डेंगुले प्रकोपको रूप लिन सक्ने विज्ञको चेतावनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगुले प्रकोपको रूप लिन सक्ने विज्ञको चेतावनी

काठमाडौं, ललितपुर, भक्तपुरसहित १० जिल्ला उच्च जोखिममा, संक्रमित ११ हजार नाघे, ९ जनाको मृत्यु
जोखिम न्यूनीकरण गर्न जनचेतना नै कम भयो, झाडी फाँड्ने वा पेस्टिसाइड छर्ने उपाय अझै गरिएन । -डा. लुना भट्ट, भाइरोलोजिस्ट
बुनु थारु

काठमाडौँ — स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार साउनयता मंगलबारसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७५ जिल्लामा फैलिइसकेको डेंगुबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । असोज अन्तिमसम्म अझ ठूलो जोखिम रहेको र २०१९ को भन्दा पनि बढी केस देखिन सक्ने उनले बताए । ‘लामखुट्टे नियन्त्रण नभई डेंगु नियन्त्रण हुँदैन । पानी परिरहेकै छ, त्यसैले मौसम नै अहिलेको चुनौती बनेको छ,’ उनले भने, ‘समुदायमा जनचेतना प्रवाह भइरहे पनि धेरै ठाउँमा लापरबाही छ ।’ अहिले डेंगुको अवस्थालाई महामारीभन्दा पनि प्रकोप भन्न मिल्ने उनले बताए ।

डेंगुबाट १० जिल्ला उच्च जोखिममा परेका छन् । राजधानी काठमाडौं, ललितपुर, भक्तपुरसहितका जिल्लालाई ईडीसीडीले उच्च जोखिममा राखेको हो । ललितपुरमा ३ हजार ७ सय ९३, काठमाडौंमा २ हजार ५ सय ६९, मकवानपुरमा १ हजार १ सय १२, रूपन्देहीमा ५ सय ९४, दाङमा ३ सय ७८, भक्तपुरमा २ सय २०, धादिङमा १ सय ४०, तेह्रथुममा १ सय १२, काभ्रेपलाञ्चोकमा १ सय २९ र चितवनमा १ सय ७९ वटा केस पुष्टि भएका हुन् ।

तथ्यांकअनुसार यी १० जिल्लामा मात्र ९ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ३ सय ४७, मधेसमा १ सय ९८, वाग्मतीमा ८ हजार ३ सय ९०, गण्डकीमा २ सय २४, लुम्बिनीमा १ हजार ४ सय २१, कर्णालीमा १ सय ६२ र सुदूरपश्चिममा ३ सय २३ वटा केस रहेका छन् ।

भाइरोलोजिस्ट डा. लुना भट्ट संक्रमण न्यूनीकरण गर्न जनचेतना नै कम पुगेको बताउँछिन् । लामखुट्टे मार्ने प्रभावकारी उपाय नै लागू गरिएको उनको भनाइ छ । ‘झाडी फाँड्ने वा पेस्टिसाइड छर्ने, घरवरिपरि सुक्खा राख्ने उपाय अझै गरिएको छैन, यसले जोखिम बढाइरहेको छ,’ उनले भनिन्, ‘सहरी क्षेत्रमा धेरैले कौसीखेती गर्ने भएकाले त्यहाँ पनि लामखुट्टेको वृद्धि विकास हुन सक्छ ।’ घरको झ्यालढोकामा जाली नभए झन् बढी ख्याल गर्नुपर्ने उनको भनाइ छ । साँझ झ्यालढोका नखोल्न, काम गर्दा पूरा लुगा लगाउन, कुनाकाप्चा राम्ररी सफा गर्न, कवाडहरू हटाउन उनले सुझाव दिइन् । ‘अहिले मौसम गुम्म हुने, पानी पर्ने र घाम पनि लाग्ने भएकाले लामखुट्टेको वृद्धि विकासमा सघाउ पुगेको हो,’ उनले भनिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणमा जोड दिएको दाबी गरे पनि पर्याप्त काम भएको देखिन्न । मन्त्रालयले सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन आग्रह गर्दै सोमबार सूचना नै जारी गरेको थियो । मन्त्रालयले जोखिम न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान अघि बढाएको जनाएको छ ।

मन्त्रालयले शनिबारदेखि बिहान घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे/नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरे पनि यो पर्याप्त देखिँदैन । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी डेंगु रोकथामका लागि तीनवटै सरकारसँग समन्वय भइरहेको बताउँछन् ।

‘अस्पतालको तयारी, समुदायस्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाएका छौं,’ उनले भने । ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले डेंगु नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणको पनि साथ चाहिने बताए । ‘यसमा सबै क्षेत्रको समन्वय जरुरी हुन्छ, मुख्य पाटो जनचेतना नै हो,’ उनले भने, ‘सबै अस्पताललाई अवस्था हेरेर व्यवस्थापन गर्नु भनेर निर्देशन गइसकेको छ । सर्वसाधारण पनि सजग हुनुपर्छ ।’ उनले डेंगु जाँच गर्ने किटको अभाव रहेको दाबी गरे पनि नवलपुर, कञ्चनपुरलगायत जिल्लामा अभाव देखिन थालेको छ ।

विज्ञहरूका अनुसार अझै दुई महिना डेंगुको जोखिम छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगुको उत्कर्ष अझै केही समय रहने बताए । ‘घट्छ भनेर यकिनका साथ भन्न सकिन्न । यो लामखुट्टे दिनमा सक्रिय हुने भएकाले पनि धेरैले ध्यान दिँदैनन् । लामखुट्टेको आनीबानीले पनि चुनौती देखिएको छ ।’

सुरुमै बासस्थान नष्ट गर्नुपर्नेमा त्यो ढिलाइले जोखिम झन् बढेको उनले बताए । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगुका लक्षण हुन् । गम्भीर प्रकृतिको डेंगु भए बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकित्सकहरू सुझाउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार सबैलाई डेंगुको कडा लक्षण देखिँदैन । ‘जटिलताको लक्षण देखिएपछि अस्पताल जानुपर्छ, नभए घरमै साता/१० दिन आराम गर्नुपर्छ,’ उनले भने, ‘डेंगुमा प्लेटलेट्स घटेर जानु सामान्य हो, पछि आफैं बढेर आउने भएकाले आत्तिनुपर्दैन ।

लक्षण देखिए सिटामोल र झोलिलो खानेकुरा लिएर आराम गर्नुपर्छ ।’ घर वरिपरि पानी जम्न नदिन, झुल टाँगेर सुत्न, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कन र निस्कनै परे लामा बाहुला भएका लुगा लगाउन उनले सुझाव दिए । लामखुट्टे भगाउने क्रिम लगाएर वा घरमा जालीढोका लगाएर पनि जोखिम घटाउन सकिने उनले बताए ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रूप लिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, झन्डै १० हजारलाई संक्रमण

बुनु थारु

काठमाडौँ — डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आइतबारसम्मको तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ । 

हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।

आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृत्यु हनेमा ४ जना डेंगुकै जटिलताले मृत्यु भएको हो भने ३ जनामा भने डेंगुसँगै अरु रोगको पनि जटिलता थियो ।

डेंगु महामारी उत्कर्षतिर : दुखाइ, दुखाइ अनि दुखाइ !

भाइरोलोजिस्ट डा. लुना भट्ट मानिसमा जनचेतनाकै कमीले डेंगु फैलिइरहेको बताउँछिन् । लामखुट्टे मार्ने प्रभावाकारी उपाय नै अपनाइएको उनको भनाइ छ । उनी भन्छिन्,‘झाडीहरू फाँड्ने हो वा पेस्टिाइड छर्ने, मानिसहरूलाई जनचेतना गराउने, घरवरपर सुख्खा राख्ने उपाय अझै गरिएको छैन । यसले जोखिम बढाइरहेको छ ।’

सहरी क्षेत्रमा धेरैले कौसीखेती गर्ने भएकाले लामखुट्टे बढ्ने डा. भट्ट बताउँछिन् । ‘कौसी खेती नराम्रो भन्न खोजेको होइन । बोटबिरुवा हुने ठाउँमा लामखुट्टेलाई लुक्न सजिलो हुन्छ । घरको झ्याल तथा ढोकामा जाली छैन भने ढोका खोल्दा साँझपख लामखुट्टे छिर्छ । यही लामखुट्टे कोठाको कुनातिर बस्छ र टोक्छ । जाली नभएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।

साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने, नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

डेंगु नियन्त्रणमा निरन्तर लागिपरेका छौँ : ईडीसीडी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै डेंगुबाट बच्न कर्मचारीलाई पूरा बाहुला भएको पोसाक लगाउन अनुरोध गरेको छ । मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ ।

मन्त्रालयले यही शनिबारदेखि बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे/नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डेंगु रोकथामकालागि तीनवटै तहसँगै समन्वय गरेर अघि बढिरहेको बताए । उनले भने, ‘तीनै तहकसरकारसँग समन्वय गरेर अस्पतालको तयारी, समुदाय स्तरमा खोज र नष्टको अभियान तीव्र गतिमा अगाडि बढाइएको छ । ’

ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले डेंगु नियन्त्रण तथा रोकथाममा निरन्तर लागिपरेको दाबी गरे । उनी भन्छन्, ‘सरकारको ढिलासुस्ती भएको छैन । हामी निरन्तर लागेका नै छौँ । यो सबै क्षेत्रको समन्वयको काम हो । सर्वसाधारणदेखि लिएर सबैको सहकार्य आवश्यक छ । मुख्य पाटो भनेको जनचेतना, लार्भा खोज र नष्ट अभियानमा स्थानीय निकाय खटिएका छन् । सबै अस्पताललाई पनि अवस्था हेरेर व्यवस्थापन गर्नु भनेर निर्देशन गइसकेको छ । सर्वसाधारण पनि सजग हुनुपर्छ । डेंगु जाँच गर्ने किटहरु अभाव छैन ।’ उनले मंगलबारदेखि नै समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सेरोटाइपको अध्ययनका लागि नमुना संकलन गरिने बताए ।

विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगुको उत्कर्ष अझै केही समय रहने बताए । उनका अनुसार घरका सबै सदस्य नै डेंगु पुष्टि भइरहेका छन् ।

‘उत्कर्षतिर पुगेको छ डेंगु । उत्कर्षमा स्थिर रहन्छ होला । अझै घट्छ भनेर यकिनका साथ भन्न सकिन्न । लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानमा सिरियस्ली लागेको देखिन्न । यो लामखुट्टे दिनमा सक्रिय हुने भएकाले पनि धेरैले ध्यान दिँदैन । लामखुट्टेको आनीबिनीले पनि चुनौती देखिएको छ । सुरुमै बासस्थान नष्ट गर्नुपर्ने थियो,’ उनले भने ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकिसकहरू सुझाउँछन् ।विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २८, २०७९ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×