायु सम्मेलनमा हुने वार्तामा पर्वतीय र टापु देशका मुद्दालाई बलियो ढंगले उठान गर्ने उद्देश्यले साझा धारणा तय गर्न त्यसअघि नै सदस्यहरूलाई भेला गरेर छलफल गर्ने गरेको छ । कोप–२७ कात्तिक २० देखि मंसिर २ सम्म इजिप्टको शाम–एल–शेखमा हुँदैछ । वन तथा वातावरण मन्त्रालयले कोप २७ मा प्रस्तुत गर्ने मुद्दाबारे गत महिनादेखि नै छलफल सुरु गरेको छ ।

डकार सम्मेलनमा जलवायु परिवर्तनका कारण विकासोन्मुख मुलुकहरुमा सिर्जित समस्या र समस्या सम्बोधनका लागि विकसित मुलुकहरूलाई झक्झक्याउने विषयमा छलफल हुने एलडीसी सचिवालयले जनाएको छ । विगतदेखि नै एलडीसीले विकासोन्मुख मुलुकहरुले सामना गर्नुपरेका जलवायुजन्य हानी नोक्सानी र क्षतिको क्षतिपूर्तिमा विकसित मुलुकहरूले आलटाल गर्न नहुनेमा जोड दिँदै आएका छन् ।

एलडीसीले जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने महत्त्वाकांक्षी योजना समेट्नसमेत दबाब दिदै आएको छ । एलडीसी अध्यक्ष मेडेलिनले विकसित मुलुकहरूलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न र सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन आधा घटाउन दबाब दिनुपर्ने ट्वीटमार्फत् उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘अहिलेकै गतिमा विश्वको तापक्रम १.५ डीग्रीमा सीमित हुने देखिन्न, यो हाम्रा लागि स्वीकार्य नतिजा होइन । त्यसैले हामीले उनीहरुलाई अझै दबाब दिनु आवश्यक छ ।’

सन् २०१५ मा भएको पेरिस सम्झौतामा विश्वव्यापी तापक्रममा हुने वृद्धिलाई पूर्व औधोगिक तहभन्दा माथि १.५ डिग्रीमा राख्ने उल्लेख छ । एलडीसीले तापक्रम वृद्धि १.५ मा सीमित राख्न नसकिए विश्वमा जलवायुजन्य उथलपुथल धान्नै नसकिने भएकाले महत्वकांक्षी निर्णय लिन दबाब दिदै आएको छ ।

नेपालले समेत जलवायुजन्य जोखिम र विपद्का घटनाहरुमा बढोत्तरी भइरहेको बताउँदै हानिनोक्सानी (लस एन्ड ड्यामेज) सम्बोधन गर्न वित्त प्रवाह गर्नेगरी अलग्गै वित्तीय संरचना बनाउने निर्णयमा पुग्न जलवायु वार्ताहरूमा दबाब दिँदै आएको जलवायु परिवर्तन महाशाखा प्रमुख पौडेलले बताए ।

प्रकाशित : भाद्र २९, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?