१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बिरामी पर्न थाले मिटरब्याजपीडित

प्रहरीले गर्‍यो फेरि धरपकड, माइतीघरबाट पक्राउ परेका ३०  जनालाई साँझ छाडियो
लिला श्रेष्ठ

काठमाडौँ — न्यायका लागि करिब डेढ महिनादेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरू बिरामी पर्न थालेका छन् । किशोरदेवी चमार र मैना कुहार मंगलबार आन्दोलनमा जान सकेनन् । किशोरदेवी ज्वरोले थलिएकी छन् भने बाथरोगपीडित मैना सोमबारको प्रहरी धरपकडपछि राम्ररी हिँडडुल गर्न सकेकी छैनन् । 

बिरामी पर्न थाले मिटरब्याजपीडित

कीर्तिपुर सल्यानथानस्थित अस्थायी टहरामा ७० जना मिटरब्याजपीडित बस्दै आएका छन् । चिसो भुइँमा पातलो म्याट्रेस बिछ्याएर रात काट्नुपर्दा झनै सकस भएको उनीहरूको भनाइ छ । न्यायका लागि प्रत्येक घरबाट एक–एक जना पीडित आन्दोलनमा सहभागी हुन आएको संघर्ष समितिले जनाएको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–५ श्रीरामपुरकी ६० वर्षीया किशोरदेवीले १० वर्षअघि छोरालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाउन स्थानीय जगदीश बानियाँसँग १ लाख ८० हजार रुपैयाँ ऋण लिएकी थिइन् । बानियाँले ४ लाख रुपैयाँको तमसुक बनाए । ‘छोरालाई विदेश पठाउनु थियो, बैंकले पत्याएन । बाध्य भएर तमसुकमा सहीछाप गरी ऋण लिएँ,’ उनले भनिन् । उनले एक वर्षमै ५ लाख ६० हजार बुझाइन् तर साहु बानियाँले तमसुकको आडमा किशोरदेवीको परिवारलाई ताकेता गरिरहे । ‘१५ कट्ठा जग्गा दृष्टिबन्धक गरिदिएको छ, अझै १० लाख रुपैयाँ मागेको छ,’ उनले भनिन्, ‘माग गरेजति रकम नदिए जग्गा लिलाम गरिदिने धम्की दिइरहेको छ । जग्गाको कागज पनि ऊसँगै छ ।’

मिटरब्याजीकै प्रताडनामा किशोरदेवीका पति सत्यनारायणको मृत्यु भयो । १ लाख ८० हजार ऋण लिएर मलेसिया गएका छोरा शम्भु पाँच वर्षपछि फर्किए तर विदेश जाँदा लिएको ऋणको पीडा भोगिरहेका छन् । किशोरदेवी एक वर्षदेखि न्यायको माग गर्दै आन्दोलनमा छिन् । स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सम्पत्ति शुद्धीकरण आयोग, मानव अधिकार आयोगसम्म पुगेकी माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा सहभागी छिन् । झन्डै २० दिन गौशाला र ४४ दिनदेखि कीर्तिपुरमा बसिरहेको उनले सुनाइन् । ‘बिरामी भइसक्यो, मागेर साँझ, बिहानको छाक टारिरहेका छौं,’ उनले भनिन्, ‘न्याय नपाउन्जेल फर्किंदैनौं ।’

नवलपरासी पश्चिम रामग्राम नगरपालिका–६ की ४६ वर्षीया मैना कुहारले छोरीको विवाहका लागि ३ वर्षअघि १ लाख रुपैयाँ ऋण लिइन् । स्थानीय तिरबहादुर सुनारले २ लाख रुपैयाँको तमसुक बनाएर ऋण दिए । ३ लाख बुझाइसक्दा पनि अझै ५ लाख रुपैयाँ मागिरहेको उनले बताइन् । सोमबार कीर्तिपुरमा प्रहरी धरपकडपछि बाथरोगपीडित उनी हिँडडुल गर्न सकिरहेकी छैनन् ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका पीडितलाई निषेध गर्न खोज्दा सोमबार प्रहरीले कीर्तिपुरमै लाठीचार्ज गरेको थियो । संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर, कौशिलादेवी केवट र दिवस गौतम पनि घाइते भए । मंगलबार पनि सोही कारण देखाउँदै अस्थायी टहरामै प्रहरीले पीडितलाई रोक्न खोजे । तर, पीडित माइतीघरसम्मै आएर धर्ना दिन लागेपछि प्रहरीले धरपकड गरेको संघर्ष समितिका व्यवस्थापक सुर्जन तिवारीले बताए । ‘प्रशासनको अनेकौं षड्यन्त्र तोड्दै माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बसेका साथीहरूमाथि राज्यले बर्बर दमन गरेको छ,’ उनले भने । माइतीघर मण्डलबाट निर्ग नवीन, अंकित खनाल, फूलमती, ललित रावल, सन्देश गिरी, अनिता पण्डित, अवधेश कुशवाहलगायत ३० जनालाई नियन्त्रणमा लिई साँझ छाडेको संघर्ष समितिले जनाएको छ ।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि साउन २७ मा नै गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरी कारबाही प्रक्रिया थालेको छ । ‘सरकारले हाम्रो माग सम्बोधन गर्न कार्यदल बनाए पनि हाम्रो प्रतिनिधि नहुनु मान्य छैन, हामीलाई पनि त्यसको अनुसन्धान प्रक्रियामा सहभागी गराइनुपर्छ,’ संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले भने ।

देशभरका मिटरब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको समस्या समाधानका सम्बन्धित क्षेत्रका विज्ञहरूको समेत प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने पीडितको माग छ । जमिनको दृष्टिबन्धक खोली अनधिकृत तमसुक च्यात्नुपर्ने, दृष्टिबन्धक भन्दै झुक्याएर नामसारी (छिनुवा पास) गरिएका जग्गा फिर्ता गर्नुपर्ने, कानुनविपरीत अनुचित ब्याज लिनेको ऋण तिर्न नपर्ने घोषणा राज्यले गर्नुपर्ने, सम्पूर्ण सुदखोर परिवारको सम्पत्ति जाँच गर्नुपर्नेलगायत मागसहित उनीहरू डेढ महिनायता आन्दोलनरत छन् ।

प्रकाशित : भाद्र २९, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?